July 3rd, 2019

आँटे के हुँदैन ? ४५ हजार लघुकर्जाबाट सुरु भएको रजनीको व्यवसायिक यात्रा

बैंकिङ खबर । “जीवन भावनामा होईन, यथार्थताको धरातलमा अडेको हुन्छ ।” हो, यस्तै यस्तै कटु सत्य छ, छिमेक लघुवित वित्तीय संस्था लि. शाखा कार्यालय खैरेनीटारकी इकाई नम्बर १५८०१.१.१ सदस्य रजनी थापाको ।

पिता जिवन बहादुर थापा र माता मन कुमारी थापाको कोखबाट तेस्रो सन्तानको रुपमा तनहुँ जिल्ला ढोरफिर्र्दी ५, भगवती पौवामा जन्म लिई हाल शुक्लागण्डकी ७, तनहुँलाई कर्म थलो बनाएकी रजनी थापाको बाल्यकाल मध्यम तरिकाले बितेको थियो । रजनीको बुवा आफ्ना परिवार तथा छोरा छोरीको सुनौलो भबिष्यका लागि कामको खोजिमा मुग्लान (भारत) पसे । त्यहाँ उनले दिन रात नभनी हाडछाला घोटी परिश्रम गरे र परिवारको खानपिन र शिक्षा दिक्षाको लागि जसोतसो आय आर्जन गरि तिनै जना छोरा छोरीलाई एसएलसीसम्मको शिक्षा दिए । रजनीमा उच्च शिक्षा हासिल गर्ने चाहना थियो । उनी कलेज भर्ना भइन् । तर पढाइकै क्रममा उनको बिबाहको कुरा चल्यो । आनिबानी राम्रो भएको असल केटा भएकाले परिवारको सल्लाहमा २०५७ साल वैशाख १७ गते तनहुँ जिल्ला दुलेगौंडा गाबिस वार्ड नं. ३ निवासी शिव बहादुर थापा सँग उनकाृ लगनगाठो जुर्यो ।

मध्यमस्तरको परिवार भए तापनि माईतीमा खासै दुःख नगरेकी, बुबा आमाको काखकाखैमा हुर्की बढेकी उनलाई एकै पटक व्यवहारमा पर्दा जिम्मेवारीको ठुलो बोझले थिचे जस्तो महसुस भयो । परिवारको जेठी बुहारी भएकोले सासु ससुरा पछि सबै व्यवहार उनकै थाप्लोमा पर्यो । घरको दैनिक खर्च, नन्दहरुको पढाइको खर्च, समय अनुसारको चाडवाड आदीको खर्चले गर्दा परिवारमा १ जनाको कमाईले घर धान्न धौ धौ परेको सम्झँदै उनी भन्छिन्, “जिवनमा त्यस्ता गाह्रो दिन पनि आउँदा रहेछन् ।” श्रीमानले २/३ महिनामा पठाइदिएको ८/१० हजार त कता जान्थ्यो कता ।

जीवनको यात्रा त धेरै लामो छ सधै भरि यस्तो अभावको जीवन बाँचेर कतिन्जेल चल्नु ? भन्ने प्रश्नले उनलाई बारम्बर सताइरह्यो । यसैबीच छोराको जन्म भयो । घर परिवारको आर्थिक समस्या, श्रीमान् आफैसँग नहुनुको पिडा, छोराको भविष्यको चिन्ता आदिको कारणले उनलाई जीवन नै अन्धकारमय लाग्न थाल्यो । हिजोसम्म माईतीमा हुँदा भंगेरी जस्तै फुर्र फुर्र गर्ने चरी आज कुहीरोको काग बन्नु पर्दा प्रत्येक पल निस्सासिय झै लाग्न थाल्यो । उनी भन्छिन्, ‘साँच्चै भन्नु पर्दा म मणि हराएको नाग झै भएको थिएँ ।’ यद्यपि, सुख हुँदा नमात्तिएकी उनी दुःख पर्दा पनि आत्तिइनन् । बरु समस्याको सामाना गर्ने अठोट बोकिन् । दिनरात सोचिन् । आफूसँग त धन थिएन, ऋण गरेरै भए पनि केही गर्ने आँट कसिन् । तर, कसैले पत्याएन । उनलाई लाग्यो, “कठैबरा मेरो भाग्य म त दुई पैसोकि पनि रहेनछु । यी धन भएका साहुमहाजन, इस्टमित्र त धनका मात्र पो ठुला हुँदा रहेछन्, मनका साह्रै दरिद्र । परेको बेला सबै कर्कलाको पातको पानी झै तर्कने पो रहेछन् । सबै कुरा आफुलाई परेपछि मात्र थाहा पाइने रहेछ ।”

व्यवसाय र सफलता
केही गर्न खोज्दा पनि पाइनन् रजनीले । सबै वित्दै थियो । ‘यसैबीच छिमेकका सरहरु मेरा लागि साक्षात भगवान भएर २०६१ सालमा प्रकट हुनु भयो,’ छिमेक लघुवित्तले दिएको तालिमका दिन सम्झँदै उनी भन्छिन्, ‘हामी समुहका साथीहरु यती धेरै खुशी थियौ कि बयान गरि साध्य छैन ।’ उनले खोजेको सबै बचत, ऋण, बीमा, तालिम, रेमिट्यान्स आदि विभिन्न सेवा सुबिधाहरु सबै पाइन् । आज, भोली र भविष्यको लागि आफु र सन्ततीलाई समेत सुविधा । केही गर्ने आफ्नो अठोट पूरा हुने देखेर उनी फुरुङ्ग भइन् । यसै बीच श्रीमान विदेशबाट फर्किए । उनले छिमेक लघुवित्तको बारेमा सुनाइन् । श्रीमान्ले थप हौसला दिए ।

