२०७४ आश्विन १९ गते

सेयरबाट करोडपति भएका १० धनाढ्यहरु

छोटो समयमा अधि सम्पत्ति कमाउने रहर सबैलाई हुन्छ । यसका लागि हामी छोटो समयमा धेरै प्रतिफल पाउने अपेक्षासहित राम्रो कम्पनी खोजेर लगानी गर्छौँ । यद्यपि, सबैको लगानीको प्रतिफल सोचेजस्तो हुँदैन । कसैको लगानी गर्ने तरिका मिल्दैन त कसैको समय । अनि कसैले लगानी गरेको कम्पनी नै गलत पर्न सक्छ । यहाँ यस्ता १० व्यक्तिहरुको बारेमा कुरा गरिँदैछ, जो सेयर बजारमा लगानी गरेरै अरबौँको मालिक भएका छन् ।

१. वारेन बफेट
वारेन बफेटको लगानी क्षमतालाई आजसम्म कसैले टक्कर दिन सकेको छैन । बर्कशाएर हाथावे नामक कम्पनीमा सीईओ रहेको बफेटको कुल सम्पत्ति ६५.७ विलियन अमेरिकी डलर बराबर रहेको छ । उनले केचअफ बनाउने एचजे हेन्ज खरिद गर्नका लागि थ्रीजी क्यापिटलसँगको सहकार्यमा २३.२ मिलियन अमेरिकी डलर लगानी गरेका छन् । त्यस्तै, एक्सनमोबिलमा उनको ४ विलियन अमेरिकी डलर बराबरको लगानी रहेको छ भने नेभेडाको एनभी इनर्जीमा उनको ५.६ विलियन अमेरिकी डलर लगानी रहेको छ । यी उनले उनले हालसालै गरेका लगानीहरु हुन् । यसबाहेक पनि थुप्रै कम्पनीमा उनको लगानी छ, जसबाट उनले राम्रो प्रतिफल पाइरहेका छन् । फलतः आज उनी लगानीबाटै धनाढ्य बन्नेहरुमध्येमा पहिलो उदाहरण बनेका छन् । आफूले गरेको लगानीबाट उनले आजसम्म पछुताउनु परेको छैन ।

२. कार्ल इकाह्न
वाल स्ट्रीटका धनाढ्यहरुमध्ये एक कार्ल इकाह्न २३.८ विलियन अमेरिकी डलर बराबरको सम्पत्तिका मालि हुन् । उनले थुप्रै व्यापारिक कम्पनीहरुमा लगानी गरेका छन् । उनले एप्पल कम्पनीमा पनि सेयरको ठूलो हिस्सा खरिद गरेका छन् । अगस्ट २०१३ मा उनले यस विषयमा ट्विट समेत गरेका थिए, जसले ट्विटरको दुनियाँलाई नै हल्लाएको थियो । सोही लगानीले उनलाई धनाढ्यहरुको बीचमा उभ्याएको छ ।

३. जर्ज सोरोस
जर्ज सोरोस पनि वाल स्ट्रीटका धनाढ्य हुन् । उनीसँग २३ विलियन अमेरिकी डलर बराबरको सम्पत्ति छ । एक ताका उनी रातारात एक विलियन अमेरिकी डलर कमाएका कारण खुब चर्चामा आएका थिए । उनी हर्बललाइफ नामक कम्पनीको सबैभन्दा ठूलो लगानीकर्ता हुन् । यसबाहेक, अन्य थुप्रै कम्पनीहरुमा उनको सेयर स्वामित्व रहेको छ ।

४. प्रिन्स अल्वालिद बीन तलाल
प्रिन्स अल्वालिदसँग २१.२ विलियन अमेरिकी डलर बराबरको सम्पत्ति छ, जुन उनले थुप्रै नीजि र तथा पब्लिक कम्पनीहरुमा लगानी गरेर कमाएका हुन् । उनले आफ्नो सबै लगानीहरु किङडम होल्डिङ कम्पनी नामक आफ्नै कम्पनीमार्फत लगाउँछन् । यो कम्पनीको सेयर न्यूज कर्पोरेसन, सिटी ग्रुप, ट्विटर, चिनियाँ ईकमर्स कम्पनी जेडी डट कम लगायत थुप्रै कम्पनीमा रहेको छ । तलालले विश्वव्यापी रुपमा लगानी गरेर अरबौँ सम्पत्ति आर्जन गरेका छन् ।

