दशैंमा नोटको हिफाजत गरौं : देउतालाई सिक्का चढाउँ, नोटमा अविर पनि नदलौं

कृष्णहरी बाँस्कोटा । नेपालीको ठूलो चाड दसैंमा छोरी, ज्वाइँ, भान्जी, भान्जालाई टीका लगाएर आशीर्वाद दिँदा नयाँ नोटको दक्षिणा दिने रहर सबै नेपालीमा हुन्छ । दसैंमा नयाँ लुगा किन्ने र मिठो खाने हाम्रो प्रचलन हो । दसैंँमा देवी भगवतीले नयाँ उत्साह दिन्छिन् भन्ने मान्यता रहँदै आएको छ । दसैंको टीकापछि नयाँ जोस–जाँगर र उमंगका साथ उत्पादनशील क्षेत्रमा योगदान गर्न सकिन्छ । हामीलाई यस चाडले नयाँ विचार सिर्जना गर्न मद्दत गर्छ । राजनीतिमा नयाँ सोच प्रस्फुरण भई सहमतिको रणनीति अगाडि बढ्ने अपेक्षा गर्न सकिन्छ । लेखकले नयाँ पुस्तक रचना गर्लान् । मुलुकले नयाँ स्वरूपमा आफूलाई समृद्धितर्फ उन्मुख गराउला भन्ने अपेक्षा राख्नु स्वाभाविकै हो । यही सन्दर्भमा नयाँ नोट साट्नुपर्छ भन्ने उत्प्रेरण जागृत भएको अनुमान गर्न सकिन्छ ।

नेपालमा नोट मुद्रण गर्ने जिम्मेवारी नेपाल राष्ट्र बैंकको हो । अनुभवका आधारमा भन्दा प्रत्येक नोट मुद्रण गर्न कम्तीमा ५ देखि १७ रुपैयाँसम्म खर्च लागेको हुन्छ । एउटा नयाँ नोट झुत्रो भएर डढाउनुपर्ने अवस्थामा पुग्नु भनेको मुलुकको यो लागतबराबरको पैसा नोक्सानी हुनु हो । करोडौंको संख्यामा चलनचल्तीमा रहने गरेका नोट एक दिन झुत्रो हुन्छ नै र मुलुकले यो नोक्सानी बेहोर्नैपर्छ । यसर्थ सबै नेपालीले राष्ट्रलाई जसरी माया गरिएको छ, सोहीअनुरूप नोटको पनि हिफाजत गर्नु हामी सबैको कर्तव्य हो ।

दसैंमा नयाँ नोट साटेपछि घरमा चाडपर्वको उत्साह र उमंग भित्रिन्छ । जसरी नयाँ कपडा किनेको दिन केटाकेटीहरू फुरुंग पर्छन् त्यसैगरी नयाँ नोट साटेको दिन घरका गृहिणी खुसी हुन्छिन् । मांसाहारी परिवार भए खसी, च्याङ्ग्रा किनेर ल्याउँदा, सो दिन घरमा दसैं आएझैं अनुभूति हुन्छ । दसैंमा घर सफा गराइन्छ, कोठाहरू मिलाइन्छ । घरलाई सिँगार–पटार गरिन्छ । यही मेलोमेसोभित्र प्रत्येक नेपालीको घरमा नयाँ नोट पनि भित्रिन्छ र दसैंको पर्वको उत्साह भित्रिएको अनुभूति गरिन्छ । जसरी नयाँ नोटले नेपालीलाई दसैं घरमा भित्रिएको अनुभूति दिन्छ, यसैगरी उक्त नयाँ नोटको व्यवस्थापन गर्न पनि ध्यान पुर्याउनुपर्छ । 

अबिर नोटलाई हैन देवतालाई चढाऔँ
भगवतीलगायतको पूजा गर्दा नोटको पनि पूजा गरिन्छ, यो असल परम्परा होइन । नोट सबैको साझा सम्पत्ति हो । यसर्थ अर्को व्यक्तिमा पुग्नुपर्ने नोटलाई अबिर–केशरीले रंग्याउनु सर्वथा गलत हुनेछ । यहाँ बुझ्नुपर्ने कुरा के छ भने हामीले केही देवतालाई पूजा गरेर दक्षिणास्वरूप नोट चढाउने हो, नोटलाई नै पूजा गर्ने होइन । यसैगरी पूजा गर्दा पहिला देवीदेवतालाई जलले स्नान गराइन्छ । कुनै फलफूलमा केही फोहर लागेको भए सफा गर्न पानीले धोइन्छ । यसबाट के बुझिन्छ भने पूजा गर्दा जल सेचन गर्ने देवीदेवतालाई हो, देवीदेवतालाई चढाउने नैवेध्य वा दक्षिणस्वरूप चढाउने नोटलाई पानीमा डबाउनु पर्दैन ।

