स्टक ब्रोकर एसोसियसन अफ नेपाल ब्रोकर कम्पनीहरुको छाता संगठन हो । नेपालको पूँजी बजारमा ब्रोकरहरुले ग्राहकको अर्डर लिने र कारोबार गरिदिने काम गर्दै आएका छन् । तर ब्रोकर कम्पनीहरुले विगतदेखि नै आफ्नो कार्यक्षेत्र अलि फराकिलो बनाइदिन नियमनकारी निकायसँग माग गरिरहेका छन् । गत आर्थिक बर्षमा नेपाल धितोपत्र बोर्डले ब्रोकर कम्पनीको पूँजी २० लाखबाट १० गुणा बढाएर २ करोड रुपैयाँ हुनुपर्ने व्यवस्था गरिसकेको छ । पूँजी वृद्धि गर्ने बोर्डको निर्णयसँगै ब्रोकरहरुले कार्यक्षेत्र बढाउनुपर्ने मागलाई जोड दिए पनि ब्रोकरहरुको माग पुरा गर्ने धितोपत्र बोर्डले ढिलाई गरिरहेको छ । यसै सन्दर्भमा स्टक ब्रोकर्स एशोसियसन अफ नेपालका अध्यक्ष प्रियराज रेग्मीसँग बैंकिङ खबर डट कमका लागि रोयल आचार्यले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिन्छ :
ब्रोकरहरुको पूँजीको अवस्था के छ ?
ब्रोकरहरुको चुक्ता पूँजीको अवस्था राम्रो छ । नेपाल धितोपत्र बोर्डले आगामी पौष मसान्तसम्मको समयसीमा दिई पूँजी बढाउन निर्देशन दिएको छ । बोर्डले निर्देशन दिनुभन्दा पहिले नै धेरै ब्रोकर कम्पनीहरुको पूँजी तोकिएभन्दा माथि नै थियो । निर्देशन पश्चात बाँकी रहेका कम्पनीहरुले पनि पूँजी बृद्धि गरिरहेका छन् । हाल प्रायः जसो सबै कम्पनीहरुको चुक्ता पूजी २ करोड रुपैयाँभन्दा बढी रहेको छ । त्यसैले, तोकिएको अवधिमा सबै ब्रोकरहरुले निर्धारित चुक्तापुँजी पूँजी पुर्याउँछन् ।
कार्यक्षेत्र विस्तार गरी मार्जिन लेन्डिङ, लगानीकर्ता प्रशिक्षण तथा परामर्श सेवा, लगानी व्यवस्थापन सेवा र ब्रोकर डिलरसिपको काम गर्न दिनुपर्ने लगायतका माग राख्दै आउनुभएको थियो, तपाईहरुको माग पुरा नहुने नै जस्तो देखियो नि होइन ?
पूँजी पनि बढाउनु पर्दछ र बढाईएको पूँजीको प्रयोग हुनेगरि हाम्रो कामको दयारा पनि बढाईनु पर्दछ भनेर हामी आफैँले मागेका थियौँ । धितोपत्र बोर्डले ब्यवसायीहरुको न्यूनतम् चुक्ता पूँजी २० लाख रुपैयाँबाट बढाएर २ करोड रुपैयाँ हुनुपर्ने व्यवस्था गरेको छ । पूँजीको बृद्धिसँगै हाम्रो कार्यक्षेत्र विस्तार गरी ब्रोकर डिलर, मार्जिन लेन्डिङ, लगानीकर्ता प्रशिक्षण तथा परामर्श सेवा, लगानी व्यवस्थापन सेवा आदीे काम गर्न दिनुपर्ने लगायतका बिषयमा सम्बन्धित निकायहरुको ध्यानाकषर्ण गरि राखेकाछौँ । माग पुरा हुन्छ कि हुँदैन भन्ने सन्दर्भमा हामीलाई भन्दा पनि सम्बन्धित निकायलाई प्रश्न गर्दा राम्रो होला । हामीले हाम्रो माग राखेका छौँ, यस बिषयमा के गर्ने भनि सम्बन्धित निकायहरुले काम गर्दै होलान् ।
माग राखेका छौँ मात्रै भनेर त माग पुरा नहोला नि ?
