बैंकिङ खबर / जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि ४ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गरेको हो । सहयोग रकमको चेक संस्थाका अध्यक्ष डा. मानबहादुर बीके तथा सञ्चालकद्वय यज्ञविक्रम शाही र गुरुराज बरालले नेपाल सरकार महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई हस्तान्तरण गरेका हुन् ।
बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले संस्थाले उक्त आर्थिक सहयोग गरेको जनाएको छ । संस्थाका अध्यक्ष डा. मानबहादुर बीकेले विपद्को कठिन समयमा प्रभावित नागरिकको राहत तथा उद्धारका लागि राज्यले सञ्चालन गरिरहेको अभियानमा संस्थाको तर्फबाट सहयोग पु¥याइएको बताए ।
जनउत्थानले आफ्ना कर्मचारीको एक दिन बराबरको तलब तथा भत्ता उपलब्ध गराउने निर्णयसमेत गरेको छ । साथै, संस्थासँग आबद्ध सदस्य तथा उनीहरूका परिवार बाढीबाट प्रभावित भए/नभएको पहिचान गर्न आवश्यक तथ्यांक संकलन गर्ने र प्रभावित व्यक्तिको खोज तथा उद्धारमा सहजीकरण गर्ने व्यवस्था मिलाइएको संस्थाले जनाएको छ ।
त्यसैगरी, स्वेच्छिक रूपमा राहत रकम वा जिन्सी सहयोग गर्न चाहने सदस्यबाट सम्बन्धित शाखामार्फत सहयोग संकलन गरी प्रभावित क्षेत्रमा पु¥याउने व्यवस्था पनि संस्थाले गरेको छ ।बाढीमा परी ज्यान गुमाउनेहरूप्रति संस्थाले श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।संस्थाका कायममुकायम प्रमुख कार्यकारी अधिकृत इन्द्र बरालीका अनुसार जनउत्थानले स्थापना कालदेखि नै विपद् व्यवस्थापन तथा सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आएको छ । विगतमा पनि विभिन्न विपद्का समयमा आर्थिक तथा जिन्सी राहत सहयोग प्रदान गर्दै आएको संस्थाले आगामी दिनमा समेत यस्ता सामाजिक तथा मानवीय कार्यलाई निरन्तरता दिने जनाएको छ ।
वि.सं. २०६७ सालमा स्थापना भएको जनउत्थान सामुदायिक लघुवित्तले वित्तीय सेवाबाट वञ्चित तथा पछाडि परेका समुदायलाई लक्षित गर्दै सामुदायिक वित्तीय सेवा प्रदान गर्दै आएको छ । जलवायु परिवर्तनलाई लक्षित गर्दै संस्थाले स्थापनाकालदेखि नै हरित लगानी (Green Lending) लाई प्राथमिकता दिँदै आएको जनाएको छ ।
हाल संस्थाले तराईका पर्सादेखि कञ्चनपुरसम्मका ११ जिल्ला तथा ती जिल्लासँग जोडिएका पहाडी क्षेत्रका ८ जिल्ला गरी १९ जिल्लामा ३९ शाखा कार्यालयमार्फत करिब ३७ हजार सदस्यलाई सामुदायिक वित्तीय सेवा प्रदान गर्दै आएको छ ।