बैंकिङ खबर । केही समयअघि बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) कमी हुँदा निक्षेप तान्नका लागि बैंकहरुले व्याजदर अत्याधिक बढाएका थिए । धेरै व्याज पाइने लोभले थुप्रै निक्षेपकर्तालाई आकर्षित गरेको थियो । यद्यपि, तरलताको समस्या साम्य हुनेवित्तीकै बैंकहरुले एकाएक व्याजदर घटाउन थालेका छन् ।
केही महिनाअघिसम्म निक्षेपको व्याजदर १३ प्रतिशतको हाराहारीमा पुगेको थियो । अहिले बैंकहरुको व्याजदर चार प्रतिशतसम्ममा झरेको छ । अधिक तरलताको समयमा तीन महिनाको मुद्दति निक्षेपमा १२ प्रतिशतसम्म व्याज दिएको ग्लोबल आईएमई बैंकले अहिले उक्त निक्षेपमा तीनदेखि चार प्रतिशतसम्म मात्रै व्याज दिन थालेको छ । ग्लोबल आईएमईले अहिले मुद्दति निक्षेपमा अधिकतम सात प्रतिशतसम्म व्याज दिइरहेको छ । तरलता समस्याको समयमा पनि व्याजदर नबढाएको स्टान्डर्ड चार्टर्ड बैंकले व्याजदरमा थप कटौति गरेर ६.५ प्रतिशतमा झारेको छ ।
प्रभु बैंक लिमिटेडले चार किसिमको मुद्दति खाता संचालन गरिरहेका छ । जसमध्ये, तीन महिने मुद्दति निक्षेपमा ८.५ प्रतिशत व्याज दिइरहेको छ भने तीनदेखि नौ महिने मुद्दति निक्षेपमा ९ प्रतिशत व्याज दिइरहेको छ । त्यस्तै, नौदेखि दुई वर्षसम्मको मु्द्दति निक्षेपमा ९.५ प्रतिशत व्याजदर कायम गरेको प्रभुले पाँच वर्षे स्वर्णीम मुद्दतिमा ८.५ प्रतिशत व्याज दिइरहेको छ ।
छ किसिमका मुद्दति खाता संचालन गरिरहेको एनआईसी एसिया बैंकले अहिले अधिकतम ८.५ प्रतिशत व्याज दिइरहेको छ । बैंकले एक महिनेमा चार प्रतिशत, तीन महिनेमा ४.५ प्रतिशत र छ महिनेमा ५.५० प्रतिशत व्याज दिइरहेको छ । एकदेखि दुई वर्षसम्मको मुद्दति निक्षेपको व्याजदर छ प्रतिशत कायम गरिएको छ भने दुईदेखि पाँच वर्षको निक्षेपमा ७.५० प्रतिशत व्याजदर कायम गरिएको छ । पाँच वर्षभन्दा माथिको मुद्दति निक्षेपमा भने एनआईसी एशियाले ८.५ प्रतिशत व्याज दिने गरेको छ ।
त्यस्तै, कृषि विकास बैंकले हाल मुद्दति निक्षेपमा ७.७५ प्रतिशतसम्म व्याज दिइरहेको छ । बैंकले दुई वर्षदेखि पाँच वर्षसम्मको मुद्दति निक्षेपमा उक्त व्याज दिने गरेको छ । एक वर्षे र एकदेखि दुई वर्षसम्मको मुद्दति निक्षेपमा ७.५ प्रतिशत व्याज दिइरहेको बैंकले छ महिनेमा ७ प्रतिशत र तीन महिनेमा छ प्रतिशत व्याज दिइरहेको छ ।
जम्मा तीन किसिमको मुद्दति खाता संचालन गरिरहेको राष्ट्रिय वाणिज्य बैंकले अधिकतम ७.५ प्रतिशतसम्म व्याज दिने गरेको छ । तीन महिने मुद्दति निक्षेपमा बैंकले छ प्रतिशत व्याज दिने गरेको छ । छ महिने मुद्दति निक्षेपको व्याजदर भने सात प्रतिशत कायम गरिएको छ । त्यस्तै, एक वर्षे मुद्दति निक्षेपमा बैंकले ७.५ प्रतिशत व्याज दिइरहेको छ ।
तीन किसिमकै मुद्दति खाता संचालन गरिरहेको माछापूछ्रे बैंकले अधिकतम आठ प्रतिशतसम्म व्याज दिइरहेको छ । तीन महिने मुद्दति निक्षेपमा ६.५ प्रतिशत व्याज दिएको बैंकले तीनदेखि छ महिनासम्मको निक्षेपमा आठ प्रतिशत व्याज दिने गरेको छ । एक वर्षमाथिका मुद्दति निक्षेपमा भने बैंकले ७.५ प्रतिशत व्याजदर कायम गरेको छ ।
अन्य बैंकहरुले पनि निक्षेपको व्याजदर घटाएर औसत ७।८ प्रतिशतमा झारेका छन् । बैंकिङ प्रणालीमा तरलता संकटको अवस्था आउँदा निक्षेप तान्नकै लागि धमाधम व्याजदर बढाएका बैंकहरुले तरलताको समस्या हटेसँगै व्याजदर क्रमशः झार्न थालेका हुन् । बैंकहरुले व्याजदर बढाएर निक्षेप तान्दा तरलता ७०।८० अर्बको हाराहारीमा पुगिसकेको थियो । यद्यपि, कर्जा लगानीमा विस्तार तथा राष्ट्र बैंकद्धारा तरलता प्रशोचनका कारण उक्त तरलताको अनुपातमा केही कमी आएको छ । हाल बैंकिङ प्रणालीमा ४० अर्ब रुपैयाँ बराबरको तरलता रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बैंकहरुको तथ्यांकअनुसार, चालू आर्थिक वर्षमा ३६ अर्ब रुपैयाँ निक्षेप संकलन हुँदा ४२ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ ।