एभरेष्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ५३ करोड १४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.५१ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा एभरेष्ट बैंकले ५१ करोड ३४ लाख रुपैयाँ कमाएको थियो ।
छ अर्ब ११ करोड ५२ रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा छ अर्ब ६७ करोड ८२ लाख रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा ११ दशमलव ४५ प्रतिशतले वृद्धि गरी ९९ अर्ब ३७ करोड १२ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जामा १७ दशमलव ७३ प्रतिशतले वृद्धि गरी ८१ अर्ब ८५ करोड ९३ लाख रुपैयाँ लगानी गरेको छ ।
बैंकको खुद ब्याज आम्दानी १३ दशमलव १७ प्रतिशतले बढेर एक अर्ब तीन करोड रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा सात दशमलव ९८ प्रतिशतले बढेर ८३ करोड नौ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा छ करोड सात लाख रुपैयाँ राखेको छ । यो अवधिमा बैंकले २४ लाख रुपैयाँ खराब कर्जा उठाएको छ ।
बैंकको प्रतिसेयर आम्दानीमा उल्लेख्य गिरावट आएको छ । गत वर्षको पहिलो त्रैमासमा ७८ दशमलव ३१ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी चालू आर्थिक वर्षमा ३५ दशमलव २२ रुपैयाँमा झरेको छ । त्यस्तै, एभरेष्ट बैंकको मूल्य आम्दानी अनुपात ३६ दशमलव २९ गुणा, प्रतिसेयर नेटवर्थ दुई सय १० दशमलब ६५ रुपैयाँ रहेको छ । बैंकको निष्कृय कर्जा शुन्य दशमलव २६ प्रतिशत र पूँजीकोष अनुपात १५ दशमलव ४६ प्रतिशत रहेको छ ।


