
बैंकिङ खबर/ माछापुच्छ्रे बैंक कर्मचारी युनियनको तेस्रो केन्द्रीय महाधिवेशनबाट वंशीधर घिमिरे अध्यक्षमा चुनिएका छन्। सर्वसम्मत रुपले शनिबार शुरु भएर आइतबार सम्पन्न कर्मचारी युनियनको महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा गणेशराज जोशी, उपाध्यक्षमा विनोदनिधि तिवारी र दीपक श्रेष्ठ तथा महिला उपाध्यक्षमा संगीता कुँवर चयन भएका छन्।
देशभरका १५ सयजना कर्मचारी सहभागी अधिवेशनले महासचिवमा तलाश श्रेष्ठ तथा सचिवमा सञ्जय रानामगर, प्रेमबहादुर भण्डारी र विनय खड्कालाई चुनेको छ। यस्तै, कोषाध्यक्षमा हीरा केसी, सहकोषाध्यक्षमा मञ्जु सापकोटा चयन भएका छन्।
कार्यसमितिको सदस्यहरुमा करुण गौतम, किशोर पन्त, धनराज श्रेष्ठ, लोकबहादुर बस्नेत, महेश कार्की, प्रकाश भण्डारी र उपेन्द्र कार्की चयन भएका युनियनका संस्थापक अध्यक्ष विकास श्रेष्ठले जानकारी दिए। उनका अनुसार महाधिवेशनले कोशी संयोजकमा रितिका तुलाधर, मधेश संयोजकमा मणिकलाल महतो, बागमती संयोजकमा रोशन पाठक, गण्डकी संयोजकमा सलिना श्रेष्ठ, लुम्बिनी संयोजकमा मानबहादुर गुरुङ, कर्णाली संयोजकमा कर्णबहादुर सिंह रसुदूरपश्चिम संयोजकको जिम्मेवारी जय पाठकलाई सुम्पेको छ।
माछापुच्छ्रे बैंकका कर्मचारीहरुले विकास श्रेष्ठको नेतृत्वमा ८ वर्षअघि कर्मचारी युनियन गठन गरेका थिए। वित्तीय क्षेत्रमा कर्मचारी युनियन गठन गर्दा अध्यक्ष विकासले झण्डै जागिरबाटै हात धुनुपरेको अवस्था थियो।
तर, तेस्रो महाधिवेशनसम्म आइपुग्दा बैंकका अध्यक्ष रोशन केसीसहित बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला, संचालक समितिका सदस्य, व्यवस्थापनको उच्च नेतृत्व एउटै मञ्चमा रहेको थियो। उद्घाटन सत्रमा बोल्ने बैंक संचालक, व्यवस्थापन समूह तथा कर्मचारीहरुले पछिल्लो समय बैंकिङ क्षेत्रमाथि भएको आक्रमणको डटेर सामना गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि तथा प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले २०४८ सालमा उदार अर्थतन्त्रको जगमा टेकेर स्थापित माछापुच्छ्रे बैंकसँग आफ्नो आत्मिय सम्बन्ध भएकोमात्र बताएनन्, वित्तीय स्थिरता र रोजगारी सिर्जनामा बैंकले दिएको योगदानको प्रशंसा पनि गरे।
वित्तीय अनुशासन कायम गराउन देशका दूरदराजसम्म बैंकहरु पुग्नुपर्ने बताउँदै उनले पछिल्लो समय ब्याजदर घट्दा र तरलता बढ्दा पनि किन पैसा बजारसम्म पुगेन अनि लगानी बढेन भन्नेबारे सरकारले ध्यान दिनुपर्ने बताए।
बैंक तथा वित्तीय संस्थाका व्यक्तिहरुले पनि गलत गरे अनुसन्धान हुनुपर्ने तर उनीहरुलाई राज्यले नै तर्साउने तथा मानमर्दन गर्न नहुने उनको धारणा थियो। बैंकका अध्यक्ष रोशन केसीले पोखरामा स्थापना भइ हाल ११ अर्ब ६२ करोड रुपैयाँ चुक्ता पूँजीको साथ देशैभर १६५ शाखा कार्यालय, ११९ शाखारहित बैंकिङ इकाइहरु, १२ एक्स्टेन्सन काउन्टरहरू र २०१ एटीएमसहित देशकै अग्रणी बैंकको रुपमा स्थापित हुनुमा १६ सय कर्मचारीको योगदान रहेको भन्दै कर्मचारीको मुक्तकष्ठले प्रशंसा गरे। उनले जुनियर कर्मचारीहरुको उन्ननयमा र्बैंकले ध्यान दिने बताउँदै आउँदा दिनका सिइओको क्षमता वृद्धिमा कुनै कसर बाँकी नराखिने पनि बताए।
पछिल्लो समय बैंकिङ क्षेत्रमा देखिएको समस्या समाधानको लागि सामूहिक प्रयासको खाँचो रहेको उनको भनाइ थियो। बैंकका सिईओ सन्तोष कोइरालाले बैंक तथा वित्तीय संस्थामाथि भएको सुनियोजित आक्रमणले कसैको भलो नगर्ने बताए। कर्मचारीहरुको सुरक्षा र उन्नयनमा बैंक व्यवस्थापन सदैव लागिरहने उनको भनाइ थियो।
नेपाल राष्ट्र बैंक पोखराकी निर्देशक आर्या जोशीले पछिल्लो समयका आर्थिक सूचाङ्कहरु सकारात्मक भएको बताउँदै नियमनकारी निकायहरुको निर्देशनलाई अक्षरशः पालना गर्न बैंकहरुलाई आग्रह गरिन्।
बैंक तथा वित्तीय संस्थाहरुको कर्मचारी युनियनको छाता संगठन (फिओन) का वरिष्ठ उपाध्यक्ष परशुराम खनालले पछिल्लो समय श्रृंखलावद्ध रुपले बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि भएको आक्रमणको निन्दा गरे।
गण्डकी नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्ण देवकोटाले निजी क्षेत्रसँग मिलेर काम गर्न प्रदेश सरकार तयार भएको बताए।
बैंकका सहायक महाप्रबन्धक सुवास जमरकट्टेलले बैंक तथा वित्तीय संस्थाको सुरक्षाबारे सरकार गम्भीर बन्नुपर्ने धारणा राखे। फिओनका केन्द्रीय उपाध्यक्ष तथा नेपाल इन्भेष्टमेण्ट मेघा बैंक कर्मचारी युनियनका अध्यक्ष शिवहरि भण्डारीले बैंकका कर्मचारीमाथि आक्रमण भइरहे देशैभरका बैंक ठप्प पार्ने चेतावनी दिए।
नेपाल डेमोक्रेटिक लयर्स एसोसियसनका अध्यक्ष सीताराम केसीले कानूनभन्दा माथि कोही नहुने बताउँदै कानून हातमा लिएर बैंकका कर्मचारीमाथि आक्रमण गर्नेहरुविरुद्ध राज्य निर्मम बन्नुपर्ने बताए।
नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले बैंक तथा वित्तीय संस्थाहरु अझ बढी समाजप्रति उत्तरदायी हुनुपर्ने सुझाइन्। अध्यक्ष विकास श्रेष्ठले माछापुच्छ्रे बैंकमा युनियन गठन गरी आफूहरुले युनियन कस्तो हुनुपर्छ भन्ने उदाहरण पेश गरेको बताउँदै व्यवस्थापन र कर्मचारीबीचको निरन्तरको संवादले मात्र सस्थाको उन्नति हुने बताए ।




