
बैंकिङ खबर / महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रियस्तरमा मान्यता प्राप्त गुणस्तर व्यवस्थापनसम्बन्धी ISO 9001:2015 बाट लगातार तेस्रो पटक प्रमाणित भएको छ। बैंकले अन्तर्राष्ट्रिय मापदण्डअनुसार गुणस्तर व्यवस्थापन प्रणाली कायम गर्दै ग्राहकलाई गुणस्तरीय वित्तीय सेवा प्रदान गरेको आधारमा उक्त प्रमाणपत्र प्राप्त गरेको हो ।
बैंकका अनुसार २०८१ साल श्रावण ३२ गते (सन् २०२४ अगस्ट १६) देखि लागू हुने गरी पहिलोपटक प्रमाणित भएको बैंक २०८२ साल भदौमा सम्पन्न पहिलो सर्भिलियन्स अडिटबाट समेत पुनः प्रमाणित भएको थियो । त्यसपछि २०८३ साल श्रावणमा सम्पन्न तेस्रो सर्भिलियन्स अडिटबाट बैंक पुनः प्रमाणित भएको हो। यो प्रमाणीकरण २०८३ साल श्रावण ३२ गते (सन् २०२६ अगस्ट १६) देखि लागू भएको बैंकले जनाएको छ ।
बैंकका अनुसार यो प्रमाणपत्र “Provision of Development Banking Activities” अन्तर्गत प्रदान गरिएको हो। यस्तो अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र प्राप्त गर्ने विकास बैंकहरूमध्ये महालक्ष्मी विकास बैंक अग्रणी रहेको दाबी गरिएको छ।
ISO प्रमाणीकरणका लागि बैंकको नीति, नियम, कार्यविधि, अभिलेखीकरण, सेवा प्रवाह तथा समग्र व्यवस्थापन प्रणालीको विस्तृत मूल्यांकन र अडिट गरिएको थियो । अन्तर्राष्ट्रिय मापदण्डअनुसारको गुणस्तर व्यवस्थापन प्रणाली कायम गर्नुका साथै ग्राहक सन्तुष्टि, सेवा गुणस्तर र संस्थागत कार्यप्रणालीमा निरन्तर सुधार गर्न सक्ने संस्थालाई यस्तो प्रमाणपत्र प्रदान गरिन्छ ।
गुणस्तरीय वित्तीय सेवा र ग्राहककेन्द्रित सेवा विस्तारमा जोड दिँदै आएको बैंकले पछिल्लो समय काठमाडौंको ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हब समेत सञ्चालनमा ल्याएको छ। डिजिटल प्रविधि र आधुनिक बैंकिङ सेवाको संयोजनमार्फत ग्राहकलाई थप सहज तथा सुविधाजनक सेवा उपलब्ध गराउने उद्देश्यले डिजिटल हब सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।