हौसला र साथ त पाइन् । तर, कहिल्यै ऋण नलिएकी उनी अलि हच्किइन् । ‘मनमा लाग्यो, किस्ता कसरी तिर्ने होला ? तिर्न नसकेर बेइज्जत हुने पो हो की !’ उनी सुनाउँछिन् । ऋणको सदुपयोग गर्यो भने अवनति होइन उन्नती हुन्छ भन्ने बुझेकि उनले अन्ततः ऋण लिने अठोट गरिन् । व्यवसायमा सफलता पाउन सानोबाट शुरु गर्नु पर्छ भन्ने घरसल्लाह भएको हुँदा उनले पशुपालनका लागि १० हजार ऋण लिइन् । दुई वर्षसम्म ससानो कर्जाबाट नै व्यवसाय चलाइरहेकी उनलाई साथ दिन श्रीमान् विदेशबाट सँधैका लागि फर्किए । व्यबसायबाट आएको आम्दानीको स्वाद चाखिसकेकी उनले अब श्रीमानको सल्लाह र सहयोगमा पशुपालन व्यवसायसँगै किराना पसल पनि गर्ने योजना बनाइन् । वित्तीय सहयोगका लागि छिमेक लघुवित्त छँदै थियो ।

किराना पसलका लागि उनले ४५ हजार ऋण लिइन् । केही समयमा छोरीको जन्म भयो । ‘बच्चाका कारण व्यवसायमा असर पर्ला कि भन्ने डर मनमा थियो,’ उनी भन्छिन्, ‘सासु ससुराको माया र साथका कारण बच्चा हुर्काउन गाह्रो भएन ।’ किराना पसलबाट पनि सोचे जस्तो आम्दानी भएपछि उनले पुनः एक लाख ५० हजार अनुशासन ऋण लिइन् । व्यापार बढाउँदै लगिन् । आजसम्म उनले ७ पटक गरी रु.११ लाख २५ हजार ऋण लिइसकेकि छिन् । यही ऋण लिएर गरेको व्यवसाय आज दुलेगौंडा बजारको सबैभन्दा ठुलो र व्यस्त होलसेल पसल बन्न पुगेको छ । ‘मैले रु.४५ हजार ऋण लिएर शुरु गरेको सानो किराना पसललाई होलसेल पसल बनाइसकेकी छु,’ रजनी भन्छिन्, “मैले यो व्यवसाय साहु महाजनबाट चर्को ब्याजमा ऋण लिएर गरेको भए अवश्य पनि यो सफलता प्राप्त हुने थिएन होला ।’ छिमेक लघुवित्तको सदस्य बनेका कारण आज नसोचेको सफलता हासिल भएको उनको भनाई छ ।

कर्जा लिएर व्यवसाय थालेको चार वर्षमा दुलेगौंडामा घडेरी किन्न सफल भइन् उनी । अहिले छोराछोरीको पढाइ पनि राम्रो छ । छोरालाई पोखराको राम्रो स्कुलमा भर्ना गरेकी छिन् । भविष्यमा छोरीलाई पनि उतै भर्ना गर्ने सोच बनाएकी छिन् । उनीहरुको भविष्यको लागि भनेर दुई हजार रुपैयाँको पेन्सन बचत खोलेकी छिन् । छिटै नै पाँच हजार रुपैयाँको पेन्सन बचत खोल्ने योजना बनाइरहेकी छिन् । आजभन्दा ५।६ बर्ष अगाडिको क्षण सम्झँदै रजनी भन्छिन्, ‘मैले छोराछोरीलाई पढाउन समस्या परेको बेला छिमेकबाटै शिक्षा कर्जा लिएर समस्याको हल गरेको छु ।’ आफुले गरेको प्रगती देखेर आफै दङ्ग पर्दै उनी भन्छिन्, ‘गर्यो भने सबैको प्रगती हुन्छ ।’

आफ्नो सम्पूर्ण सफलताको श्रेय छिमेक लघुवित्तलाई दिँदै उनी भन्छिन्, “म जे छु, जहाँ छु र जस्तो छु त्यो छिमेकले गर्दा भएको हो । म छिमेक वित्तीय संस्थाको पलपलको साथले गर्दा नै मेरो जीवनमा यत्तिको परिर्वतन सम्भव भएको हो । पहिले पहिले आफ्नो घर, परिवार र छोराछोरीको भविष्यको चिन्ताले टोलाएर बस्ने अहिले बर्तमान र भविष्यको खुशी सम्झेर बसिरहेको छु । बिगतको अवस्थाबाट हालसम्मको अवस्थासम्म पुर्याउन मलाई साथ र सहयोग गर्नुहुने शाखाका कर्मचारी, सहयोगी सदस्य र इकाईका सम्पूर्ण सदस्य दिदी बहिनीहरुलाई हृदय देखी धन्यवाद ब्यक्त गर्दछु ।‘ (प्रस्तुतीः सन्तोष खनाल, छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय, खैरेनीटार)


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]