२०७३ भाद्र १९ गते

सिंगापुरबाट एक करोड डलर ल्याइँदै, डलर अभाव पुर्ति हुने

US-dollarनेपाल राष्ट्र बैंकले सिंगापुरबाट झण्डै एक करोड अमेरिकी डलर ल्याउने भएको छ । बैंकिङ प्रणालीमा डलरको चर्को अभाव भएपछि केन्द्रीय बैंकले सिंगापुरबाट डलर ल्याउने तयारी गरेको हो । राष्ट्र बैंकका एक अधिकारीले डलर ल्याउने प्रक्रिया सुरु भईसकेको जानकारी दिएका छन् । खासगरी चीनका व्यापारीले बैंकको साटो सिधै बजारबाट अमेरिकी डलर उठाएको र नेपाल आउने पर्यटकले नगद ल्याउन छाडेपछि बैंकिङ प्रणालीमा डलरको नगद अभाव हुँदै आएको छ । पछिल्लो समय चिनियाँ व्यापारीले नेपाली बजारबाट अमेरिकी डलर उठाएर सडक मार्ग हुँदै चीन पुर्याउने गरेका छन् । विगतमा पनि चिनियाँ व्यापारीले यस्तो काम गर्दै आएका थिए । त्यसो त अवैध रुपबाट आएको सुनको भुक्तानी डलरबाट हुने क्रम ह्वात्तै बढेकाले पनि डलर अभावको समस्या बढेको हो । बैंकिङ प्रणालीमा डलर अभाव भएपछि केही दिनअघि निजी क्षेत्रका चार वाणिज्य बैंकले पनि डलर ल्याउने व्यवस्था गर्न राष्ट्र बैंकसमक्ष अनुरोध गरेका थिए ।

विगतमा राष्ट्र बैंकले विदेश जाने प्रत्येक नेपालीलाई २ हजार ५ सयसम्म अमेरिकी डलर दिने व्यवस्था लागू गरे पनि अहिले नगद अभाव भएपछि राष्ट्र बैंकले ५ सयभन्दा बढी डलर नदिन निर्देशन दिएको छ । राष्ट्र बैंकका उच्च अधिकारीका अनुसार मुख्य रुपमा चिनियाँ व्यापारीले बजारबाट सोझै डलर उठाएर लैजाने, अवैध रुपमा आएको सुनको भुक्तानी डलरमा हुने र विदेशी पर्यटकले नगद ल्याउन छाडेकाले बैंकिङ प्रणालीमा डलर अभाव भएको हो।

एक, दुई, पाँच, दस, बीस, पचास र सय कार दरले डलर ल्याउन लागिएको हो । यसरी डलर नेपाल ल्याएपछि केही समयसम्म व्यवस्थापनको समस्या हल हुने राष्ट्र बैंकको विश्वास छ । राष्ट्र बैंकका एक अधिकारीका अनुसार पहिले नोटका दर, ल्याउने विधिलगायत विषयमा एउटा सम्झौतापत्र बनाउनुपर्ने र सोहीअनुसार सिंगापुरको बैंकसँग सम्झौता गर्नुपर्नेछ । ’कुन दरका नोट कति ल्याउने भन्ने निर्णय नै भईसकेको छैन ।,’ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले भने ‘सम्झौतापत्रको तयारी भईरहेको छ त्यसले डलर ल्याउने माध्यम र तरिकाबारे पनि खुलाउने छ ।’ सम्झौतापत्र तयार भएपछि राष्ट्र बैंकको खाता रहेको सिंगापुरको बैंकसँग सम्झौता गरेपछि मात्र अमेरिकी डलर ल्याउन पाइनेछ ।