५. रोनाल्ड पेरेलमान
रोनाल्ड पेरेलमान पनि एक सेयर लगानीकर्ता हुन्, जोसँग १४.२ विलियन अमेरिकी डलर बराबरको सम्पत्ति रहेको छ । जति उनको बहुविवाहको बारेमा चर्चा चल्छ, त्यति नै उनको लगानीको बारेमा चल्छ । रेभ्लन, डिलक्स इन्टरटेनमेन्ट, साइन्टिफिक गेम्स, एएम जनरल लगायतका थुप्रै कम्पनीहरुमा उनको लगानी रहेको छ । उनले पहिलो पटक सन् १९७८ मा कोहेन हाटफिल्टमा ठूलो मात्रामा सेयर खरिद गरेका थिए ।

६. एन्ड्रिउ बिल
एन्ड्रिउ बिलसँग ११.३ विलियन अमेरिकी डलर बराबरको सम्पत्ति रहेको छ । घटिरहेको सेयरलाई खरिद गरेर ठूलो मुनाफा हात पार्नेमा कहलिएका व्यक्ति हुन् एन्ड्रिउ । सन् २००९ को वित्तीय संकटको समयमा उनले खरिद गरेकोक बण्डले उनलाई निकै माथि पुर्यायो । सन् १९८० र १९९० को दशकमा उनको लगानी सँधैजसो समाचारको विषय बन्यो ।

७. मिखाइल प्रोखोरोभ
मिखाइल प्रोखोरोभ ११ विलियन अमेरिकी डलर बराबरको सम्पत्तिका मालिक हुन् । उनी एक बैंकर, एथलेट, मिडिया प्लेयर, राजनीतिज्ञ तथा एनबिएका मालिकका रुपमा पनि चिनिन्छन् तर सबैभन्दा बढी स्टक ब्रोकरका रुपमा चिनिन्छन् । थुप्रै वर्षदेखि उनले सेयरमा लगानी गर्दै आएका छन् । सन् २०१३ मा उनले पोलियस गोल्ड इन्टरनेशनल लिमिटेडको ३७.८ प्रतिशत सेयर ३.६ विलियन अमेरिकी डलरमा बेचे र उक्त रकमको प्रायः हिस्सा उरल्काली नामक पोटासियम फर्टिलाइजर म्यानुफ्याक्चररमा लगानी गरेका थिए ।

८. सुलेमान केरिमोभ
पोटासियम फर्टिलाइजर म्यानुफ्याक्चरर उरल्कालीका सबैभन्दा ठूला सेयरधनीको रुपमा चिनिन्छन् सुलेमान केरिमोभ । ६.८ विलियन अमेरिकी डलर बराबरको सम्पत्तिका मालिक उनको सेयर पोलियस गोल्ड र रोसटेलिकममा पनि रहेको छ ।

९. केर नेलसन
तीन विलियन अमेरिकी डलर बराबरको सम्पत्तिका मालिक केर नेलसनसँग प्लाटिनम एसेट मेनेजमेन्टको ५७ प्रतिशत सेयर स्वामित्व रहेको छ । उनी सानै उमेरदेखि सेयर कारोबारमा लागेका थिए । १३ वर्षको उमेरमा केरले पहिलो पटक सेयर खरिद गरेका थिए ।

१०. रिचार्ड चान्डलर
वर्षौँसम्मको आकर्षक लगानीले रिचार्ड चान्डलरलाई २.६ विलियन अमेरिकी डलर बराबरको सम्पत्तिको मालिक बनाइसकेको छ । उनको ९९ मिलियन अमेरिकी डलर बराबरको लगानी होन माइ मेडिकल कर्पोरेसन नामक हस्पिटल ग्रुपमा रहेको छ । यसले उनी ठूलो लगानी गर्न समेत नडराउने लगानीकर्ता रहेको पुष्टि हुन्छ । उक्त ग्रुपको ८० प्रतिशत सेयरका मालिक हुन्, उनी । यसका अलावा, इन्टरवेल कर्पोरेसनमा पनि उनको १९ प्रतिशत सेयर रहेको छ ।