बैंकिङ खबर । मुनाफा आर्जनमा कतिपय विकास बैंकहरुले वाणिज्य स्तरका बैंकलाई नै टक्कर दिएका छन् । हालसम्म प्रथम त्रैमासिक विवरण सार्वजनिक गरेका राष्ट्रिय स्तरका सात विकास बैंकहरुमध्ये, मुक्तिनाथ विकास बैंक, कैलाश विकास बैंक र महालक्ष्मी विकास बैंकले जनता बैंक, मेगा बैंक र कुमारी बैंकलाई टक्कर दिने नाफा कमाएका छन् । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा जनताले छ करोड ४८ लाख रुपैयाँ, मेगाले आठ करोड ११ लाख रुपैयाँ र कुमारीले ११ करोड २० लाख रुपैयाँ नाफा कमाएका छन् । वाणिज्य बैंकमध्येमा सबैभन्दा कम नाफा कमाएको जनता बैंककोभन्दा बढी नाफा त क्षेत्रीय स्तरको शाइन रेसुंगा डेभलपमेन्ट बैंकले नै कमाएको छ । समग्रमा, वाणिज्य बैंकलाई नै टक्कल दिने नाफा कमाएका चार विकास बैंकहरुको बारेमा यहाँ चर्चा गरिन्छ :
मुक्तिनाथ विकास बैंक लिमिटेड
मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद मुनाफा १३ करोड ५४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५ दशमलव ८४ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा मुक्तिनाथले नौ करोड ९७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । एक अर्ब ५४ करोड २७ लाख रुपैयाँ चुक्ता पूँजी भएको मुक्तिनाथ विकास बैंकले जगेडा कोषमा ६० करोड १९ लाख रुपैयाँ छुट्याएको छ । बैंकले कर्जातर्फ ४६ दशमलव ९० प्रतिशतले बढाएर १६ अर्ब ८० करोड ७६ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी २१ दशमलव २२ प्रतिशतले बढेर २५ करोड ७६ लाख रुपैयाँ पुगेको छ । संचालन मुनाफा ३८ दशमलव ४६ प्रतिशतले वृद्धि गरी १९ करोड ८४ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजनमा २ करोड ५२ लाख रुपैयाँ राखेको छ भने खराब कर्जा ३६ लाख रुपैयाँ उठाएको छ । बैंकको जोखिमयुक्त सम्पति १६ दशमलव ६७ प्रतिशत रहेको छ भने निष्कृय कर्जा शून्य दशमलव ०३ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी २५ दशमलव २६ रुपैयाँ (वार्षिक), मूल्य आम्दानीको अनुपात २४ दशलमव ३८ गुणा, प्रतिसेयर नेटवर्थ १ सय ४२ दशमलव १३ रुपैयाँ र तरलता अनुपात २८ दशमलव ७५ प्रतिशत रहेको छ ।
कैलाश विकास बैंक लिमिटेड
कैलाश विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नौ करोड ७२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २५ दशमलव ३८ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कैलाशले १३ करोड एक लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । दुई अर्ब २९ करोड १४ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडकोषमा एक अर्ब आठ करोड ४४ लाख रुपैयाँ राखेको छ । निक्षेपमा २० प्रतिशतले वृद्धि गरी १८ अर्ब ६२ करोड ९४ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा १५ दशमलव ३८ प्रतिशतले वृद्धि गरी १५ अर्ब ९८ करोड ९५ लाख रुपैयाँ लगानी गरेको छ । कैलाश विकास बैंकको खुद व्याज आम्दानी २७ दशमलव ३५ प्रतिशतले घटेर १५ करोड ४५ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ३५ दशमलव ३३ प्रतिशतले घटेर आठ करोड ६४ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा एक करोड ५२ लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा १ करोड ७५ लाख रुपैयाँ राखेको छ । कैलाशकोे जोखिमयुक्त सम्पत्ति १८ दशमलव ३३ प्रतिशत रहेको छ भने निष्कृय कर्जा शुन्य दशमलव ९१ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी वार्षिक १६ दशमलव ९७ रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक १७ दशमलव ०८ गुणा, प्रतिसेयर नेटवर्थ १ सय ४७ दशमलव ३३ रुपैयाँ र तरलता अनुपात ३२ दशमलव ६६ प्रतिशत रहेको छ ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा छ करोड ५० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चार दशमलव १० प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा शाइन रेसुंगाले छ करोड ७८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । एक अर्ब ३७ करोड ८६ लाख रुपैयाँ चुक्ता पुँजी भएका बैंकले जगेडा कोषमा ३३ करोड ४८ लाख रुपैयाँ राखेको छ । निक्षेपमा २० दशमलव ८२ प्रतिशतले वृद्धि गरी १० अर्ब ९३ करोड ८१ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा ९ अर्ब ६५ करोड ९३ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद ब्याज आम्दानी आठ दशमलव १४ प्रतिशतले बढेर १४ करोड ६० लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा चार दशमलव ९० प्रतिशतले घटेर नौ करोड ७६ लाख रुपैयाँ रहेको छ । यो अवधिमा आठ लाख रुपैयाँ खराबर कर्जा उठाएको बैंकले प्रोभिजनमा एक करोड ८४ लाख रुपैयाँ राखेको छ । शाइन रेसंगा डेभलपमेन्ट बैंकको प्रतिसेयर आम्दानी १८ दशमलव ८९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ एक सय २४ दशमलव २९ रुपैयाँ, तरलता अनुपात २० दशमलव ७७ प्रतिशत र मुल्य आम्दानीको अनुपात २१ दशमलव ७६ गुणा रहेको छ । त्यस्तै, बैंकको निष्कृय कर्जा शुन्य दशमलव ५३ प्रतिशत र जोखिमयुक्त सम्पत्ति १५ दशमलव ९४ प्रतिशत रहेको छ ।
महालक्ष्मी विकास बैंक लिमिटेड
महालक्ष्मी विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा पाँच करोड ६३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४ दशमलव ९२ प्रतिशत कम नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा महालक्ष्मी विकास बैंकले छ करोड ६२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । दुई अर्ब ६३ करोड ३७ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा एक अर्ब नौ करोड ८२ लाख रुपैयाँ राखेको छ । निक्षेपमा एक सय ३२ दशमलव २३ प्रतिशतले वृद्धि गरी २५ अर्ब १४ करोड ६४ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा २० अर्ब १२ करोड ५० लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ४७ प्रतिशतले बढेर १७ करोड २७ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा दुई करोड ४५ लाख रुपैयाँ नोक्सानमा रहेको छ । महालक्ष्मी विकास बैंकको निष्कृय कर्जा तीन दशमलव ५५ प्रतिशत, पूँजीकोष अनुपात १५ दशमलव ४६ प्रतिशत, प्रतिसेयर आम्दानी वार्षिक आठ दशमलव ५६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ एक सय ४१ दशमलव ७० रुपैयाँ र तरलता अनुपात २९ दशमलव ४५ प्रतिशत रहेको छ ।




