बैंकिङ खबर/ राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालले बाढीपीडितका लागि १ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।
संघले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो ।
२०८३ साल भदौ १० गते बिहान चीनतर्फबाट अचानक आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको संघले जनाएको छ । प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकलाई तत्काल उद्धार तथा आवश्यक राहत सामग्री उपलब्ध गराउन सरकारलाई सहयोग गर्ने उद्देश्यले राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालले राष्ट्रिय वाणिज्य बैंकको ‘रब्बिया नेपाल रिलिफ फन्ड’बाट आम कर्मचारीहरूको तर्फबाट १ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।
संघले बाढीका कारण प्रभावित परिवारलाई आवश्यक खाद्यान्न, स्वास्थ्य सामग्री, अस्थायी आवासलगायत आधारभूत आवश्यकताका राहत सामग्री उपलब्ध गराउन सरकार तथा सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ ।त्यस्तै, बाढीबाट प्रभावित बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय, कर्मचारी तथा कर्मचारीका परिवारलाई आवश्यक राहत, सहयोग तथा पुनःस्थापनामा गम्भीर ध्यान दिन सम्बन्धित बैंकका व्यवस्थापक तथा नेपाल सरकारसमक्ष संघले आग्रह गरेको छ ।
प्राकृतिक विपत्तिमा ज्यान गुमाउनेहरूप्रति संघले श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । घाइतेहरूको यथाशीघ्र उद्धार गरी प्रभावकारी उपचारको व्यवस्था गर्न तथा प्रभावित नागरिकको सुरक्षित पुनःस्थापना र राहत कार्यलाई थप प्रभावकारी बनाउन पनि संघले सरकारसँग आग्रह गरेको छ /संघले विपत्तिका कारण घरबार, सम्पत्ति तथा जीविकोपार्जन गुमाएका पीडित नागरिकप्रति सहानुभूति व्यक्त गर्दै यस्तो दुःखद् घडीमा सबैको साथ, सहयोग र ऐक्यबद्धता आवश्यक रहेको जनाएको छ ।