बैंकिङ खबर । मुलुकमै दोस्रो पटक आयोजना गर्न लागिएको बैंकिङ एक्स्पोले वित्तीय चेतना अभिवृद्धिका लागि महत्वपूर्ण भूमिका खेल्ने सरोकारवालाहरुले बताएका छन् । माघ १९ र २० गते काठमाडौंको भृकुटीमण्डपमा हुने दोस्रो बैंकिङ एक्स्पोबारे जानकारी दिन बुधबार राजधानीमा आयोजना गरिएको पत्रकार सम्मलेनमा बोल्दै वक्ताहरुले वित्तीय चेतना अभिवृद्धिमा बैंकिङ एक्स्पोको विशेष भूमिका रहने बताएका हुन् । गत आर्थिक वर्षको वैशाख महिनामा आयोजना गरिएको बैंकिङ एक्स्पोले वित्तीय चेतना नबुझेका, म्यानेजमेन्ट तथा कृषि, वन सम्बन्धी अध्ययनरत विद्यार्थी साथै उद्यमशील बन्न चाहने सर्वसाधारणलाई समेत विशेष फाइदा भएको भन्दै एक्स्पो हरेक वर्ष सञ्चालन हुनुपर्नेमा वक्ताहरुले जोड दिए । हेरौँ कसले कस्तो बिचार राखे :
बैंकिङ एक्स्पो वित्तीय सूचनाको केन्द्र
शम्भुनाथ ढुंगाना, सहायक सूचना अधिकारी, नेपाल राष्ट्र बैंक
४० प्रतिशत नागरिकमा मात्रै बैंकिङ पहुँच पुगेको र १८ प्रतिशत जनता मात्रै वित्तीय रुपमा साक्षर रहेको विद्यमान अवस्थामा वित्तीय चेतनाको अभिवृद्धि एकदमै आवश्यक छ । जुन आवश्यकता बैंकिङ एक्स्पोले धेरै हदसम्म पुरा गर्नेछ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०६६/६७ देखि नै नोटको जतन गरौँ, हुण्डी कारोबार नगरौँ, बैंकिङ च्यानलबाट आर्थिक कारोबार गरौँ, बचत गरौँ लगायतका नाराहरुको माध्यमबाट वित्तीय चेतना अभिवृद्धिका पहलहरु गर्दै आएको छ । वित्तीय साक्षरता अभिवृद्धिको जिम्मेवारी बैंकर्स संघलाई सुम्पिएको भए तापनि राष्ट्र बैंक आफूले पनि वित्तीय जागरणका कार्यक्रमहरुलाई निरन्तरता दिइरहेको छ । केही वर्षदेखि मौद्रिक नीतिमा नै वित्तीय साक्षरतालाई राखेर यसको प्रभावकारी कार्यान्वयनतर्फ राष्ट्र बैंकले ध्यान दिएको छ । गत वर्ष राजधानीमा आयोजना गरिएको बैंकिङ एक्स्पोमा जनसभागिता उल्लेखनीय रहेको र अझै वित्तीय चेतनाको अभाव महशुस भएकाले यसपाली हुन लागेको बैंकिङ एक्स्पोको प्रवद्र्धन पनि राष्ट्र बैंकले गरेको छ । बैंकिङ एक्स्पो बैंक वित्त सम्बन्धी सम्पूर्ण सूचनाको केन्द्र बन्नेमा म विश्वस्त छु ।
बीमाको पहुँच विस्तारमा महत्वपूर्ण सहयोग
राजुरमण पौडेल, निर्देशक, बीमा समिति
अहिले मुलुकमा बीमाको पहुँच ज्यादै न्यून रहेको छ । एक तथ्यांकले आठ प्रतिशत नागरिक मात्रै बीमाको पहुँचमा रहेको देखाएको छ । बीमाको पहुँचमा १० प्रतिशतभन्दा कम नागरिक हुनु एकदमै दुःखद हो । बीमाको पहुँच विस्तार हुन नसक्नुमा नीतिगत समस्या भएको प्रष्ट नै छ । नेपालमा वित्तीय साक्षरता भनेजस्तै बीमा साक्षरताको पनि आवश्यकता रहेको छ । बीमाको पहुँच विस्तारका लागि