बैंकिङ खबर । लामो समयदेखि अन्यौलमा रहेको मेगा बैंक र टुरिजम डेभलपमेन्ट बैंकबीचको मर्जर यस साता टुंगो लागेको छ । यसै सातादेखि नयाँ रेटिङ कम्पनी संचालनमा आएको छ भने बीमा कम्पनीका सीईओहरुको तलबमा सीमा तोकिएको छ । समग्रमा, यो साता बैंकिङ क्षेत्रमा भएका महत्वपूर्ण गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :
मेगा र टुरिजमबीचको मर्जर टुंगोमा
मेगा बैंक नेपाल लिमिटेडले टुरिजम डेभलपमेन्ट बैंकलाई गाभ्ने (मर्जर) प्रस्ताव पारित गर्यो । मंगलबार काठमाडौँमा सम्पन्न मेगा बैंकको विशेष साधारण सभाले टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडलाई गाभ्नका लागि अनुमति दिएको हो । मेगा बैैंकको प्रतिसेयर मुल्य १०० रुपैँया बराबर टुरिजम बैंकको प्रतिसेयर मुल्य ९५ कायम भएको छ भने टुरिजमको १ कित्ता सेयर हुने सेयरधनीले ०.९५ कित्ताको अनुपातमा सेयर पाउनेछन् ।
लिखु जलविद्युत् आयोजनामा सात बैंकको लगानी
५२.४ मेगावाट क्षमताको लिखु–४ जलविद्युत् आयोजनामा सात वटा वाणिज्य बैंकले सात अर्ब ६२ करोड रुपैयाँ ऋण लगानी गर्ने सम्झौता गरे । ग्रीन भेञ्चर प्रालिद्धारा प्रवद्र्धित उक्त आयोजनामा नबिल बैंकको नेतृत्वमा लक्ष्मी बैंक, ग्लोबल आईएमई बैंक, एसबीआई बैंक, सनराइज बैंक, प्रभु बैंक र सानिमा बैंकले उक्त अनुपातमा ऋण लगानी गर्ने भएका हुन् । लगानी सम्झौतामा कम्पनीका अध्यक्ष सुभाषचन्द्र सङ्घई एवम् अन्य सातओटै बैङ्कका प्रतिनिधिबाट संयुक्त हस्ताक्षर भएको छ । सम्झौताअनुसार, उक्त आयोजनामा नबिल बैंकले एक अर्ब ४२ करोड, लक्ष्मी बैंकले एक अर्ब २५ करोड, ग्लोबल आईएमई बैंकले एक अर्ब २५ करोड, एसबीआई बैंक र सनराइज बैंकले एकरएक अर्ब र प्रभु तथा सानिमा बैंकले ८५/८५ करोड रुपैयाँ लगानी गर्नेछन् ।
केयर रेटिङस नेपालको कारोबार सुरु
केयर रेटिङस नेपालले कारोबार सुरु गर्यो । कम्पनीको शुभारम्भ विहीबार नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले गरे । कम्पनीले साधारण सेयर (आइपिओ) को स्तर निर्धारण, ऋणपत्र, डिबेन्चर्स, व्यापारिक कागजात, बैंक निक्षेप, सामुहिक लगानी कोष (म्युचुअल फन्ड), अग्राधिकार शेयर निष्काशन गर्ने कार्यका लागि समेत स्तर निर्धारण सेवा(रेटिङ्ग) उपलव्ध गराउने छ । साथमा, इन्स्योरेन्स कम्पनीहरु, सम्पत्ति व्यवस्थापन कम्पनीहरु एवं साना तथा मझ्यौला उद्यमहरुलाई समेत शेयर (आइपिओ) को स्तर निर्धारण सेवा दिने कम्पनीले जनाएको छ ।
बीमा कम्पनीका सीईओको तलबमा सीमा
पुरानोबाट नयाँ बीमा कम्पनीमा जाँदा प्रमुख कार्यकारी अधिकृत (सिइओ) ले पाउने तलबमा बीमा समितिले मापदण्ड तोक्यो । समितिले कम्पनीका सिइओहरुको तलब भत्ता तथा अन्य सुबिधा सम्बन्धी मार्गदर्शन जारी गर्दै बीमा कम्पनीहरुले सिइओलाई दिने तलब, भत्ता तथा अन्य सुबिधालाई ४ भागमा विभाजन गर्न भनेको छ । जसमा बार्षिक तलब तथा भत्ताहरु, कार्यसम्पादनमा आधारित पारिश्रमिक, बीमा सम्बन्धी सुबिधाहरु र अन्य सुविधाहरु रहेका छन् ।
एनआईसी एशिया बैंकलाई दुई अवार्ड
एनआईसी एशिया बैंक लिमिटेडले एकैसाथ दुईओटा पायो । बैंकले नेपालको बैंकिङ्ग क्षेत्रतर्फको बेष्ट ब्राण्ड अवार्ड(बैंकिङ क्षेत्र) र बेष्ट इम्प्लोयर ब्राण्ड अवार्ड प्राप्त गरेको हो । सहभागी कम्पनीहरुको उद्देश्य तथा कार्य सम्पादनका आधारमा विजेताहरु छनौट गरिएको थियो ।
अन्य
- ग्लोबल आइएमई बैंक लिमिटेडले सङ्खुवासभा जिल्लाको चैनपुर नगरपालिका ३, पोखरी बजार, संखुवासभाकै चैनपुर नगरपालिका ४, याखा चोकमा र तेह्रथुम जिल्लाको लालिगुराँस नगरपालिका ७, लसुनेमा शाखारहित बैंकिङ सेवा सुरु गर्यो ।
- एनआईसी एशिया बैंकले बडीमालिका नगरपालिका वडा नं. ८, मार्तडीमा नयाँ शाखा संचालनमा ल्यायो ।
- प्रभु मनि ट्रान्सफर र युएई एक्सचेन्जबीच रेमिट्यान्स सम्झौता भयो ।
- सिद्धार्थ बैंकले पौष २ गते आइतबार बनेपाको बनेपा बजारमा आफ्नो शाखा कार्यालय विस्तार गर्यो ।
- ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एनएमबि बैंक लिमिटेडका बिच बैंकास्योरेन्स सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भयो ।
- सनराइज बैंक लिमिटेडको संचालक समितिद्धारा प्रस्तावित १५ प्रतिशत बोनस सेयर साधारणसभाले पारित गर्यो ।