हामीले भनेका बिषयहरु हाम्रो माग मात्रै नभएर समग्र पूँजी बजारको बिकास गर्ने बिषयहरु हुन् । हाम्रो कार्यक्षेत्रको विस्तारले एकिकृत तथा गुणस्तरीय सेवाको प्रत्याभुती गर्दछ । संस्थागत संरचनाहरुको स्थापनाले बजारको जोखिम ब्यवस्थापन तथा न्यूनीकरण गर्न सहयोग गर्दछन् । यस्ता विषयलाई हाम्रा मागका रुपमा मात्र हेरिनु हुँदैन । तथापि हामी चुपचाप बसेका छैनौँ । हामीले आफ्नो तरिकाले सम्बन्धित निकायसंग छलफल गरिरहेका छौँ । उहाँहरुको ध्यानाकर्षण गराई रहेका छौँ । फेरी माग पुरा भएन भन्दै हुलहुज्जत वा नाराजुलुस गर्ने कुरा पनि भएन । पूँजी बजार हेर्ने निकायहरुले यी बिषयहरुको सम्बोधन गर्नुपर्छ भन्ने हाम्रो भनाई हो ।
उसो भए, माग पुरा हुने सम्भावना कम छ होइन त ?
होइन । समयको मात्र कुरा होला जस्तो मलाई लाग्छ । पूँजीबजारलाई चलायमान र सुदृढ गरि बिकास र विस्तार गर्नका लागि यी बिषयहरु अत्यवाश्क हुन् । त्यसैले यी बिषयहरुको सम्बोधन हुनेमा हामी विस्वस्त छौँ ।
ब्रोकर कमिशनमा भ्याटको विषयले कारोबार बन्द हुनेसम्मको अवस्था आयो । भ्याटको विषयमा हुनुपर्ने खास कुरा के हो ?
पूँजी बजार वित्तीय क्षेत्रभित्रको अंग हो । वित्तीय सेवामा भ्याट छुट छ । हामीले ब्रोकर कमिशनमा भ्याट लगाउन हुँदैन, यसले बजारलाई नकारात्मक प्रभाव पार्दछ भनिरहेका छौँ । तर, यस बिषयमा स्पष्टता ल्याउनु पर्ने नियमक तथा राज्यको नीति निर्माण तहमा बस्नेहरुले हो । हामी नियमक तथा राज्यले दिएको निर्देशनको पालना गर्दछौँ । अप्रत्यासित रुपमा हामीलाई तिमीहरु भ्याट उठाउ भनेपछि बिधि, प्रकृया नभएको र नीतिगत अन्यौलता भएकाले प्राविधिक रुपमा बजार बन्द भएको हो ।
ब्रोकर कम्पनीहरुको वर्तमान चुनौतीहरु केके छन् ?
पहिलो कुरा त हाम्रो व्यवसायहरुको दायरा कम छ । हामी ब्रोकर कम्पनीहरुले साँघुरो घेरामा अल्झिनुपर्ने अवस्था छ । यसका लागि आवश्यक नीति निर्माण हुन सकेको छैन । हामी ग्राहकको सेयर खरिद गर्ने र त्यसको राफसाफ गराउने परिधिभित्र मात्रै खुम्चिनु परेको छ । यो नै ब्रोकर कम्पनीहरुको मूख्य चुनौती हो ।
बजार जुन गतिमा विकास र विस्तार हुनुपथ्र्यो त्यो हुन सकेको छैन भनिन्छ । यसमा कसको कमजोरी देख्नु हुन्छ ?
नेपालको पूँजी बजार जुन गतिमा विकास र विस्तार हुनु पर्ने हो त्यो गतिमा हुन सकेको छैन । यसलाई कसैले नकार्न सक्दैन । तर मुलुकको पूँजी बजारको राम्रो विकास र विस्तार हुन नसक्नुमा बिगतका कमि कमजोरीको दोषारोपण गर्नुभन्दा स्पष्ट नीतिगत ब्यवस्था सहित सम्बद्ध पक्षहरुले सहकार्य गर्दै अगाढी बढ्नु पर्दछ । बजारको विकास र विस्तार गर्न स्पष्ट नीति नियमहरु हुनुपर्छ । बजारमा बास्तविक क्षेत्रको प्रवेश गराईनुपर्दछ । कारोबारका औजारहरु थप गरिनुपर्दछ । बजारमा संस्थागत लगानी कम छ, यसलाई बढाउनेतर्फ ध्यान दिनुपर्छ । साथमा व्यवसायीहरुको कार्यक्षेत्र बिस्तार गरिनु पनि उत्तिकै आवश्यक रहेको छ ।
पूँजी बजारको सकरात्मक विकास र विस्तार गर्न धितोपत्र बोर्डले कस्तो नीति ल्याउन आवश्यक ठान्नुहुन्छ ?
