बैंकिङ खबर / झापाकी बिनिता ओलि अहिले के एण्ड के कलेजमा मेनेजमेन्ट पढ्दैछिन् । पछि बैंकर बनी भविष्य सुरक्षित गर्ने लक्ष्यसहित उनले मेनेजमेन्ट विषय छानेकी हुन् । पढ्नमा अब्बल दर्जाका उनको सानैदेखि मेनेजमेन्ट विषय लिएर बैंकर बन्ने रहर थियो । त्यहि रहर अहिले उनको जीवनको उद्देश्य बनेको छ ।
बिनिताजस्तै धेरै युवाले अहिले मेनेजमेन्ट संकायमा अध्ययन गरिरहेका छन् । यद्यपि, सबैले बैंकमा जव गर्ने रहर वा प्यासन भएर मेनेजमेन्ट पढेका छैनन् । कतिपयले साथीहरुले मेनेजमेन्ट पढेको अथवा बैंकमा जागीर गरेको देखेर पनि मेनेजमेन्ट पढ्ने गरेका छन् । हेर्दा चिटिक्क टाईसुटमा सजिएको दैनिकी अनि आकर्षक सेवासुविधा र सुरक्षित भविष्य । यही देखेर अहिलेका युवा पिँढी बैंकमा करिअर बनाउन विज्ञान विषयलाई पछि धकेलेर मेनेजमेन्ट पढ्न आकर्षित भएका हुन् । बैंक तथा वित्तीय संस्थामा प्रवेश गर्नवित्तीकै आर्थिक हैसियत उकासिने भएकाले पनि यसको आकर्षण अझ बढ्दो छ । अन्य पेसा तथा व्यवसायका तुलनामा बैंकको जागिर सानै पद भए पनि जीवनयापन गर्न थप संघर्ष गर्नु नपर्ने बैंकका जागिरेहरूको अनुभव छ ।
पछिल्लो समय बैंकिङ क्षेत्रमा महिलाको आकर्षण अझ बढ्दो छ । यो क्षेत्र मर्यादित हुनुका साथै काम गर्ने निश्चित समय अवधि, कामअनुसारको आकर्षक तलबभत्ता अनि वार्षिक बोनसको सुविधा भएकाले पनि यसमा आकर्षण बढेको हो । बैंकको जागिर सानै पद भए पनि दुईचार लाख जोगाउन सकिने क्षेत्र हो । बाहिरी आकर्षण त छ नै, त्यसमा पनि जिम्मेवार, लगनशील तथा पेसागत क्षेत्र हो बैंकिङ । बैंकिङ क्षेत्रमा लाग्नेको परिवारको समेत भविष्य सुरक्षित हुने भएकाले यसको आकर्षण अझ बढेको नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष अनिलकेशरी शाहको धारणा छ । ’एउटा सानो पदबाट बैंकिङ क्षेत्रमा प्रवेश गरियो भने पनि ऊ अवकाश पाउने समयसम्म बैंकको दोस्रो तथा तेस्रो पोजिसनमा पुग्छ’, उनी भन्छन्, ’एक त मर्या््िदत पेसा, त्यसमा पनि उसले पाउने सेवासुविधा ।’ परिवारको भविष्यसमेत सुरक्षित हुन्छ यो पेसामा’, शाहले भने ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरू विस्तार भइरहेका छन् । गाउँगाउँसम्म यसका सेवा पुग्दैछन् । यसको विस्तारसँगै यसमा करिअर बनाउनेको संख्या पनि बढ्दो छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा २५ हजारभन्दा बढीले रोजगारी पाइरहेका छन् । यो तथ्यांक वाणिज्य बैंकको मात्र हो । विकास बैंक, फाइनान्स कम्पनी तथा लद्युवित्तको तथ्यांक भने नेपाल राष्ट्र बैंकसँग पनि छैन ।
नलेजबिनाको बैंकिङ करिअर सपना मात्रै
