विपन्न वर्गलाई सेवा दिएर लघुवित्त वित्तीय संस्थाहरुले वित्तीय पहुँच विस्तारका साथ साथै उद्यमशीलता विकासमा पनि ठूलो योगदान पुर्याइरहेका छन् । बैंकमा धितो राखेर कर्जा लिई ठूलो व्यवसाय सुरु गर्न नसक्ने गरीब परिवारका सदस्यलाई लघुवित्तले धितो विना नै सानो व्यवसाय संचालनका लागि कर्जा दिई आत्मनिर्भर बन्न सघाइरहेका छन् । यसैबीच, समग्र लघुवित्त क्षेत्रको अवस्था, समस्या र चुनौतिहरुको विषयमा बैंकिङ खबर डट कमले माइक्रोफाइनान्स बैंकर्स एसोसिएसनका अध्यक्ष रामचन्द्र जोशीसँग गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिन्छ :
लघुवित्त क्षेत्रको पछिल्लो अवस्था कस्तो छ ?
संख्यात्मक हिसाबले पछिल्लो समय लघुवित्त संस्थाहरुको संख्या बढिरहेको छ । तर, प्रशासन खर्च धेरै भएका कारण मुनाफा आर्जनमा केही कमी आएको छ । लघुवित्तहरुमा केही जोखिमहरु पनि देखा परेका छन् । लघुवित्तहरुको संख्या एकैसाथ बढ्दा कर्मचारीको क्षमता अभिवृद्धि हुन नसकेको देखिएको छ । त्यसैले, लघुवित्त बैंकर्स संघले लघुवित्तका कर्मचारीको दक्षता अभिवृद्धि गर्ने खालको तालिममा जोड दिइरहेको छ । यसका लागि नयाँ नीति नै बनाउनेतर्फ हामी लागेका छौँ ।
राष्ट्र बैंकले नयाँ लघुवित्तहरुलाई संचालन अनुमति दिइरहेको छ । यस विषयमा के भन्नुहुन्छ ?
अहिले नेपालमा ६२ वटा लघुवित्त संचालनमा छन् । चालू आर्थिक वर्षभित्रमा नै यो संख्या बढेर एक सय आठ पुग्दैछ । यसरी राष्ट्र बैंकले लघुवित्तहरुको संख्या बढाउनु उचित होइन । बैंकहरु धेरै भएकाले अहिले राष्ट्र बैंकले मर्जर नीतिमार्फत घटाइरहेको छ । फेरि, लघुवित्तहरुलाई अन्य बैंकहरु जसरी मर्जरमा लैजान पनि मिल्दैन । किनकि, अन्य बैंकहरुमा जस्तो लघुवित्तहरुको प्रोडक्ट एकै किसिमका हुँदैनन् ।
नेपाल राष्ट्र बैंकले १८ प्रतिशतभन्दा बढी व्याज नलिन भनेको छ । के यो सम्भव छ ?
१८ प्रतिशत मात्रै व्याज लिएर कर्जा लगानी गर्न लघुवित्तहरुलाई एकदमै गाह्रो भइरहेको छ । कमर्सियल बैंकबाट हामीले लिने कर्जाको व्याज नै १४ प्रतिशत पुगेको छ । दुर्गम भेगमा जाने, वाणिज्य बैंकबाट कर्जा लगानी गर्ने र ससानो कर्जा प्रवाह गर्ने हुँदा लघुवित्तहरुको संचालन लागत नै बढी पर्छ । त्यसैले, यदि लघुवित्तहरुको संचालन लागत घट्ने उपाय अपनाउन सकेमा मात्रै लघुवित्तहरुको कर्जा १८ प्रतिशत व्याजमा सम्भव देखिन्छ ।
व्याज बढी हुँदा पनि लघुवित्त संस्थाहरुले किन धेरै नाफा कमाउन सक्दैनन् ?
पहिलो कुरा त, लघुवित्तको १८ प्रतिशत व्याजलाई महँगो भन्न मिल्दैन । तुलनात्मक रुपमा व्याजदर धेरै देखिए तापनि संचालन लागतको आधारमा हेर्दा यो व्याजदर धेरै होइन । लघुवित्तहरुले दुर्गम भेगमा गएर सानो प्रकारको कर्जा दिइरहँदा यता, अन्य बैंकहरु सदरमुकाममा बसेर ठूलो प्रकारका कर्जा प्रवाह गरिरहेका छन् । कमर्सियल बैंकहरुले एउटै कर्जा करोडौँको लगानी गर्छ भने लघुवित्तको एउटा कर्जा २०।३० हजारको हुन्छ । यद्यपि, कर्जाको आकार जत्रो भएपनि आवश्यक कागजातहरु उस्तै हुन्छन् । लगानी करोड पुर्याउन लघुवित्तहरुले धेरै व्यक्तिलाई कर्जा दिनुपर्ने हुन्छ । यसका लागि कर्मचारीहरु पनि धेरै चाहिन्छन् । विनाधितो लगानी गर्ने भएकाले लघुवित्तहरुले जोखिम पनि भोगिरहेका छन् । यसरी संचालन लागत बढी भएका कारणले लघुवित्तहरुले धेरै नाफा कमाउन सकेको देखिँदैन ।
लघुवित्त क्षेत्रले नेपालको अर्थतन्त्रमा कस्तो योगदान पुर्याएको छ ?
लघुवित्त क्षेत्रले हाल सबैभन्दा राम्रो योगदान कृषि क्षेत्रमा पुर्याइरहेको छ । लघुवित्तले हालसम्म लगभग ८५ प्रतिशत कर्जा कृषि क्षेत्रमा दिएको छ । विभिन्न क्षेत्रहरु जस्तै, माछापालन, भैँसीपालन, बङगुरपालन, तरकारीखेती जस्ता क्षेत्रमा एकदमै महत्वका साथ लघुवित्तहरुले कर्जा लगानी गरिरहेका छन् । त्यसैले, लघुवित्तलाई प्रोत्साहन दिएर अगाडि बढ्न सकेमा अबको केही समयमा नै नेपालीहरु कृषि क्षेत्रमा आत्मनिर्भर बन्न सक्छन् ।
माइक्रोफाइनान्स क्षेत्रमा विद्यमान समस्याहरु केके छन् ?
अहिले माइक्रोफानान्स क्षेत्रमा देखिएका समस्याहरु भनेको एउटै ब्यक्तिले धेरै संस्थामा कर्जा लिने र त्यो कर्जाको सदुपयोग नगरी दुरुपयोग गर्ने प्रचलन बढिरहेको छ । पछिल्लो समय कर्जालाई विशेषगरी आम्दानी बढ्ने खालको ब्यापार ब्यवसायमा लगाउनुपर्ने ठाउँमा घर खर्चमा लगेर दुरुपयोग गर्ने गरेका छन् । अर्कोतिर दुर्गम गाउँका अलि शिक्षित वर्गले अति विपन्न वर्गलाई विभिन्न प्रलोभन देखाएर उनीहरुको नामको कर्जा पनि आफुहरुले चलाइदिने गर्ने गरेका पाइन्छ ।