
बैंकिङ खबर / चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपालको बाह्य क्षेत्रका प्रमुख सूचकमा उल्लेख्य सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह र वस्तु निर्यातमा उल्लेख्य वृद्धि भएको छ भने बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालनमा भने सामान्य संकुचन आएको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको ‘चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनाको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन’ अनुसार साउनमा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मुद्रास्फीति ५.९६ प्रतिशत रहेको छ ।
विदेशी मुद्रा सञ्चिति ३९ खर्ब ४६ अर्ब
समीक्षा अवधिको अन्त्यमा कुल विदेशी विनिमय सञ्चिति ३९ खर्ब ४६ अर्ब २३ करोड रुपैयाँ पुगेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २५ अर्ब ८४ करोड रहेको राष्ट्र बैंकले जनाएको छ ।
विद्यमान विदेशी विनिमय सञ्चितिले १८.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने देखिएको छ। त्यस्तै, चालु खाता ९४ अर्ब ५९ करोड रुपैयाँ र शोधनान्तर स्थिति ९० अर्ब ३४ करोड रुपैयाँ बचतमा रहेको छ ।
रेमिट्यान्स २१.२ प्रतिशतले बढ्यो
साउनमा रेमिट्यान्स आप्रवाह नेपाली रुपैयाँमा २१.२ प्रतिशतले र अमेरिकी डलरमा १०.२ प्रतिशतले बढेको छ। समीक्षा अवधिमा नेपाल भित्रिएको कुल रेमिट्यान्स २ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा पनि रेमिट्यान्स आप्रवाह बढेको थियो। यस वर्ष भने वृद्धि दर नेपाली रुपैयाँमा थप बलियो देखिएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।
निर्यात ६१.७ प्रतिशतले बढ्दा आयात ३१ प्रतिशतले उक्लियो
बाह्य व्यापारतर्फ साउनमा कुल वस्तु निर्यात ६१.७ प्रतिशतले बढेर ३८ अर्ब ७० करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा निर्यात ९५.७ प्रतिशतले बढेको थियो ।
यस्तै, कुल वस्तु आयात ३१ प्रतिशतले बढेर १ खर्ब ८७ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ। आयात र निर्यात दुवैमा वृद्धि हुँदा कुल वस्तु व्यापार घाटा २४.९ प्रतिशतले बढेर १ खर्ब ४८ अर्ब ७४ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ ।
सरकारको खर्च ४१ अर्ब, राजस्व ९२ अर्ब
सरकारी वित्ततर्फ समीक्षा अवधिमा नेपाल सरकारको कुल खर्च ४१ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ। यस अवधिमा सरकारको राजस्व परिचालन ९२ अर्ब २३ करोड रुपैयाँ रहेको छ ।
यता, विस्तृत मुद्राप्रदाय समीक्षा अवधिमा ०.४ प्रतिशतले घटेको छ। वार्षिक बिन्दुगत आधारमा भने विस्तृत मुद्राप्रदाय १३.८ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ ।
निक्षेप ०.३ प्रतिशत घट्दा कर्जा ०.४ प्रतिशत बढ्यो
बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन साउनमा ०.३ प्रतिशतले घटेको छ। यसको विपरीत निजी क्षेत्रमा प्रवाहित कर्जा ०.४ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा भने बैंक तथा वित्तीय संस्थाको निक्षेप १४.५ प्रतिशतले र निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७ प्रतिशतले बढेको छ ।
अन्तरबैंक ब्याजदर २.७५ प्रतिशत
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबीचको भारित औसत अन्तरबैंक दर २.७५ प्रतिशत रहेको छ। वाणिज्य बैंकहरूको भारित औसत निक्षेप ब्याजदर ३.१५ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ६.४८ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
समग्रमा, चालु आर्थिक वर्षको पहिलो महिनामा रेमिट्यान्स, निर्यात, विदेशी विनिमय सञ्चिति तथा बाह्य क्षेत्रका अन्य सूचकमा सुधार देखिँदा बैंकिङ प्रणालीको निक्षेप परिचालनमा भने सामान्य गिरावट आएको छ ।