June 15th, 2021

सात प्रदेशको कूल बजेट २ खर्ब ६२ अर्ब (पूर्णपाठसहित)

बैंकिङ खबर/सातवटै प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि मंगलबार बजेट पेश गरेका छन् । संविधान असार १ गते बजेट पेश गर्ने व्यवस्था अनुसार सात वटै प्रदेश सरकारले आ–आफ्नो प्रदेशसभामा बजेट पेश गरेका हुन् । सात वटा प्रदेशको कुल बजेट २ खर्ब ६२ अर्ब २१ करोड रुपैयाँ रहेको छ ।

चालू आर्थिक वर्षमा सात प्रदेशले कुल २ खर्ब ६४ अर्ब २० करोडको बजेट सार्वजनिक गरेका थिए। संघीय सरकारले आगामी आर्थिक वर्षका लागि बजेटको आकार बढाएर सार्वजनिक गरेका बेला प्रदेशहरूले भने बजेटको आकार घटाएका हुन्।

प्रदेशहरूमध्ये सबैभन्दा ठूलो आकारको बजेट बागमती प्रदेशको छ। बागमती प्रदेशले रू.५७ अर्ब ७२ करोडको बजेट सार्वजनिक गरेको छ। यो चालू आर्थिक वर्षको बजेटको आकारको तुलनामा करीब ६ अर्ब ठूलो हो। सात प्रदेशमध्ये सबैभन्दा सानो आकारको बजेट गण्डकी प्रदेशले सार्वजनिक गरेको छ। गण्डकीले आगामी आर्थिक वर्षका लागि ३० अर्ब ३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको हो। गण्डकीले चालू आर्थिक वर्षमा ३४ अर्ब ८४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको थियो। 

कुन प्रदेशको कति बजेट ?

प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७८–७९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । प्रदेश १ मा बजेटको यो आकार चालु आर्थिक वर्षको भन्दा ८ अर्ब ४३ करोड ७४ लाख कम हो । आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङबुहाङले चालुतर्फ १४ अर्ब १६ करोड १५ लाख र पूँजीगतर्फ १५ अर्ब ५ करोड ३५ लाख रुपैयाँ विनियोजन गरेको बताए ।

प्रदेश नम्बर १ः ४४ करोड विनियोजन

कुल बजेट– ३२,४६,९२,००,०००

चालु खर्च– १४,१६,१५,००,०००

पूँजीगत खर्च– १५,०५,३५,००,०००

वित्तीय हस्तान्तरण– ३,२२,४२,०००

वित्तीय व्यवस्था– ३,००,००,०००

प्रदेश नम्बर १ ले कोरोना महामारी रोकथाम नियन्त्रण र उपचारका लागि ४४ करोड बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले सबैभन्दा धेरै बजेट भौतिक पूर्वाधार विकासमा १३ अर्ब २१ करोड र शिक्षामा १ अर्ब १९ करोड विनियोजन गरेको छ । कृषि क्षेत्रमा २ अर्ब ९० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रदेश नम्बर २ः ३३ अर्ब ७९ करोड १४ लाख विनियोजन

कुल बजेट– ३३,७९,१४,३०,०००

चालु खर्च– १५,६३,३३,४७,०००

पूँजीगत खर्च– १८,०५,८०,८३,०००

वित्तीय भार व्यवस्था– १०,००,००,०००

प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष ०७८/०७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट घोषणा गरेको छ । चालूखर्च तर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार, पुँजीगत तर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार र वित्तीय व्यवस्थापनतर्फ १० करोेड बजेट विनियोजन गरिएको छ । मंगलबार प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले सो बजेट प्रस्तुत गरेका हुन् । बजेटमा स्वास्थ्य क्षेत्र तर्फ कोभिड नियन्त्रण, रोकथाम तथा उपचारका लागि प्रदेश सरकारले २० करोड बजेट छुट्याएको छ । प्रदेश नम्बर दुई सरकारको बजेटमा पनि कोरोना महामारी नियन्त्रण, सिँचाई र कृषिलाई प्राथमिकतामा राखिएको छ ।

बागमती प्रदेश : ५७ अर्व ७२ करोड ९ लाख विनियोजन

कुल बजेट– ५७,७२,०९,२७,०००

चालु खर्च– २६,०१,६६,२३,०००

पूँजीगत खर्च– २९,७०,४३,०४,०००

वित्तीय व्यवस्था– २,००,००,००,०००

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि कुल ५७ अर्व ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले आगामी आर्थिक वर्षको कुल ५७ अर्व ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बजेट प्रस्तुत गरेका हुन् ।

कोरोना नियन्त्रण तथा रोकथाम र उपचारलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट तयार पारेको जनाएको छ । बागमती प्रदेश सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले २ अर्ब बजेट व्यवस्था गरेको छ ।

