२०७४ मंसिर ७ गते

विवादमा एउटा ठूलो मर्जर, अन्यौलतामा मेगा र टुरिजम

सुष्मा थापा/बैंकिङ खबर । मेगा बैंक नेपाल लिमिटेड र टुरिजम डेभलपमेन्ट बैंक लिमिटेड बीचको मर्जरमा विवाद उत्पनन भएको छ । सेयर स्वाप अनुपातलाई लिएर मेगाका केही संचालक तथा सेयरधनीहरुले विरोध गरेपछि मेगाको साधारणसभा समेत स्थगित गरियो । टुरिजमसँग मर्जरमा जाने विशेष प्रस्ताव पारित गर्नका लागि मंसिर ४ गते डाकिएको साधारणसभा नै सम्पन्न हुन नसकेपछि मर्जरमा संकट उत्पन्न भएको हो । 

टुरिजमको साधारणसभाबाट स्वीकृत
मेगा बैंकको साधारणसभा स्थगित भएपनि टुरिजम डेभलपमेन्ट बैंकको साधारणसभा भने सफलतापूर्वक सम्पन्न भएको छ । मंसिर ४ गते सम्पन्न सभाले मेगा बैंकसँग मर्जरमा जाने विशेष प्रस्ताव पारित गरिसकेको छ । 

विवाद 'के' मा ?
मेगासँगको मर्जरमा टुरिजमको सेयर स्वाप रेसियो प्रतिकित्ता ९५ रुपैयाँ हुने समझदारी पत्रमा हस्ताक्षर गर्दा नै निर्धारण गरिएको थियो । तर डिडिएले टुरिजमको स्वाप रेसियो करिब ९२ रुपैयाँ देखाएको छ । मेगाले विशेष साधारणसभाबाट ९५ रुपैयाँ स्वाप रेसियोमै मर्जर गर्न खोजिएको थियो । मेगाका केही संचालकले डिडिए अगाडि नै स्वाप रेसियो तोकिएको असहमति जनाएका छन् । मेगा बैंकको ब्यवस्थापनले चुनाबको कारण सबै प्रमोटर उपस्थित हुन नसकेकोले मात्रै बिशेष साधारणसभा रोकिएको बताएको छ ।

पुँजीवृद्धिमा कस्तो प्रभाव पर्ला ?
चालू आर्थिक वर्षको पहिलो त्रैमासिक रिपोर्टअनुसार, मेगा बैंकको चुक्तापुँजी चार अर्ब ५८ करोड रुपैयाँ मात्रै रहेको छ । बैंकले असोज ३० गतेसम्म निष्काशन गरेको ६५ प्रतिशत हकप्रद सेयरको पुँजीकरण भएपछि चुक्तापुँजी सात अर्ब ५६ करोड रुपैयाँ पुग्नेछ । बैंकले गत आर्थिक वर्षको कमाईबाट बोनस सेयर वितरण गरेको छैन । यसरी हेर्दा, टुरिजमसँगको मर्जर भाँडिए पनि मेगाले आठ अर्ब पुँजी पुर्याउन सक्ने देखिन्छ । 

यता, टुरिजम डेभलपमेन्ट बैंकको चुक्तापुँजी दुई अर्ब एक करोड रुपैयाँ पुगिसकेको छ । बैंकको मंसिर ४ गते सम्पन्न साधारणसभाले १७ करोड १० लाख ७७ हजार पाँच सय रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । उक्त बोनस सेयर वितरण भइसकेपछि टुरिजम डेभलपमेन्ट बैंकको चुक्तापुँजी दुई अर्ब १८ करोड रुपैयाँ पुग्नेछ । पुस मसान्तसम्ममा दुई अर्ब ५० करोड रुपैयाँ चुक्तापुँजी पुर्याउन बैंकलाई चुनौतिपूर्ण हुने देखिएको छ । 

मर्जरपछि चुक्तापुँजी नौ अर्ब नाघ्ने
सबै प्रोमोटर उपस्थित हुन नसकेकाले साधारणसभा हुन नसकेको बैंकको दाबीलाई आधार मान्ने हो भने केही समयमा नै मेगाले विशेष साधारणसभा बोलाएर मर्जर पारित गराउन सक्छ । यदि मर्जर सफल रह्यो भने मेगा बैंक नेपालको सबैभन्दा बढी पुँजी भएको बैंकहरुमध्येमा पर्नेछ । मर्जरपछि मेगा बैंकको चुक्तापुँजी साढे नौ अर्बभन्दा बढी हुनेछ ।

पहिलो त्रैमासमा मेगा बैंक
मेगा बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा जम्मा आठ करोड ११ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४४ दशमलव ७४ प्रतिशत कम नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा मेगा बैंकले १४ करोड ६९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । चार अर्ब ५८ करोड २३ लाख रुपैयाँ चुक्ता पुँजी भएको मेगा बैंकले जगेडाकोषमा एक अर्ब ३६ करोड ५३ लाख रुपैयाँ राखेको छ । निक्षेपमा ३९ अर्ब ३९ करोड ३७ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा ३५ अर्ब २४ करोड ९२ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी छ दशमलव १३ प्रतिशतले घटेर ३३ करोड ४८ लाख रुपैयाँमा सिमित हुन पुगेको छ । त्यस्तै संचालन मुनाफा ६० दशमलव ७० प्रतिशतको गिरावट आई छ करोड ९२ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा चार करोड ५० लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा १६ करोड ३५ लाख रुपैयाँ राखेको छ । मेगा बैंकको निष्कृय कर्जा एक दशमलव ६७ प्रतिशत रहेको छ भने पूँजीकोष अनुपात १० दशमलव २९ प्रतिशत रहेको छ । त्यस्तै बैंकको प्रतिसेयर आम्दानी वार्षिक एक दशमलव ७७ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ६६ दशमलव ५७ गुणा, प्रतिसेयर नेटवर्थ १ सय २९ दशमलव ७० रुपैयाँ र तरलता अनुपात २३ दशमलव ९५ प्रतिशत रहेको छ ।

टुरिजमको नाफामा पनि गिरावट
टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा तीन करोड ४२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १९ दशमलव ३५ प्रतिशत कम नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा टुरिजमले चार करोड २४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । दुई अर्ब एक करोड रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा ५७ करोड चार लाख रुपैयाँ राखेको छ । निक्षेपमा ४२ दशमलव ३० प्रतिशतले वृद्धि गरी १२ अर्ब ८४ करोड एक लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा १० अर्ब ९७ करोड ६९ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ३९ दशमलव ५६ प्रतिशतले बढेर १२ करोड ७३ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ११ दशमलव ३२ प्रतिशतले घटेर चार करोड ७० लाख रुपैयाँ पुगेको छ । यो अवधिमा ६७ लाख रुपैयाँ खराबकर्जा उठाएको बैंकले प्रोभिजनमा चार करोड ४४ लाख रुपैयाँ राखेको छ । टुरिजम डेभलपमेन्ट बैंकको निष्कृय कर्जा एक दशमलव ०२ प्रतिशत, पूँजीकोष अनुपात १९ दशमलव ८५ प्रतिशत, प्रतिसेयर आम्दानी वार्षिक सात दशमलव ४५ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ५७ दशमलव ३२ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ४० दशमलव ३१ रुपैयाँ र तरलता अनुपात ३३ दशमलव ७८ प्रतिशत रहेको छ ।