पूँजी बजार भनेको ब्रोकरहरुको मात्रै कुरा होइन । पूँजी बजारको विकासका लागि कतिपय धेरै राम्रा कामहरु पनि सेबोनले गर्दै आएको छ । दोस्रो बजारको विकास र विस्तार गर्न प्राथमिक बजार राम्रो हुनुपर्छ । प्रँथमिक बजारमा प्राप्त सेयरहरुको कारोबार सहज तरिकाले गराउने काम दोस्रो बजारको हो । त्यसैले, अनलाईन कारोबार प्रणाली मार्फत दोस्रो बजारको पहुँच बढाउनु जरुरी छ । त्यस्तै, जोखिम न्यूनीकरण प्रणालीको विकास गर्दै लगानीकर्ताहरु लगानी ब्यवस्थापनका लागि प्रशस्त कारोबार औजारहरुको ब्यवस्था गरिनुपर्दछ । व्यवसायीहरुले सुरक्षित तरिकाले ब्यवसाय गर्नका लागि स्पष्ट र ब्यवहारिक नियम कानूनहरु आवश्यक पर्दछन् । हाम्रो सेयर बजारमा यी बिषयहरुको कमी छ, जसलाई धितोपत्र बोर्डले ध्यान दिनु आवश्यक छ ।
नेपालका ब्रोकर कम्पनीहरु र विदेशी ब्रोकर कम्पनीहरुबीच कत्तिको भिन्नता देख्नुभएको छ ?
नेपालको ब्रोकर कम्पनीहरु र अन्य मुलुकका ब्रोकर कम्पनीहरुबीच तुलना नै गर्न मिल्दैन । बाहिरी मुलुकका ब्रोकरहरु धेरै प्रोफेशनल छन् । उनीहरु कामको दायरा फाराकिलो छ । मान्छेलाई कामको दायराले नै प्रोफेशनल बनाउने हो । हाम्रो नेपालमा पनि ब्यक्तिगत रुपमा यस क्षेत्रमा लागेका ब्यक्तिहरु योग्य, इमान्दार र क्षमतावान् नै छन् । तर, संस्थागत रुपमा यस क्षेत्रको दायरा संकुचनले गर्दा चाहे अनुसारको क्षमता प्रयोग गर्न सकिएको छैन । यस क्षेत्रमा कामको दायरा बढेपछि मात्र विदेशी ब्रोकर कम्पनीहरुसँग तुलनायोग्य हुनेछ ।
धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका २०७४ लागू भएपछि यसले पूँजीबजारमा कस्तो प्रभाव परेको छ ?
धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका २०७४ लागू भएपछि धेरै मान्छेको हातमा सेयर पुगेको छ । यो राम्रो कुरा हो । तर, बास्तविक ब्यक्तिहरुको पहिचान गर्नका लागि बिधि र प्रकृयामा कडाई गरिनुपर्दछ । धेरै ब्यक्तिहरुमा सेयर बाँडफाट हुँदा सेयरको आपूर्तिमा कमि आई दोस्रो बजारमा अनावश्यक रुपमा मूल्य बढ्न सक्ने जोखिम आउन सक्दछ ।
तपाई ब्रोकर एशोसियसनको अध्यक्ष पनि हुनुहुन्छ, एशोसियसनको तर्फबाट के भन्न चाहानुहुन्छ ?
अनलाईन कारोबारसहितको प्रविधि भित्र्याउन नसक्दा नेपालका ब्रोकर कम्पनीहरुमा धेरै व्यवसायिक जोखिमहरु छन् । अनलाईन कारोबार प्रणालीले यस्ता कयौँ जोखिमहरुलाई कम गर्न सक्छ । त्यसैले, छिटै नै यसको विकास हुनुपर्छ । साथमा, पुँजी बजारसम्बन्धी नीति नियमहरु प्रष्ट हुनुपदर्छ । सेयरको दोस्रो बजारलाई समेत चलायमान बनाउन अक्सन मार्केट तथा राफसाफ प्रत्याभुती कोष जस्ता आवश्यक पूर्वाधारहरु स्थापना हुन नसकेको अवस्था छ । यी पूर्वाधारहरुको स्थापना गरिपर्छ । यसबाहेक, सेयर ब्रोकर कम्पनीहरुको कार्यक्षेत्र विस्तार हुनु पनि अत्यावश्यक छ । कार्य क्षेत्र विस्तार हुँदा हामीले दिने सेवाले समग्र पूँजी बजारमा नै सकरात्मक प्रभाव पर्छ । त्यस्तै, असान्दर्भिक नीति नियमहरुलाई समयसापक्ष रुपमा परिमार्जन गर्दै लैजानुपर्ने आवश्यकता पनि रहेको छ ।




