
बैंकिङ खबर / सहकारी संस्थाले ऋण लगानी गर्दा लागू हुने सन्दर्भ ब्याजदर घटाइएको छ। संघीय सहकारी रजिष्ट्रार कार्यालयले आगामी असोज १ गतेदेखि सन्दर्भ ब्याजदर १३ प्रतिशत कायम गर्ने निर्णय गरेको हो ।
सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिको सिफारिसका आधारमा नयाँ दर तोकिएको हो। लामो समयदेखि पुनरावलोकन हुन नसकेको सन्दर्भ ब्याजदरलाई पछिल्लो निर्णयमार्फत घटाइएको हो ।
यसअघि सहकारीको सन्दर्भ ब्याजदर १६ प्रतिशत थियो। २०७८ साल फागुनमा गरिएको पुनरावलोकनबाट तत्कालीन १४.७५ प्रतिशतको दर बढाएर १६ प्रतिशत कायम गरिएको थियो। त्यसयता उक्त दरमा पुनरावलोकन भएको थिएन । नयाँ व्यवस्था लागू भएपछि सहकारी संस्थाले ऋण लगानी गर्दा अधिकतम १३ प्रतिशतको सन्दर्भ ब्याजदरलाई आधार मान्नुपर्नेछ ।
सन्दर्भ ब्याजदर के हो?
सहकारी संस्थाले बचत तथा ऋणको कारोबार गर्दा लागू हुने ब्याजदरलाई व्यवस्थित गर्न सन्दर्भ ब्याजदर निर्धारण गरिन्छ। सहकारी ऐन, २०७४ को दफा ५१ मा रजिष्ट्रारको संयोजकत्वमा गठित समितिको सिफारिसका आधारमा सन्दर्भ ब्याजदर निर्धारण गर्ने व्यवस्था छ ।
सन्दर्भ ब्याजदर सहकारी संस्थाका लागि निर्देशक ब्याजदरका रूपमा रहने कानुनी व्यवस्था छ। साथै, सहकारी संस्थाले बचतमा दिने ब्याजदर र ऋणमा लिने ब्याजदरबीचको अन्तर ६ प्रतिशतभन्दा बढी राख्न नपाउने व्यवस्था ऐनले गरेको छ ।
ब्याजदर निर्धारण गर्दा के–के हेरिन्छ ?
सहकारी नियमावली, २०७५ को नियम २३ ले सन्दर्भ ब्याजदर निर्धारणका आधार तोकेको छ। यसअनुसार सहकारी संस्था, सहकारी बैंक तथा ‘क’ वर्गका वाणिज्य बैंकको औसत ब्याजदरलाई आधार लिइन्छ ।
यसका अतिरिक्त नेपाल राष्ट्र बैंकका अध्ययन तथा प्रतिवेदन र सम्बन्धित संघसंस्थाबाट प्राप्त सुझावलाई समेत ब्याजदर निर्धारणको आधार बनाउने व्यवस्था छ ।
नियमावलीअनुसार बचतको भारित औसत ब्याजदरभन्दा सन्दर्भ दर बढी र ऋणको भारित औसत ब्याजदरभन्दा सामान्यतया कम हुने गरी दर निर्धारण गर्नुपर्ने प्रावधान छ। आवश्यकताअनुसार सन्दर्भ ब्याजदर पुनरावलोकन गर्न सकिने व्यवस्था पनि नियमावलीमा छ ।