
बैंकिङ खबर / कामना सेवा विकास बैंक लिमिटेडका सेयरधनीले १५ प्रतिशत नगद लाभांश पाउने भएका छन्। बैंकको २०औँ वार्षिक साधारणसभाले चुक्ता पुँजीको १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
काठमाडौंमा भदौ ३१ गते सम्पन्न साधारणसभाले प्राथमिकताप्राप्त सेयरधनीका लागि समेत लाभांशसम्बन्धी प्रस्ताव अनुमोदन गरेको छ। प्राथमिक सेयर बाँडफाँट भएको मितिदेखि २०८३ असार मसान्तसम्मको अवधिका लागि अनुपातिक रूपमा ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको बैंकले जनाएको छ ।
साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक वित्तीय विवरण पनि अनुमोदन गरेको छ। सभाबाट वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा नाफा–नोक्सान बाँडफाँटसम्बन्धी विवरणलगायत वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू सर्वसम्मतिले पारित भएका छन् ।
यसैगरी, सभाले ए.बी.ए.एस.एम एन्ड एसोसिएट्सलाई बैंकको बाह्य लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
सभामा सेयरधनीहरूले बैंकको वित्तीय अवस्था तथा आगामी योजनासम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए। ती जिज्ञासाको जवाफ सञ्चालक समितिका अध्यक्ष सुदीप आचार्य र प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले दिएका थिए ।
जवाफका क्रममा प्रमुख कार्यकारी अधिकृत थकालीले बैंक निरन्तर रूपमा लाभांश वितरण गर्न सफल भएको उल्लेख गर्दै आगामी दिनमा संस्थालाई थप दिगो र सबल बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।