बैंकमा जागीर खान भनेर गएका धेरै जसो मान्छेहरु रित्तो हात फर्किने गरेका छन् । बैंकहरुले सयौँको संख्यामा कर्मचारी माग गरिरहेपनि आफूहरुलाई नराखेको भन्दै रिजेक्ट भएकाहरुले बैंकको आलोचना समेत गर्ने गरेका छन् । बैंकहरुले आफन्तहरुलाई राखेर आफूलाई नराखेको उनीहरुको आरोप छ । यता, बैंकहरु भने यो आरोप झुटो भएको दाबी गर्दै आएका छन् । बैंकमा जागीर गर्न आवश्यक ज्ञान तथा योग्यता नभएकै कारण आफूहरुले रिजेक्ट गर्ने गरेको बैंकहरु बताउँछन् ।
बैंक भनेको सर्वसाधारणको पैसाको हिफाजत गर्ने जिम्मेवारी सम्हालेको संस्था हो । त्यसैले, यहाँ सँधै उत्कृष्ट कर्मचारीहरुको खोजी गरिन्छ । पछिल्लो समय नेपालमा मेनेजमेन्ट पढेका विद्यार्थीहरुको खाँचो छैन । एउटा बैंकमा रोजगारी खुल्यो भन्ने सुन्नेवित्तीकै मेनेजमेन्टका विद्यार्थीहरुको लाइन लाग्छ । तीमध्येबाट बैंकले सबैभन्दा उत्कृष्टलाई छान्छ । शैक्षिक योग्यता मात्र नभएर व्यवहारिक ज्ञान तथा वित्तीय चेतनासमेतलाई आधार मानेर बैंकहरुले उत्कृष्ट कर्मचारी छान्ने गर्दछ । व्यवस्थापन संकायमा ब्याचलर वा मास्टर्स गरेको छु भन्नेवित्तीकै बैंकमा त जागीर पाइहाल्छु नि भन्ने मानसिकताले थुप्रै युवालाई पछि पारेको छ । कतिपय व्यवस्थापन संकायकै विद्यार्थीलाई पनि बैंकबारे स्पष्ट जानकारी छैन । जागीरको लागि अन्तर्वार्ता लिन जाँदा बैंकको बारेमा कतिको जानकारी छ भनेर जाँच गरिन्छ । बैंक के हो ? नेपालमा बैंकलाई कति प्रकारमा वर्गीकरण गरिएको छ ? लघुवित्त संस्था के हो ? यसको काम के हो ? लगायत बैंकमा प्रयोग गरिने सफ्टवेर, प्रविधिहरु, कर्जा, निक्षेप लगायतका विषयमा पनि जवाफ दिन नसक्ने विद्यार्थीहरु धेरै छन् । वित्तीय चेतना नहुँदा थुप्रै विद्यार्थीहरुको बैंकर बन्ने चाहना अधुरो रहने गरेको छ ।
वित्तीय चेतनाको कमी यतिसम्म छ कि कुनै सहकारीमा काम गर्ने व्यक्तिलाई तपाईँ केमा काम गर्नुहुन्छ ? भनेर सोध्दा ‘फाइनान्समा’ भन्ने गरेको धेरै भेटिन्छ । उनीहरुलाई सहकारी र फाइनान्सबीचको फरक थाहा नहुँदा यस्तो समस्या आएको छ । उता, बैंकमा जागीरको लागि जाँदा पनि सहकारीमा काम गरेको अनुभवलाई फाइनान्समा गरेको भन्ने गरेको पाइएको छ ।
नेपालमा वित्तीय साक्षरताको एकदमै कमी छ । अझै पनि पैसा राख्नको लागि तथा कर्जा लिनका लागि बैंकलाई विश्वास नगर्नेहरु अत्याधिक छन् । यस्तो अवस्था गाउँमा मात्र हैन सहरमा पनि छ, अनि निरक्षरहरुमा मात्र नभएर पढेलेखेकाहरु बीचमा पनि छ । पैसा कमाउने, बचत गर्ने, लगानी गर्ने लगायतको ज्ञान उनीहरुसँग छैन । बैंकमा नै काम गर्ने भएपछि त झन् यो विषयमा जानकारी भइरहनु अत्यन्त जरुरी हुन्छ । यस विषयमा जानकारी नभएकै कारण पनि कतिपयलाई रिजेक्ट गर्न आफूहरु बाध्य भएको बैंकहरुको भनाई छ ।