पैसा खाममा राखी दिऔँ
यसर्थ नयाँ नोटलाई नयाँपन नै यथावत् रहने गरी देवतालाई चढाउँदा उनी पनि नयाँ नोट दक्षिणामा पाएकोमा खुसी होलिन् । यसर्थ नोटमा पूजा गर्ने वा पानी राख्ने वा अन्य कुनै पनि किसिमले नोटमा नोक्सानी पुग्ने काम नगरौं भन्ने सल्लाह दिन चाहन्छु । पूजापछि नयाँ नोटको प्रयोग हुने दक्षिणामै हो । सम्भव भएमा दक्षिणालाई खाममा राखी दिनु राम्रो हुन्छ । खाममा राख्दा नोटलाई पट्याउनु पर्दैन । खाममाथि जमरा वा फूल राखेर दिनु उत्तम हुन्छ । 

नोटलाई प्लेटको रुपमा प्रयोग नगरौँ
कयौँले नोटको दक्षिणा दिँदा नोटमै अक्षता, फूल, जमरा र फलफूल एवं नरिवलको टुक्रा राखेर दिने गरेको पाइन्छ । यसरी नोटलाई प्लेटका रूपमा प्रयोग गर्नु सर्वथा नोटको अनादर गर्नु हो । धार्मिक रूपमा हेर्ने हो भने नोट लक्ष्मी हुन् । लक्ष्मी माताप्रतिको दुव्र्यहार क्षम्य हुन सक्तैन । बैंकबाट साटेर ल्याएको नयाँ नोट दक्षिणा पाउनेले नयाँ नै पाएको हुनुपर्छ । हामीले कसैलाई नयाँ कपडा उपहारमा दिन चाहे प्याकिङ नै दिन्छौं ।

कलम, डडपेन उपहार दिँदा पनि त्यसमा भएको एक प्रकारको सिल नखोली दिन्छौं । यस्तो गर्दा नयाँ उपहार दिएको भन्ने बुझिन्छ । नोटको दक्षिणा दिँदाको अवस्था पनि यही हुनुपर्छ, पाउनेले नयाँ नोट नयाँ रूपमै पाएको हुनुपर्छ । यसै प्रसंगमा नोटबारे थप केही कुरा पनि प्रकाश पार्नु बेसै होला ।

नोटमा केरमेट नगरौँ
नोटमा केरमेट गर्ने बानी गर्नु हुँदैन । हामीमध्ये केहीले नोटमा रहेको सानो सेतो भागमा मनका कुरा लेख्छौं, यो सर्वथा गलत कुरा हो । नोटमा लेख्नु गैरकानुनी कार्य हो । यो गैर–नैतिक चरित्रको द्योतक पनि हो । नोटको सेतो भाग नोटको विश्वसनीयताका लागि पानीमा कुनै चिह्न रहेझैं पारदर्शिता प्रदर्शन गरिन्छ । यो प्रत्येक व्यक्तिले नोटको सक्कलीपनाका लागि हेर्नुपर्ने हुन्छ । जसरी वस्तु खरिद गर्दा खपत गरिसक्नुपर्ने म्याद हेरिन्छ वा परिमाण हेरिन्छ वा अधिकतम खुद्रा मुल्य हेरिन्छ, सोहीअनुरूप नोटको ‘पानी छाप’ हेरेर विश्वस्त हुनुपर्ने स्थानमा लेख्न नहुने रहेछ भनी बुझ्न ढिला गर्नु हुँदैन । अधिकांश व्यापारीले नोटको गड्डी पारेर पछि माथिल्लो भागमा रहेको नोटमा सो गड्डीमा कतिवटा नोट छ भनी संख्या लेख्छन् । यसरी पनि लेख्नु हुँदैन । सो नोटको गड्डीको शिर भागमा नेपाल राष्ट्र बैंकले झैं एउटा कागज राखी सो कागजमा लेख्ने गर्नुपर्छ ।

