२०७७ डिजिटल बैंकिङमा छलाङ : क्युआर कोडले यसरी मार्‍यो फड्को

बैंकिङ खबर । कोरोना महामारीपछि बैंकिङ कारोबार बढीभन्दा बढी डिजिटल प्रणालीतर्फ गएको छ । वर्ष २०७७ मा बैंकका आन्तरिक काम र सेवाप्रवाहमा डिजिटलाइजेसनले प्रतिस्पर्धात्मक रूपमै स्थान पायो । समग्र बैंकिङ गतिविधि डिजिटल प्रणालीअन्तर्गत ल्याउने अभियान वर्षैभरि चल्यो । यसमा नियामक निकाय केन्द्रीय बैंकको सक्रिय भूमिका रह्यो ।

गभर्नर महाप्रसाद अधिकारीको डिजिटलाइजेसन अभियानमा बैंक तथा वित्तीय संस्थाले भरपूर साथ दिए । ठूला व्यापारिक कम्प्लेक्सदेखि रिक्सा वा तरकारी बजारसम्म पनि क्युआर कोड प्रदान गर्ने कार्यले दिनहुँजसो चर्चा पायो । इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, विद्युतीय भुक्तानी बढे । कार्ड देखाएर, फेस रिड गरेर अथवा स्क्यान गरेर भुक्तानी गर्ने प्रणालीले गति पाए । वर्ष २०७७ ले डिजिटल प्रणालीमा धेरै सुधार ल्यायो, जुनक्रम नयाँ वर्षमा पनि निरन्तर रहने देखिन्छ ।

कोभिड १९ को चरम प्रभावबीच सुरु भएको २०७७ साल पूरै नै कुनै न कुनै रुपमा कोरोनाबाट आक्रान्त रह्यो । वर्षैभरि विश्वभरि नै व्यक्तिका मुखबाट मास्क हट्न सकेनन् । नयाँ व्यवसाय सुरु गर्न त आँट आएन नै, चलिआएको व्यवसायलाई निरन्तरता दिनसमेत प्रायः हम्मे–हम्मेकै अवस्था रह्यो । अन्य क्षेत्रलाई जस्तै कोरोना महामारीले बैंकिङ तथा वित्तीय क्षेत्रलाई पनि प्रभावित तुल्यायो । कोरोना महामारीको उपज लकडाउनका बीच बैंक तथा वित्तीय क्षेत्र ठप्प रहे । तर, बैंक तथा वित्तीय संस्था तथा तिनका सेवाग्राहीका लागि पनि यो महामारीले विद्युतीय कारोबारको एउटा अवसर पनि सिर्जना गर्‍यो । नियामक निकाय, सेवाप्रदायक वित्तीय संस्था तथा ग्राहकको संयुक्त प्रयत्नबाट डिजिटलाइजेसनले अभूतपूर्व फट्को मार्‍यो । दैनिक रूपमा सर्वसाधारणको भिडभाड हुने बैंकिङ क्षेत्रमा कोरोनाको जोखिम उत्तिकै रह्यो । धेरै बैंकका कर्मचारी कोरोना संक्रमित हुन पुगे । करिब ८० प्रतिशत कर्मचारी ‘वर्क फ्रम होम’मा थिए । उपत्यकाबाहिर र भित्र पनि बैंकका शाखाहरूमा कोरोना संक्रमण देखियो ।
उपत्यकाबाहिरका धेरै कर्मचारीमा संक्रमण देखिएपछि कतिपय शाखा कार्यालय नै बन्द गर्नुपर्ने अवस्था सिर्जना भयो । चाहे जेसुकै होस्, बैंकमा पैसाको कारोबार गर्नु नै पर्छ । यसले सेवाप्रदायक वित्तीय संस्था र ग्राहक दुवैलाई डिजिटल कारोबारलाई बढावा दिन प्रोत्साहन गर्‍यो ।सामान्य अवस्थामा डिजिटल बैंकिङको महत्त्वबोध नगरेका तथा प्रयोगलाई प्राथमिकतामा नराखेका उपभोक्ता पनि कोरोना महामारीका कारण विद्युतीय भुक्तानीतर्फ आकर्षित भए । यही अवसरको उपयोग गर्दै सेवाप्रदायक संस्थाहरूले विद्युतीय भुक्तानी सेवालाई आक्रामक रुपमा विस्तार गरे । वर्ष २०७७ मा नेपाली बैंकिङ क्षेत्रमा डिजिटलाइजेसन प्रमुख प्रतिस्पर्धाको विषय रह्यो, जसअन्तर्गत क्युआर कोडले बाजी मार्‍यो ।


सोसिअल मेडिया