बीमा शिक्षा अपरिहार्य छ । यसकारण बीमा समिति तथा बीमा कम्पनीहरुलाई समेत आगामी माघ १९ र २० गते काठमाडौँमा हुने एक्स्पोमा सहभागी गराइएकोमा म धन्यवाद दिन चाहान्छु । केहि साताअघि मात्रै प्रदेश नम्बर एकको इटहरीमा मिडिया इन्टरनेसनलले नै बैंक तथा बीमा एक्स्पोको आयोजना गर्यो, त्यहाँ हामीले पनि सहकार्य गर्यौँ । सो एक्स्पो र आगामी १९ र २० गते काठमाडौँमा हुने एक्स्पोले बीमाको दायरा वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्नेमा म विश्वस्त छु ।
एक्स्पोले वित्तीय चेतना विस्तार गर्ने विश्वास छ
अशोक शेरचन, कार्यकारी सदस्य, नेपाल बैंकर्स संघ
अघिल्लो आर्थिक वर्षमा काठमाडौंको भृकुटीमण्डपमा बैंकिङ एक्स्पो आयोजना गरिएको थियो । त्यस एक्स्पोमा प्रभु बैंकको पनि सहभागिता थियो । अघिल्लो आर्थिक वर्ष आयोजना गरिएको एक्स्पो सफल भयो । जुन उद्देश्य प्राप्तीका लागि एक्स्पो आयोजना गरिएको थियो त्यो उद्देश्य पुरा भएको मैले महशुस गरेको छु । त्यस एक्स्पोबाट धेरैले बैंक, वित्त बारे बुझ्ने अवसर पाएका थिए । अघिल्लो वर्षको एक्स्पोको सफलताले नै यस वर्ष पनि एक्स्पोको आवस्यकता महशुस गरिएको हुनुपर्छ । नेपालमा वित्तीय चेतनाको स्तर अत्यन्तै कमजोर अवस्थामा रहेको बेला एक्स्पोले महत्वपूर्ण भूमिका खेल्ने मैले विश्वास लिएको छु । म नेपाल बैंकर्स संघको प्रतिनिधि भएर कार्यक्रममा उपस्थित भएकाले संघको तर्फबाट समेत एक्स्पो सफलताको कामना गर्न चाहान्छु ।
एक्स्पो आयोजना गरिनु एकदमै सराहनीय कार्य
भरतराज ढकाल, अध्यक्ष, विकास बैंकर्स संघ
नेपाल राष्ट्र बैंकको प्रवद्र्धनमा मिडिया इन्टरनेशनलले आयोजना गर्न लागेको दोस्रो बैंकिङ एक्स्पोमा सहकार्य गर्न पाएकोमा खुसी लागेको छ । बैंकिङ एक्स्पो आयोजना गरिनु एकदमै सराहनीय कार्य हो । पहिलेपहिले बैंकहरु भनेको धनाढ्य र शहर बजारमा बस्नेहरुको लागि मात्रै हो भन्ने सोचिन्थ्यो । त्यो सोचाई अहिले परिवर्तन भएको छ । यद्यपि, ग्रामिण भेगमा अझै वित्तीय चेतनाको स्तर कमजोर रहेको छ । त्यस क्षेत्रलाई फोकस गरेर वित्तीय चेतनाका कार्यक्रमहरु लैजानुपर्छ । गाउँ–गाउँमा वित्तीय चेतना सम्बन्धी कार्यक्रम लैजाँदा स्थानीय तहका जनप्रतिनिधिहरुसँग सहकार्य गरिनुपर्छ । राजनीतिकर्मीहरुको सहयोगले वित्तीय चेतना विस्तारमा थप सहज हुनेछ । काठमाडौंमा हरेक किसिमका अनि हरेका क्षेत्रका मानिसहरु जम्मा भएका छन् । केन्द्रमा नै गरिने यस्तो कार्यक्रमले वित्तीय चेतनाको बहस गाउँ–गाउँसम्म पुग्नेछ । आगामी १९ र २० गते भृकुटीमण्डपमा हुने एक्स्पोबाट वित्तीय चेतनाको स्तर उकासियोस, त्यहि शुभकामना व्यक्त गर्दछु ।
