बैंकिङ खबर,
साधारण सेयर : संस्थापकहरुले संस्थापक सेयर हालिसकेपछि कम्पनी चलाउन लगानी जुट्ने वातावरण सृजना हुन्छ । त्यसपछि मात्र ऋण खोजिन्छ र साधारण सेयर जारी गरिन्छ । साधारण सेयर तपाई हामी सर्बसाधारण जनताबाट उठाईएको सेयर हो । सामान्यतया १ कित्ता सेयरको मुल्य रु.१०० हुन्छ । सामान्यतया सर्बसाधारणलाई ५० कित्तादेखि माथि सेयर हाल्ने अवसर दिईन्छ । कम्पनी विघटन गर्दा अन्तिममा नाफा र घाटा सबै लिने सेयर साधारण सेयर हो ।
सेयर जारी गर्नुअघि कम्पनीहरूले नेपाल धितोपत्र बोर्डमा दर्ता गर्नुपर्ने हुन्छ । त्यस्तै, कम्तीमा ३ करोड रुपैयाँभन्दा बढी रकमको सेयर सर्वसाधारणमा निष्कासन गर्दा इक्रा नेपालबाट पनि रेटिङ गराउनुपर्छ । यी दुई संस्थाको वेबसाइटबाट पनि कुन कम्पनीको सेयर आउँदै छ भन्नेबारे लगानीकर्ताले जानकारी लिन सक्छन् ।
कसरी किन्ने सेयर ?
आईपीओ जारी गर्नुभन्दा १ साताअघि सम्बन्धित कम्पनीहरूले आह्वानपत्र निष्कासन गर्छन् । यो आह्वानपत्रमा कम्पनीले कति सेयर, कुन मितिदेखि निकाल्दै छ भन्ने जानकारी दिन्छ । आह्वानपत्रले कम्पनीको सेयरमा कतिसम्म र कहाँबाट आवेदन सकिन्छ भन्नेबाहेक कम्पनीको हालको स्थिति र भविष्यको योजनासमेत उल्लेख गरेको हुन्छ । आह्वानपत्र राम्ररी अध्ययन गर्न सक्नेले त्यहीँबाट पनि कम्पनीको धेरै जानकारी पाउँछ । यस्तो आह्वानपत्र धितोपत्र बोर्डबाट स्वीकृत भएको हुँदा लगानीकर्ता विश्वसनीयतामा भर पर्न सक्छन् । आह्वानपत्रमा उल्लेख भएको सेयर विक्री प्रबन्धक वा तोकिएका सङ्कलन केन्द्रबाट सेयरमा लगानी गर्न फारम पाइन्छ । फारममा लगानीकर्ताले कति कित्ता सेयर लिन चाहेको हो, उल्लेख गरेर आफ्नो बारेमा मागिएको जानकारी पनि भर्नुपर्छ । सेयर फारममा हस्ताक्षरसमेत गर्नुपर्ने हुन्छ । पछि नगद फिर्ता लिँदा हस्ताक्षर मिल्नुुपर्ने भएकाले स्पष्ट र चल्तीकै हस्ताक्षर गर्नुपर्छ ।