नोटमा स्टिच नगरौँ
नोटमा स्टिच गर्दा पनि नोट प्वाल पर्ने वा चाँडै झुत्रो हुने हुँदा एउटा असल नागरिकका हैसियताले सम्भव भएसम्म नपट्याउने गरी ‘मनी पर्स’ मा राख्नुपर्छ । विद्यार्थीले पुस्तकको बीचमा नोट राख्न सक्छन् । विद्वान्वर्गले डायरीको बीचमा नोट राखे हुन्छ । सक्नेले ब्रिफकेस वा ब्यागमा वा खाममा नोट राख्नुपर्छ । प्रत्येक नागरिकले नोटको हिफाजत गरेमा यसको आयु लामो हुने कुरा स्वतः सिद्ध छ ।

नोटले जल सेचन नगरौँ
धार्मिक काम गर्ने पण्डित वा पुरोहितहरूले पनि नोटको हिफाजतमा ध्यान पुर्याउनुपर्छ । गौदान गर्ने भनी बोगतामा नोट वा पानी राखी सोही पानीले जजमानलाई सेचन गर्ने परम्परामा तत्कालै सुधार गर्नुपर्छ । पवित्र जलले जजमानलाई सेचन गरी पवित्र तुल्याउने हो । सात समुद्रपारि मुद्रित भएर आएको नोटको पानीले सेचन गर्ने होइन । 

नोट सल्काएर चुरोट नतानौँ
केही व्यक्तिले नोटले सल्काएर चुरोट पिए अरे भन्ने सुनिन्छ, यो सरासर गैरकानुनी कार्य हो, जुन पूर्णतः दण्डनीय छ । कही नोट च्यातेर फालियो वा जलाइयो भन्ने सुनिन्छ, यसो गर्नु पनि सर्वथा राष्ट्रघातको काम गर्नु हो । प्रत्येक व्यक्तिले कानुन हातमा दिन मिल्दैन भनेझैं नोट पुरानो भएमा जलाउने अधिकार नेपाल राष्ट्र बैंकलाई मात्रै छ भन्ने बुझ्नु ढिला गर्नु हुँदैन । नोटको मूल्य नयाँ र पुरानोको समान छ ।

दक्षिणा दिन नयाँ नोट नै किन चाहियो ?
एकपटक प्रसिद्ध उद्योगपति सिस्टलले एउटा प्रवचन दिने क्रममा नोटको महव बताएको कुरा निकै मननीय छ । उनले १ सय डलरको नयाँ नोट देखाएर सोधे— यसको मूल्य कति हो ? श्रोता सहभागीले जवाफ दिए— १ सय डलर हो । सो नोटलाई उनले कच्याककुचुक पारे, डल्लो बनाएर सोधे— यस नोटको मूल्य कति हो ? सबैले एउटै उत्तर दिए— अहिले पनि यो नोटको मूल्य १ सय डलर बराबर छ । यसर्थ हामीले के कुरा बिर्सनु हुँदैन भने झुत्रो हुँदा पनि नोटको मूल्य समान हुन्छ । आफ्नो पिता बूढा हुँदा उनको मूल्य घट्छ र ? पिता तन्नेरी हुन् वा बूढा हुन्, उनी पिता नै हुन् । नोटको मूल्य पनि नयाँ वा पुरानो समान छ । यसर्थ दसैंको दक्षिणा दिन नयाँ नोट नै चाहिन्छ भनी मरिहत्ते गर्नुको पनि कुनै अर्थ छैन । भ्याइ–नभ्याइ नेपाल राष्ट्र बैंक वा अन्य बैंक पुगी नयाँ नोट नै प्राप्त गर्नुपर्नाको ठोस कारण देखिन्न । दक्षिणा पाउनेले १० पायो वा ५० पायो वा सय पायो भन्ने हुन्छ, न कि नयाँ नोट वा पुरानो नोट भन्ने अर्थ रहँदैन । दक्षिणा पाउनेले सो नोट एक–दुई दिनमै उपयोग गरी अर्कै मानिसको हातमा पुगिसकेको हुन्छ । यसर्थ कुरै नबुझी दसैंमा नयाँ नोट चाहिन्छ भनी कुद्नु जरुरी छैन, सफा नोट भए पुग्छ ।


सोसिअल मेडिया