शिक्षित मान्छे नै बैंकबारे बेखबर
भेषराज पन्थी, कार्यकारी सदस्य, लघुवित्त बैंकर्स संघ
कतिपय शिक्षित मान्छेहरुमा नै बैंकिङ चेतना पुगिसकेको छैन । औपचारिक शिक्षा हासिल गरे पनि वित्तीय साक्षरताको आवश्यकता ती मानिसहरुमा समेत रहेको देखिन्छ । लघुवित्त वित्तीय संस्थाहरु बढीजसो ग्रामीण तहसम्म पुगेकाले यसबाट धेरै ठाउँमा वित्तीय पहुँच विस्तार भएको छ । त्यसैले, पनि वित्तीय साक्षरताका कार्यक्रम र लघुवित्त संस्थाहरुको सहकार्य हुनुपवर्ने हामीले महशूस गरेका छौँ । वित्तीय पहुँच विस्तारका लागि माघ १९ र २० गते हुन लागेको एक्स्पो एकदमै महत्वपूर्ण छ । मुलुकमा वित्तीय चेतनाको अभिवृद्धि भए मात्रै आर्थिक समृद्धिको कल्पना गर्न सकिन्छ । वित्तीय चेतना अभिवृद्धिको कार्यक्रममा हाम्रो सदैव सहयोग रहिरहनेछ । बैंकिङ एक्स्पोले हरेक मानिसमा वित्तीय चेतना पुर्याओस् भन्ने कामना गर्न चाहान्छु ।
बीमा शिक्षा बढाउन बैंकिङ एक्स्पो अपरिहार्य
प्रविणरमण पराजुली, सीईओ, रिलायन्स लाइफ इन्स्योरेन्स
बीमा शिक्षा र वित्तीय साक्षरता अभिवृद्धि गर्नका लागि बैंकिङ एक्स्पो अपरिहार्य रहेको छ । अहिले बीमाको दायरा बढाउनु अत्यन्तै जरुरी भएको छ । सहर बजारमा मात्रै नभएर ग्रामीण तहका मानिसहरुले पनि बीमाको महत्व र आवश्यकताबारे बुझ्नु आवश्यक छ । बीमा गर्नु कम्पनीका लागि नभएर आफ्ना लागि फाइदाजनक छ भन्ने कुरा बुझाउन बैंकिङ एक्स्पोले ठूलो मद्दत पुर्याउनेमा म विश्वस्त छु । यस्तो चेतनामूलक कार्यक्रमका लागि सदैव मेरो साथ र सहयोग रहनेछ । आफ्नो उद्देश्यमाथि कार्यक्रमले सफलता हासिल गरोस्, मेरो शुभकामना छ ।
मेनेजमेन्ट विद्यार्थीलाई उद्यमी बन्ने अवसर
माधव निर्दोष, संयोजक, बैंकिङ एक्स्पो
सरकारको अपेक्षा नगरी आफ्नै स्थानबाट केही गर्न सकिन्छ भन्ने चेतना जगाउनका लागि बैंकिङ एक्स्पोको आयोजना गर्न लागिएको हो । राजधानीमा मुलुकको सबै क्षेत्रका युवाहरु बसोबास गर्ने भएकाले राजधानीमा नै बैंकिङ एक्स्पोको आयोजना गर्न लागेका छौँ । विशेष गरी, मेनेजमेन्ट अध्ययन गरेका वा गरिरहेका विद्यार्थी वर्ग, गरिरहेको व्यवसाय बढाउन चाहने उद्यमीहरु, रकमको अभावमा उद्यम सुरु गर्न नसकिरहेका जुझारु युवा र स्वदेशमै केही गर्छु भनेर अवसर खोजिरहेका व्यक्तिहरुलाई बैंकिङ एक्स्पोले लक्षित गरेको छ । राज्यको भर नपरी आफ्नो आर्थिक समृद्धि आफैँ खोज्न चाहने युवा र विशेष गरी मेनेजमेन्ट अध्ययन गरिरहेका विद्यार्थीहरुका लागि उद्यमी बन्ने बाटो देखाउने अपेक्षा हामीले गरेका छौँ । यही माघ १९ र २० गते भृकुटीमण्डपमा हुने सूचना मेलाले युवाहरुलाई उद्यमी बन्ने अवसर प्रदान गर्नेमा म विश्वस्त छु ।