July 21st, 2016

ब्रोकरको नयाँ कमिशन दर आजैदेखि लागू गर्न निर्देशन 

interest-ratesनेपाल धितोपत्र बोर्डले शेयर ब्रोकरको घटेको कमिशन सकेसम्म आजै (विहिबार)देखि लागु गर्न नेपाल स्टक एक्सेन्ज (नेप्से)लाई निर्देशन दिएको छ । धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले  सकेसम्म आजैदेखि घटेको नयाँ दर लागु गर्न निर्देशन दिएको जानकारी दिनुभयो । नेप्सेले भने सफ्टवेयरमा केही प्राविधिक प्रक्रिया पूरा गरी नयाँ कमिशन रेट लागु गर्ने जनाएको छ । धितोपत्र बोर्डका अध्यक्ष कार्कीले धितोपत्र कारोबार संख्या तथा रकममा निरन्तर बृद्धि भईरहेको पृष्ठभुमिमा धितोपत्र ब्यवसायीले लिने कमिशनमा पुनरावलोकन गरी लागत घटाएर लगानीकर्ता मैत्री बनाउन नयाँ कमिशन दर तय गरिएको बताउनुभयो । बोर्डले धेरै अगाडि धितोपत्र ब्यवसायी नियमावली २०६४ को अनुसुची १४ संशोधन गर्न अर्थ मन्त्रालयमा पेश गरेकोमा हिजोमात्र स्वीकृत भएको हो । सो नियमावलीको अनुसूची १४ संशोधन स्वीकृत भएपछि शेयर लगानीकर्ताले शेयर ब्रोकरलाई दिनुपर्ने ४० प्रतिशत कमिशन घटेको हो । यो व्यवस्था लागु भएपछि शेयर ब्रोकर कम्पनीले ५० हजार रुपैयाँसम्म ० दशमलव ६ प्रतिशत, ५० हजारदेखि ५ लाखसम्म ० दशमलव ५ प्रतिशत, ५ लाखदेखि माथी ०.४ प्रतिशतसम्म सेवा शुल्क लिन पाउनेछन् ।