रोयल आचार्य/ बैंकिङ खबर । नेपालमा ६० प्रतिशतभन्दा बढी जनता बैंकिङ पहुँच बाहिर रहेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । मुलुकका ग्रामिण भेगमा वित्तीय चेतना फैलाउनका लागि विगतका केहि बर्षदेखि राष्ट्र बैंकले विशेष कार्यक्रम नै आयोजना गरिरहेको छ । धेरै जसो बैंकहरुले अहिले बैंकिङ शाखा विस्तारलाई तीब्रता दिइरहेका छन् । ग्रामिण भेगमा बैंकिङ पहुँच बढाउनका नेपाल राष्ट्र बैंकले शाखा सञ्जाल विस्तारलाई प्राथमिकता दिएको छ । बैंकहरुले पनि पछिल्लो समय शाखा विस्तारलाई बिशेष ध्यान दिएको पाइन्छ । अहिलेको अवस्थामा शाखा सञ्जालको हिसाबले ६ ठूला विकास बैंकहरुबारे यहाँ चर्चा गरिन्छः
महालक्ष्मी विकास बैंक
शाखा सञ्जालको हिसाबले सबैभन्दा ठूलो विकास बैंक महालक्ष्मी विकास बैंक हो । महालक्ष्मीको हाल मुलुकभर ६६ वटा शाखा कार्यालहरु छन् । फाइनान्सबाट शुरु भएको महालक्ष्मीको यात्रा आर्थिक बर्ष २०७४÷७५ को शुरुवाती दिनमै बलियो विकास बैंकको रुपमा स्थापित भएको छ । महालक्ष्मी फाइनान्स, मालिका विकास बैंक तथा सिद्धार्थ फाइनान्स एक आपसमा गाभिएर महालक्ष्मी विकास बैंकको नामबाट कारोबार शुरु गरेको केहि यस बैंकले गत आर्थिक बर्षको असारमा मात्रै यति डेभलपमेन्ट बैंकसँग मर्ज भएर वलियो विकास बैंकको स्थान ओगट्न सफल भएको थियो ।
मुक्तिनाथ विकास बैंक
‘जनता बैंकमा होईन बैंक जनतामा जानुपर्छ’ भन्ने नारा सहित २०६३ साल पौष १९ गते देखि पोखराबाट कारोबार सञ्चालन गरेको मुक्तिनाथ विकास बैंक शाखा सञ्जालको हिसाबले दोस्रो ठूलो विकास बैंक हो । मुक्तिनाथ विकास बैंकले हाल ५४ वटा शाखा कार्यालयबाट सेवा दिइरहेको छ । क्षेत्रीय स्तरको विकास बैंकको रुपमा कारोबार गरिरहेको मुक्तिनाथले धादिङ्ग जिल्लामा केन्द्रीय कार्यालय रहेको सिभिक डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति गरि राष्ट्रिय स्तरको विकास बैक बन्न सफल भएको थियो । राष्ट्रिय स्तरको विकास बैंक बनेसँगै मुक्तिनाथले पोखराको पृथ्वीचोकबाट राजधानी काठमाडौंमा केन्द्रीय कार्यालय स्थानान्तरण गरेको थियो ।
गण्डकी विकास बैंक
गण्डकी विकास बैंकको हाल ५१ वटा शाखा कार्यालयहरु रहेका छन् । शाखा सञ्जालको हिसाबले गण्डकी तेस्रो ठूलो विकास बैंक हो । पोखरामा मुख्य कार्यालय रहेको गण्डकी केहि समय अघि फेवा विकास बैंकसँग मर्जर भएर वलियो विकास बैंक बन्न सफल भएको थियो ।
गरिमा विकास बैंक
शाखा सञ्जालको हिसाबले चौथो ठूलो विकास बैंक गरिमा विकास बैंक हो । गरिमाको हाल उपत्यकिाभित्र ४ वटा र उपत्यका बाहिरर ४४ वटा गरी जम्मा ४९ वटा शाखा सञ्जाल छन् । ग्रामीण भेगका जनतालाई बैंकिङ सेवा दिने उद्देश्यले वि.सं. २०६४ सालमा कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भई स्याङ्जा जिल्लाबाट ३ जिल्ले विकास बैंकको रुपमा बैंकिङ कारोबार शुरु गरेको गरिमा विकास बैंक अहिले एक अब्बल राष्ट्रिय स्तरको विकास बैंकको रुपमा स्थापित भइसकेको छ । स्याङ्जाबाट पोखरा हुँदै काठमाडौंमा केन्द्रीय कार्यालय स्थानान्तरण गरेको यस बैंकले चाडै पूर्वका विभिन्न ठाउँमा करिब एक दर्जन नयाँ शाखा खोल्ने योजना बनाइरहेको बुझिएको छ ।
लुम्बिनी विकास बैंक
लुम्बिनी विकास बैंकका हाल ४८ वटा शाखा सञ्जालहरु छन् । शाखा सञ्जालको हिसाबले लुम्बिनी पाचौं ठूलो विकास बैंक हो । भिवोर विकास बैंक र सोसाइटी डेभलपमेन्ट बैंक एक आपसमा मर्ज भएर भिवोर सोसाइटी डेभलपमेन्ट बैंक बनेको छोटो समयमा नै लुम्बिनी फाइनान्ससँग मर्ज भएर लुम्बिनी विकास बैंक बनेको यस बैंकलाई पनि बलियो विकास बैंकको रुपमा हेरिन्छ ।
ज्योति विकास बैंक
ज्योति विकास बैंकले भर्खरै मात्र राप्तीभेरी विकास बैंकलाई प्राप्ति गरेको छ । राप्तीभेरी प्राप्ति पछि यस बैंकको शाखा संख्या ४६ पुगेको छ । हाल यो बैंक शाखा सञ्जालको हिसाबले छैठौं ठूलो विकास बैंक हो । वि. स. २०६५ श्रावण ९ गते स्थापना भएको ज्योति विकास बैंक लिमिटेडले स्थापनाको नौ बर्षको अवधिमा निजी क्षेत्रका विकास बैंकहरुको बिचमा आफ्नो अलग्गै पहिचान बनाउन सफल भएको छ । बैंकले देशव्यापी रुपमा शाखा सञ्जाल विस्तार गर्ने लक्ष्यका साथ १० वटा शाखा छिट्टै थप्ने जनाएको छ । (सम्बन्धित बैंकको वेभसाइटको सहयोगमा)




