Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

५ सय दश स्थानीय तहमा वाणिज्य बैंक पुग्यो

२०७५ असार १२ गते

बैंकिङ खबर । सरकारले सात सय ५३ वटै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा खोल्न बाध्यकारी व्यवस्था गरे पनि अझै अटेर गरिरहेको पाइएको छ । ग्रामीण क्षेत्रमा शाखा खोल्ने वित्तीय संस्थालाई विभिन्न सेवा तथा सुविधा दिइएको भए पनि अटेर गरेर सुगम र शहरी स्थानमा मात्रै रहने प्रवृत्ति देखिएको छ । स्थानीय तहमध्ये २०७५ वैशाख मसान्तसम्ममा ५१० स्थानीय तहमा मात्रै वाणिज्य बैंकले आफ्ना शाखा खोलेका छन् । अझै पनि दुई सय ४३ स्थानीय तहमा वाणिज्य बैंकले शाखा खोलेका छैनन् । 

कुन प्रदेशमा कति शाखा ?
संघीय नेपालको राजधानीसमेत रहेको प्रदेश नं ३ मा नै बैंक तथा वित्तीय संस्था थुप्रिएका छन् । २०७४ चैत मसान्तसम्मको तथ्यांकअनुसार यस प्रदेशमा ‘क’ वर्गका ९४१, ‘ख’ वर्गका २५२ र ‘ग’ वर्गका ७० शाखा सञ्चालित छन् । यसैगरी सबैभन्दा कम कर्णाली प्रदेशमा वाणिज्य बैंकका शाखा रहेका छन् । उक्त प्रदेशमा ‘क’ वर्गका १०३, ‘ख’ वर्गका आठ र ‘ग’ वर्गका दुई गरी कूल ११३ शाखा रहेका छन् । त्यस्तै प्रदेश नं ७ मा ‘क’ वर्गका १६६, ‘ख’ वर्गका ४६ र ‘ग’ वर्गका तीन शाखा रहेका छन् ।

केन्द्रबाहिरका बैंकलाई भार
बैंक तथा वित्तीय संस्थाहरु केन्द्रमा मात्रै थुप्रिएका छन् । सुगम मानिएका तराई मधेशका जिल्लाहरुमा समेत बैंक तथा वित्तीय संस्थाहरुको शाखा निकै कम विस्तार भएका छन् । केही जिल्लाहरुमा त एउटै बैंक तथा वित्तीय संस्थाले तोकिएभन्दा बढी सेवाग्राहीलाई सेवा दिनुपर्ने अवस्था रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो एक प्रतिवेदनका आधारमा तराईका जिल्लामा एक बैंक तथा वित्तीय संस्थाले १७ हजार नौ सय ७३ जनालाई सेवा दिनुपर्ने पाइएको हो । केन्द्रीय बैंकले गरेको वर्गीकरणका आधारमा क, ख र ग वर्गका वित्तीय संस्थाको प्रतिशाखा जनसंख्याको स्थितिलाई हेर्दा प्रदेश नं २ मा सबैभन्दा बढी सेवा दिनुपर्ने पाइएको छ भने प्रदेश नं ४ मा सबैभन्दा कम अर्थात् प्रति शाखा चार हजार छ सय ४० जनालाई सेवा दिनुपर्ने अवस्था रहेको छ । राष्ट्रिय औसत प्रति शाखा सात हजार आठ सय ४६ जनाभन्दा बढी रहेको प्रदेशमा कर्णाली प्रदेश पर्दछ । सो प्रदेशमा एक बैंक तथा वित्तीय संस्थाले १३ हजार आठ सय ३३ जनालाई सेवा दिनुपर्ने देखिएको छ । यस्तै प्रदेश नं ७ मा पनि तोकिएभन्दा बढी जनतालाई सेवा दिनुपर्ने अवस्था छ । उक्त प्रदेशमा एक शाखाले १३ हजार ३९ जनालाई समेट्नु परेको छ । यसैगरी, प्रदेश नं १ मा एउटा वित्तीय संस्थाले आठ हजार छ सय ३७ जनालाई सेवा दिनु परेको छ ।

Ad