January 7th, 2018

तीन अर्ब रुपैयाँ बराबरको हकप्रद सेयर आउँदै 

बैंकिङ खबर । माघ महिनाको दोस्रो साताभित्रमा तीन अर्ब रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन हुने भएको छ । चार वटा बैंक तथा वित्तीय संस्थाले उक्त अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेका हुन् । हकप्रद निष्काशन गर्न लागेका बैंक तथा वित्तीय संस्थाहरुमा पोखरा फाइनान्स, प्रभु बैंक, लुम्बिनी विकास बैंक र कर्णाली डेभलपमेन्ट बैंक रहेका छन् । 

पोखरा फाइनान्स लिमिटेड
पोखरा फाइनान्स लिमिटेडले पुष ३० गतेदेखि चुक्ता पूँजीको १५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । फाइनान्सले एक सय रुपैयाँ अंकित मूल्यमा नौ करोड ८३ लाख रुपैयाँ बराबरको नौ लाख ८३ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । 

फागुन छ गतेसम्म निष्काशन खुला रहने सेयरमा पुष १३ गतेसम्म कायम सेयरधानीले आवेदन दिन पाउनेछन् । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआईबिएल क्यापिटल मार्केट लाजिम्पाट, पोखरा फाइनान्सका केन्द्रीय तथा शाखा कार्यालयहरु र आस्वा सुविधा भएका सम्पुर्ण बैंक तथा वित्तीय संस्थाबाट सेयर खरिदका लायिग आवेदन दिन सकिनेछ ।

हाल, पोखरा फाइनान्सको चुक्ता पूँजी ६५ करोड ५७ लाख रुपैयाँ रहेको छ । १५ प्रतिशत हकप्रदपछि कम्पनीको चुक्तापुँजी ७५ करोड ४१ लाख रुपैयाँ पुग्ने छ । फाइनान्सले ८० करोड रुपैयाँ चुक्ता पूँजी पुर्याउनु पर्नेछ ।

प्रभु बैंक लिमिटेड
प्रभु बैंक लिमिटेडले  माघ ७ गतेदेखि ४० प्रतिशत अर्थात १० बराबर चारको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । फागुन ३ गतेसम्म खुला रहने सेयरमा पुस २० गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । 

प्रभुले एक सय रुपैयाँ अंकित मूल्यमा दुई अर्ब ३५ करोड २५ लाख ६० हजार आठ सय रुपैयाँ बराबरको दुई करोड ३५ लाख २५ हजार छ सय आठ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । यसका लागि बैंकले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । सेयरधनीहरुले विक्री प्रबन्धकका साथमा प्रभु बैंकका सम्पूर्ण शाखा कार्यालय र आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

हाल प्रभु बैंकको चुक्तापुँजी पाँच अर्ब ८८ करोड १४ लाख २१ रुपैयाँ रहेको छ । ४० प्रतिशत हकप्रद जारी गरिसकेपछि बैंकको चुक्तापुँजी आठ अर्ब २३ करोड ३९ लाख ६२ हजार आठ सय रुपैयाँ पुग्नेछ । 

लुम्बिनी विकास बैंक लिमिटेड
लुम्बिनी विकास बैंक लिमिटेडले माघ ११ गतेदेखि १० बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशन फागुन १६ गतेसम्म खुला रहनेछ । बैंकको हकप्रदलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । 

बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । प्रभु क्यापिटल कमलादी, लुम्विनी विकास बैंक तथा यसका सम्पूर्ण शाखा कार्यालयहरु, भिबोर क्यापिटल कृष्ण गल्ली ललितपुर र आश्वा सुविधा भएका सम्पुर्ण बैंक तथा वित्तीय संस्थामा आवेदन दिन सकिन्छ ।

बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा २० करोड आठ लाख ८७ हजार आठ सय २७ रुपैयाँ बराबरको २० लाख आठ हजार आठ सय ७८ दशमलव २७ कित्ता हकप्रद सेयर जारी गर्नेछ । हाल लुम्बिनी विकास बैंकको चुक्तापुँजी दुई अर्ब ८८ लाख ७८ हजार छ सय रुपैयाँ रहेको छ । १० प्रतिशत हकप्रद सेयर निष्काशन गरेपछि बैंकको चुक्तापुँजी दुई अर्ब २० करोड ९७ लाख ६६ हजार चार सय रुपैयाँ पुग्नेछ । 

कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड
कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले माघ ११ गतेदेखि २२५ प्रतिशत अर्थात एक बराबर २.२५ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । फागुन १६ गतेसम्म निष्काशन खुला रहने सेयरमा पुस १९ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् ।  

बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । हकप्रदमा बिक्री प्रबन्धक प्रभु क्यापिटल, कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड नेपालगञ्ज बाँके, तथा बैंकका अन्य शाखा कार्यालय र प्रभु बैंकका शाखा कार्यालय विराटनगर, विरगञ्ज, पोखरा, बुटवल र धनगढीबाट आवेदन दिन सकिनेछ । त्यस्तै नेपाल धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त सबै बैंक तथा वित्तीय संस्थाबाट पनि बैंकको हकप्रदमा आवेदन दिने सकिने बैंकले जनाएको छ ।

कर्णालीले एक सय रुपैयाँ अंकित मूल्यमा ३३ करोड ९७ लाख पाँच हजार रुपैयाँ बराबरको ३३ लाख ९७ हजार पाँच सय कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हाल कर्णाली डेभलपमेन्ट बैंकको चुक्तापुँजी १५ करोड १० लाख रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासनपश्चात बैंकको चुक्तापुँजी ४९ करोड सात लाख ५० हजार रुपैयाँ पुग्नेछ ।