September 30th, 2019

वित्तीय साक्षरता अभिवृद्धिका कारण आर्थिक क्रियाकलापमा वृद्धि

डा. चिरंजीबि नेपाल । पछिल्लो समय वित्तीय पहुँच निकै बढेको अवस्था छ । हालै राष्ट्र बैंकको अनुसन्धान विभागले गरेको एक अध्ययनले वित्तीय पहुँच ६१ प्रतिशत पुगेको देखाएको छ । अघिल्लो अध्ययनअनुसार ४० प्रतिशतमा मात्रै वित्तीय पहुँच पुगेको थियो । अहिले बैंक तथा वित्तीय संस्थामा आवद्ध भएर व्यवसाय गर्ने नयाँ युवा जनशक्तिहरु प्रशस्त रुपमा बढेका छन् । यो वित्तीय साक्षरता अभिवृद्धिका कारणले सम्भव भएको हो ।

सबै स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुर्याउने लक्ष्य लगभग पूरा भएको छ । ७५३ मध्ये ७३९ स्थानीय तहमा वाणिज्य बैंकले शाखा खोलेका छन् । केही समयपछि बाँकी स्थानमा पनि वाणिज्य बैंकको उपस्थिती पुग्नेछ । यसको मतलब गाउँगाउँमा पैसा पुगेको छ र साथमा वित्तीय चेतना पनि पुगेको हुँदा उद्यमशीलता विकास भएको छ ।

वित्तीय चेतना भएन भने गाउँगाउँमा पैसा पुगेर पनि उत्पादनमूलक गतिविधि हुन सक्दैन । बैंकका शाखा त विगतका दिनमा पनि गाउँगाउँमा पुगेका थिए । सरकारी बैंकहरुले थुप्रै दुर्गम गाउँहरुमा शाखा संचालनमा ल्याएका थिए । तर, वित्तीय जागरण नहुँदा सर्वसाधारणहरुले बैंकबाट कारोबार नगरेपछि ती बैंक शाखाहरु बन्द हुन बाध्य भए । तर, आजको दिनमा बैंकसँगै जनचेतना पनि पुग्नाले गाउँगाउँमा पैसाका साथै आर्थिक क्रियाकलाप पनि बढेको छ ।

यसरी वित्तीय पहुँच विस्तार हुनुमा बैंक तथा वित्तीय संस्था लगायत मिडिया इन्टरनेशनल जस्ता संस्थाहरुको ठूलो योगदान छ । फलस्वरुप, नेपालमा तीन वर्षदेखि लगातार उच्च आर्थिक वृद्धि भइरहेको छ र आगामी दिनमा हुने हुने लक्षण देखिएको छ । वित्तीय साक्षरता र वित्तीय पहुँच विस्तार आर्थिक वृद्धि र विकासका लागि महत्वपूर्ण हुन् भन्ने कुरा यस तथ्यले पुष्टि गरेको छ ।

वित्तीय पहुँचबाट गाउँगाउँमा पुगेको पैसालाई सदुपयोग गर्न वित्तीय साक्षरताले सिकाउँछ र आर्थिक क्रियाकलाप बढ्न जान्छ । जसले गर्दा रोजगारी सिर्जना हुने, आयको स्रोत बढ्ने र परनिर्भरता घट्दै जाने हुन्छ । (गभर्नर डा. नेपालद्धारा मिडिया इन्टरनेशनलको सातौँ वार्षिकोत्सवका अवसरमा व्यक्त विचारमा आधारित)


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]