Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
आजको विशेष

रसुवा बाढीको बैंकिङ क्षेत्रमा गम्भीर असर, ९ शाखा प्रभावित, २४ कर्मचारी सम्पर्कविहीन

२०८३ भाद्र ११ गते

बैंकिङ खबर / रसुवाको टिमुरे क्षेत्रमा आएको भोटेकोशीको भीषण बाढीले बैंकिङ क्षेत्रमा समेत ठूलो क्षति पुर्‍याएको छ । बाढीका कारण वाणिज्य बैंकका ९ वटा शाखा पूर्ण रूपमा प्रभावित भएका छन् भने ती शाखामा कार्यरत २४ जना कर्मचारी अझै सम्पर्कमा आउन नसकेको नेपाल बैंकर्स संघले जनाएको छ ।

प्रभावित बैंकहरूमा सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नबिल बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, एनएमबी बैंक, प्रभु बैंक र माछापुच्छ्रे बैंक रहेका छन् । तीमध्ये कतिपय शाखा पूर्ण रूपमा क्षतिग्रस्त वा बगाएको अवस्थामा पुगेका छन् ।

बाढीका कारण शाखा भवनसँगै बैंकिङ उपकरण, कागजात, कम्प्युटर, एटीएम तथा अन्य सम्पत्तिमा समेत क्षति पुगेको हुनसक्ने भए पनि सञ्चार तथा सडक सम्पर्क अवरुद्ध हुँदा यकिन विवरण संकलन हुन सकेको छैन । बैंकर्स संघले अहिले कर्मचारीको खोज तथा उद्धारलाई पहिलो प्राथमिकतामा राखेको जनाएको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका मात्रै विभिन्न शाखामा कार्यरत ७ जना कर्मचारी अझै सम्पर्कविहीन रहेको बैंकले जनाएको छ । बैंकले उनीहरूको खोजी तथा पहिचानमा सहयोग गर्न सम्बन्धित निकाय र सर्वसाधारणसँग अपिलसमेत गरेको छ ।

यस्तै, बाढीका कारण विद्युत्, टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध हुँदा प्रभावित क्षेत्रमा नियमित बैंकिङ सेवा सञ्चालन गर्न समेत कठिनाइ भएको छ । नबिल बैंकको टिमुरे शाखा पूर्ण रूपमा क्षतिग्रस्त भएकाले अर्को व्यवस्था नभएसम्म सेवा बन्द रहने तथा धुन्चे, बट्टार, गल्छी र गजुरी शाखाको सेवा पनि प्रभावित भएको बैंकले जनाएको छ ।

सञ्चार तथा भौतिक पहुँच सहज भएपछि मात्रै बैंकहरूले शाखागत रूपमा भएको वास्तविक क्षति, नगद तथा बैंकिङ सम्पत्तिको अवस्था र सेवा पुनः सञ्चालनको विस्तृत योजना सार्वजनिक गर्ने देखिएको छ ।