July 13th, 2016

१९% नेपाली वित्तीय पहुँच बाहिर : सिरानीमुनी राखिन्छ पैसाको मुठो

moneyनेपालमा अझै पनि १९ प्रतिशत नेपाली पूर्ण रुपमा वित्तीय पहुँचभन्दा बाहिर रहेको अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयअन्तर्गतको वित्तीय महाशाखा प्रमुख सुर्यप्रसाद आचार्यका अनुसार कुनै पनि बैंक तथा वित्तीय संस्थामा पूर्ण रुपमा पहुँचमा नरहेका नेपाली नागरिकको संख्या कुल जनसंख्याको १९ प्रतिशत छ । ‘अझै पनि १९ प्रतिशत नेपाली बैंक, बिमा, लघुवित्त, सहकारीलगायतका वित्तीय पहुँचभन्दा पूर्ण रुपले बाहिर छन् ।’ आचार्यले बैंकिङ खबरसंग भने, ‘यो चिन्तनीय विषय नै हो ।’ यसको मतलब अझै पनि धेरै नेपालीहरु पैसा सिरानीमुनि नै राख्छन् वा अनौपचारीक कारोबार गर्छन् । अनौपचारकि कारोबार गर्दा राज्यलाई कुनै फाइदा हुँदैन भने जोखिम समेत हुने गर्छ । 

मन्त्रालयले वित्तीय साक्षरताको कार्यक्रमलाई प्रभावकारी ढंगबाट अघि बढाउन नीतिगत व्यवस्था गर्न लागेको वित्तीय महाशाखा प्रमुख आचार्यले जानकारी दिए । खासगरी ग्रामिण क्षेत्रमा वित्तीय साक्षरताका कार्यक्रम लैजाने तयारीमा मन्त्रालय रहेको उनले बताए । वित्तीय साक्षरता कार्यक्रम तय भईसकेपछि त्यसलाई प्रभावकारी रुपले कार्यान्वयन गर्न कार्यविधि तयार गरिने उनले जानकारी दिए । हामी अहिले वित्तीय साक्षरताका कार्यक्रम तय गर्ने तयारीमा लागेका छौँ । उनले भने, यो प्रक्रिया पूरा हुन लागिसकेकाले अब त्यसको प्रभावकारी कार्यान्वयनका लागि कार्यविधि तयार गरेर खटाउने छौँ ।

पछिल्लो समय बंैक तथा वित्तीय संस्थाहरुको संख्या बाक्लै छ । खासगरी ग्रमिण भेगमा सहकारी र विभिन्न समूहहरु क्रियाशील छन् । तर कतिपय ठाउँमा मानिसहरुलाई सहकारीप्रति पनि विश्वास नहुँदा उनीहरु औपचारीक वित्तीय कारोबारमा सहभागी नभएको पाइएको आचार्यले बताए ।
 
केही समयअघि सार्वजनिक गरिएको एउटा अध्ययनले नेपालमा अझै पनि ४० प्रतिशत नागरिक बैंकिङ पहुँचभन्दा बाहिर रहेको देखाएको थियो । हाल २ सय ४१ वित्तीय संस्थाको ३ हजार ८ सय ३८ शाखा, उपशाखाले मुलुकलाई बैंकमय तुल्याएका छन् । सरदर ७ हजार २ सय ६ जनसंख्याका निम्ति एक बैंकिङ इकाइ छ । कुल राष्ट्रिय गृहस्थ उत्पादनमा बैंकिङ क्षेत्रको योगदान ५ प्रतिशत नाघिसकेको बताइन्छ । ‘क’ श्रेणीका मात्रै पनि २९ वटा वाणिज्य बैंक सञ्चालनमा छन् । तर पनि अझै ४० प्रतिशत नेपाली बैंकको पहुँचभन्दा बाहिररहेको तथ्य आएको हो ।