२०७४ आश्विन २३ गते

अब नोट नेपालमै छापिने, हेटौँडामा मेसिन राख्ने तयारी

अब नेपालमै नोट छापिने भएको छ । सरकारले हेटौँडामा मेसिन राखेर नोट छाप्ने तयारी गरेको छ । हेटौँडा उपमहानगरपालिका वडा नं. १४ मयुरधापमा बन्न लागेको नयाँ औद्योगिक क्षेत्रमा नयाँ नोट छाप्ने छापाखाना स्थापना गर्न लागिएको हो । छापाखाना स्थापनाका लागि १५० रोपनी जग्गा छनौट गरी सम्झौता प्रक्रिया अघि बढाइएको स्रोतको भनाई छ । स्रोतका अनुसार, उक्त छापाखानासम्बन्धी विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) जार्सा कन्सल्ट्याण्टले तयार गरिरहेका छ । यो छापाखानामा नोटमात्र नभएर विभिन्न बैंकका चेक बुकहरु र हुलाक टिकटहरु समेत छापिने छ ।

नोट छाप्ने खर्च जोगिने
अहिले नेपालका नोटहरु चीन, जर्मनी, स्वीडेन, बेलायत, नेदरल्याण्ड, क्यानडा, फ्रान्स, रसिया, इन्डोनेसीया लगायतका मुलुकहरुमा छापिने गरेका छन् । यसरी विदेशमा नोट छपाई गर्दा थुप्रै खर्च हुने गरेकोमा अब उक्त खर्च बचत हुने भएको छ । हाल एक रुपैयाँको सिक्का छाप्नको लागि डेढ रुपैयाँ भन्दा बढी खर्च हुन्छ । तर यसको तुलनामा दुई रुपैयाँको नोट छाप्न भने केहि सस्तो पर्ने बताईएको छ । त्यस्तै नोट छाप्दा सानो नोटको भन्दा ठुलो नोटको लागत बढी पर्छ । ठुलो नोटमा ‘सेक्युरिटी फिचर्स’ बढी हुने गरेका कारण यसलाई छाप्नको लागि लागत बढी लाग्ने स्रोतको भनाई छ ।

सन् २०१३ पछि राष्ट्र बैंकले सन् २०१६ मा मात्रै नयाँ नोट छापेको थियो । राष्ट्र बैंकका अनुसार, एक हजार रुपैयाँको एउटा नोट छाप्न १ रुपैयाँ ९० पैसा खर्च भएको थियो भने पाँच सयको नोट छाप्न २ रुपैयाँ ९२ पैसा खर्च भएको थियो । एक सय रुपैयाँको नोट छाप्न २ रुपैयाँ १५ पैसा लागेको थियो भने ५० रुपैयाँको नोट छाप्न १ रुपैयाँ ४८ पैसा खर्च भएको थियो । त्यस्तै, २० रुपैयाँ दरको एउटा नोट छाप्न १ रुपैयाँ ११ पैसा खर्च भएको थियो ।