बैंकिङ खबर । वित्तीय जागरण सहरमा मात्रै नभएर गाउँगाउँसम्म पुग्नुपर्ने सरोकारवालाहरुले बताएका छन् । बैंक ठूला र धनी मानिसहरुका लागि लागि मात्रै हो भन्ने मानसिकता चिर्नु आवश्यक रहेको औँल्याइएको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालले थोरैले मात्रै बैंकबारे बुझेको हुँदा सीमित व्यक्तिले मात्रै बैंकिङ सेवा लिइरहेको बताए । वित्तीय साक्षरताविना बैंकिङ पहुँचको अर्थ नहुने हुँदा सबै नागरिकमा वित्तीय जागरण ल्याउनु आवश्यक रहेको उनले बताए । ‘वित्तीय चेतनाको अभावमा मानिसहरुले बचत गर्न सकेका छैनन् । एक सय रुपैयाँ कमाई भयो भने मुस्किलले १० रुपैयाँ बचत भइरहेको छ,’ उनले भने, ‘ यसका लागि कमाउने बेला भएपछि होइन विद्यार्थी लेभलदेखि नै बचत गर्ने विषयमा बुझाउनुपर्छ ।’ वित्तीय चेतनाविना समृद्ध नेपालको कल्पना गर्न नसकिने डा. नेपालको भनाई छ । उनी भन्छन्, नेपालमा पैसाको कमी छैन, पैसा कमाउने आइडियोको कमी छ । यसका लागि वित्तीय चेतना अभिवृद्धि गरिनु अत्यन्तै जरुरी छ ।’
बीमा समितिका अध्यक्ष चिरंजीबि चापागाईँले बैंकिङ चेतनाका साथमा बीमा शिक्षा पनि गाउँगाउँसम्म पुर्याउनुपर्ने बताए । बैंकिङ चेतना वृद्धिको तुलनामा बीमा चेतनाको अवस्था अत्यन्त न्युन रहेकाले यस विषयमा गम्भीर भएर सोच्नुपर्ने अवस्था आएको उनले बताए । उनले भने, ‘बैंकभन्दा १० वर्षपछि नेपालमा बीमाको सुरुवात भएको थियो । अहिले बैंकिङ पहुँच ५० प्रतिशत पुग्दा बीमा पहुँच १० प्रतिशतमा सीमित छ ।’ पछिल्लो समय पुँजीवृद्धि, लाइसेन्सिङ खुला, जनप्रतिनिधिहरुसँग सहकार्य लगायतका कदमहरुले केही हदसम्म बीमाको पहुँच विस्तारमा सहयोग पुगेको भएतापनि यसलाई अझै प्रवद्र्धन गर्नुपर्ने आवश्यकता औँल्याए । हरेक गाउँमा बीमासम्बन्धी चेतना जगाएर १० प्रतिशत रहेको बीमा पहुँचलाई वृद्धि गर्नुपर्ने उनको भनाई छ ।
नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुंगानाले बैंकिङ पहुँच पुगेपछि वित्तीय साक्षरता पनि आफैँ बढ्नै जाने बताए । उनले वित्तीय पहुँच विस्तारमा बैंकहरु पनि लागीपरेको जानकारी दिए । ‘हामीले नेपाल सरकारको नीतिअनुरुप सबै स्थानीय तहमा शाखा खोल्न लागेका छौँ,’ उनले भने, ‘कतिपय ठाउँ अत्यन्त दुर्गम छन्, जहाँ अहिलेसम्म बैंकिङ पहुँच पुगेको छैन ।’ यसबाहेक पनि बैंकहरुले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आआफ्नो स्तरबाट विभिन्न खाले वित्तीय साक्षरताका कार्यक्रमहरु गरिरहेको ढुंगानाले जानकारी दिए ।
त्यस्तै, डेभलपमेन्ट बैंकर्स संघका महासचिव झलक प्रसाद खनालले बैंकसँग गरिने कारोबार सुरक्षित हुने भएकाले सबैले बैंकिङ सेवा लिनुपर्ने बताए । गाउँगाउँमा वित्तीय जागरण फैलाउन सके उद्यमशीलताको विकास भई जनस्तर माथि उठ्ने उनले बताए ।
माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष रामचन्द्र जोशीले लघुवित्त वित्तीय संस्थाहरुले थुप्रै दुर्गम भेगमा वित्तीय पहुँच पुर्याएको बताए । वित्तीय पहुँच विस्तारमा विशेष भूमिका निर्वाह गर्दै आएका माइक्रोफाइनान्सहरु पछिल्लो समय लघु बीमाको माध्यमबाट बीमाको दायरा बढाउन समेत महत्वपूर्ण भूमिका खेलेको अध्यक्ष जोशीले बताए । ग्रामीण भेगसम्म वित्तीय जागरण ल्याउनका लागि लघुवित्तहरुले विशेष योगदान पुर्याइरहेको उनले बताए ।
'वित्तीय साक्षरता : राष्ट्रिय अभियान'का संयोजक माधव निर्दोषले वित्तीय साक्षरतालाई पाठ्यक्रममै समावेश गर्नुपर्ने बताए । उनले भने, ‘विद्यालय लेभलदेखि नै विद्यार्थीहरुलाई बैंक, पैसा, बचत, उद्यमशीलता लगायतका बारेमा सिकाउन सके उनीहरु आफैँ समृद्धि बन्नेछन् ।’