Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Top Banner

मंसिरमा बैंकको ब्याजदर घट्यो, औसत ४ प्रतिशतभन्दा तल

२०८३ कार्तिक ३० गते

बैंकिङ खबर / मंसिर महिनाका लागि वाणिज्य बैंकहरूले निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । नयाँ ब्याजदरअनुसार सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ६ वटाले ब्याजदर घटाएका छन् भने १४ वटाले कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । यसपटक कुनै पनि बैंकले निक्षेपको ब्याजदर बढाएका छैनन् ।

बैंकहरूले मंसिर १ गतेदेखि लागू हुने गरी सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ३.९०६ प्रतिशतमा झरेको छ । कात्तिक महिनामा यस्तो ब्याजदर ४.०१३ प्रतिशत रहेको थियो । एक महिनाको अवधिमा औसत अधिकतम ब्याजदर ०.१०७ प्रतिशत विन्दुले घटेको हो ।

त्यस्तै, संस्थागत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर पनि घटेको छ । कात्तिकमा ३.००३ प्रतिशत रहेको यस्तो ब्याजदर मंसिरका लागि २.९९०५ प्रतिशत कायम भएको छ ।

ब्याजदर घटाउने बैंकमध्ये माछापुच्छ्रे बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर सबैभन्दा धेरै घटाएको छ । बैंकले कात्तिकमा ४.५० प्रतिशत रहेको ब्याजदर एक प्रतिशत विन्दुले घटाएर ३.५० प्रतिशतमा झारेको हो ।

त्यस्तै, कृषि विकास बैंकले ०.५० प्रतिशत विन्दुले घटाएर ३.६५ प्रतिशत कायम गरेको छ । एनएमबी बैंकले व्यक्तिगत निक्षेपतर्फ ०.२५ प्रतिशत विन्दुले घटाएर ४.२५ प्रतिशत र संस्थागत निक्षेपतर्फ पनि सोही अनुपातमा घटाएर ३.२५ प्रतिशत कायम गरेको छ ।

लक्ष्मी सनराइज बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ०.२५ प्रतिशत विन्दुले घटाएर ३.७५ प्रतिशत कायम गरेको छ । कुमारी बैंकले ०.०९ प्रतिशत विन्दुले घटाएर ३.६१ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ०.०५ प्रतिशत विन्दुले घटाएर ३.६५ प्रतिशत कायम गरेका छन् ।

मंसिर महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ब्याजदर दिने बैंकमा सानिमा बैंक रहेको छ । बैंकले अधिकतम ४.५० प्रतिशत ब्याजदरलाई यथावत राखेको छ । त्यसपछि एनएमबी र प्रभु बैंकले ४.२५ प्रतिशत तथा नेपाल बैंकले ४.१५ प्रतिशत ब्याजदर दिने भएका छन् ।

त्यस्तै, हिमालयन बैंक, एनआईसी एशिया बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल एसबीआई बैंक, प्राइम कमर्सियल बैंक र ग्लोबल आइएमई बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ४ प्रतिशत ब्याजदर कायम गरेका छन् ।

संस्थागत मुद्दती निक्षेपतर्फ पनि सानिमा बैंकले सबैभन्दा बढी ३.५१ प्रतिशत ब्याजदर कायम गरेको छ । नेपाल बैंकले ३.५० प्रतिशत तथा एभरेष्ट बैंक, लक्ष्मी सनराइज बैंक, हिमालयन बैंक र एनएमबी बैंकले ३.२५ प्रतिशत ब्याजदर दिने भएका छन् ।

बैंकहरूको निक्षेप ब्याजदर निरन्तर घट्नुले बैंकिङ प्रणालीमा निक्षेप संकलनका लागि बैंकहरूबीच उच्च ब्याजदरको प्रतिस्पर्धा नरहेको संकेत गर्छ । व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर नै ४ प्रतिशतभन्दा तल झर्नुले निक्षेपकर्ताले बैंकमा रकम राख्दा प्राप्त गर्ने प्रतिफलसमेत घट्दै गएको देखाउँछ ।

Ad