गण्डकी प्रदेश: ३० अर्ब ३ करोड ९४ लाख बजेट सार्वजनिक

कुल बजेट– ३०,०३,९४,२७,०००

चालु खर्च– १३,०६,४७,९४,०००

पूँजीगत खर्च– १६,७३,४६,३३,०००

वित्तीय व्यवस्था– २४,००,००,०००

गण्डकी प्रदेश सरकारले आगामी वर्षका लागि ३० अर्ब ३ करोड ९४ लाखको बजेट सार्वजनिक गरेको छ । मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले आव २०७८/०७९ का लागि प्रदेशसभामा प्रस्तुत गरेको बजेटमध्ये चालुतर्फ १३ अर्व ६ करोड ४७ लाख, पुँजीगत तर्फ १६ अर्व ७३ करोड ४६ लाख र वित्तिय व्यवस्थापन तर्फ २४ करोड बजेट विनियोजन गरिएको छ । यो चालु आवभन्दा झण्डै ५ अर्ब कम हो । चालु आवको बजेट ३४ अर्ब ८० करोड रुपैयाँ छ । बजेटमा सरकारले स्वास्थ्य कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ ।

लुम्बिनी प्रदेश: ४० अर्ब ९५ करोड १७ लाख बजेट सार्वजनिक 

कुल बजेट– ४०,९५,९७,००,०००

चालु खर्च– १४,९३,७३,४३,०००

पूँजीगत खर्च– २१,१७,९९,६१,०००

वित्तीय हस्तान्तरण– ४,८४,२३,९६,०००

लुम्बिनी प्रदेश सरकारले आज आर्थिक वर्ष २०७८/०७९ को बजेट ल्याएको छ । प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले ४० अर्ब ९५ करोड १७ लाख बजेट सार्वजनिक गरको छन् । जसमा चालुतर्फ २४ अर्ब ९३ करोड ७३ रहेको छ भने पुँजीगत २१ अव १७ करोड रहेको छ । बजेटमा कोरोना महामारी तथा नियन्त्रणका लागि आवश्यक बजेट छुट्याइएको छ भने कृषि र रोजगारीलाई पनि प्राथमिकतामा राखिएको छ । कोरोना नियन्त्रणका अतिरिक्त कृषि र भौतिक पूर्वाधारलाई बजेटले प्राथमिकतामा राखेको छ ।

कर्णाली प्रदेश: साढे ३६ अर्ब विनियोजन

कुल बजेट– ३६,५४,६६,३६,०००

चालु खर्च– ११,४९,२७,७०,०००

पूँजीगत खर्च– २१,६५,३९,१३,०००

वित्तीय हस्तान्तरण– ३,३९,९९,५३,०००

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि साढे ३६ अर्ब बराबरको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार बराबरको बजेट प्रदेश सभामा प्रस्तुत गरे ।  पुँजीगततर्फ २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार विनियोजन गरिएको छ भने चालुतर्फ ११ अर्ब ४९ करोड २७ लाख ७० हजार छुट्याइएको छ । यसैगरी वित्तीय हस्तान्तरणतर्फ तीन अर्ब ३९ करोड ९९ लाख ५३ हजार विनियोजन गरिएको छ । सरकारले आगामी वर्षका लागि चालु आर्थिक वर्षको भन्दा बढाएर बजेट ल्याएको हो ।

सुदूरपश्चिम प्रदेश: ३० अर्ब ३३ करोड विनियोजन

कुल बजेट– ३०,३३,९४,५५,०००

चालु खर्च– १०,६६,०९,०३,०००

पूँजीगत खर्च– १७,६५,४०,५२,०००

वित्तीय हस्तान्तरण– १,७२,४५,००,०००

वित्तीय व्यवस्था– ३०,००,००,०००

सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले कूल ३० अर्ब ३३ करोड रुपैयाँको बजेट प्रदेशसभामा पेश गरेका छन् । चालु आर्थिक वर्षका लागि ३३ अर्ब ३८ करोड रुपैयाँ बराबरको बजेट विनियोजन भएको थियो ।

प्रदेश सरकारले कोरोनाको उपचार तथा कोभिड खोपलाई बढी प्राथमिकता दिँदै बजेट ल्याएको छ । साथै सडक पूर्वाधार, शिक्षा पूर्वाभार, पर्यटन पूर्वाधार र स्वास्थ्य पूर्वाधारलाई पनि प्राथमिकतामा राखेको छ ।

प्रदेश सरकारले ल्याएको कूल बजेटमा चालु खर्चतर्फ १० अर्ब ६६ करोड पुँजीगततर्फ १७ अर्ब ६५ करोड र अन्तर वित्तीय हस्तान्तरणतर्फ १ अर्ब र वित्तीय व्यवस्थातर्फ १ प्रतिशत रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]