नेपाल राष्ट्र बैंकले बिहिबार रिपोमार्फत् बैंकिङ प्रणालीमा ५ अर्ब रुपैयाँ पठाउँदैछ । हाल बैंक तथा वित्तीय संस्थालाई नगदको आवश्यकता भएपछि केन्द्रीय बैंकले रिपोमार्फत उनीहरुलाई तरलता प्रदान गर्न लागेको हो । आगामी आसोज २० गते सवाँ तथा व्याज भुक्तानी हुने सो रिपोका लागि बैंक तथा वित्तीय संस्थाहरुले थोरैमा एक करोड र धेरैमा एक करोडले निशेष भाग जाने कुल निष्कासित रकमसम्मका लागि आवेदन दिन सक्नेछन् ।
बिहिबारको रिपोमा व्याजदर बोलकबोलमार्फत निर्धारण गरिने केन्द्रीय बैंकले जनाएको छ । रिपो बोलकबोलमा सहभागी बैंक तथा वित्तीय संस्थाले बोल गरेको रकमको १ सय १० प्रतिशत सरकारी सुरक्षणपत्रहरु बोलकबोल भएको दिन पाँच बजेभित्र केन्द्रीय बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा सम्पर्क गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । २०६८ सालको अन्तिममा रिपोमार्फत बजारमा पैसा उठाएको केन्द्रीय बैंकले ४ वर्षपछि गत साउन अन्तिममा रिपो जारी गरेको थियो । चार वर्षको अवधिमा वित्तीय क्षेत्रमा अधिक तरलताको समस्या देखिएपछि त्यसको व्यवस्थापनका लागि राष्ट्र बैंकले रिभर्स रिपो, ट्रेजरी बिल, निक्षेप खरिद उपकरणलगायतका विभिन्न वित्तीय उपकरणको प्रयोग गर्दै आएको छ ।



