Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
आजको विशेष

इन्भेष्टमेन्ट मेगा बैंकको बारे बोल्यो राष्ट्र बैंक – भन्यो ‘सबै ठिकठाक छ’

२०८३ श्रावण २८ गते

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर भएको विषयमा नेपाल राष्ट्र बैंकले बैंकको वित्तीय अवस्था सामान्य रहेको जनाएको छ। राष्ट्र बैंकले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त विषयमा आफ्नो जानकारीमा आएको र बैंकको सञ्चालन तथा व्यवस्थापनका सम्बन्धमा नजिकबाट अनुगमन गरिरहेको जनाएको हो। राष्ट्र बैंकका अनुसार बैंकको तरलताको अवस्था तथा वित्तीय सबलताका परिसूचकहरू राष्ट्र बैंकले तोकेको मापदण्डअनुसार सन्तोषजनक रहेका छन्। त्यसैले बैंकको दैनिक कार्य सञ्चालनमा कुनै पनि प्रकारको जटिलता उत्पन्न हुने अवस्था नदेखिएको राष्ट्र बैंकले स्पष्ट पारेको छ। राष्ट्र बैंकले अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थालाई ध्यानमा राख्दै बैंक सञ्चालनको दैनिक अवस्थासहित मुद्दाको प्रकृति, समयावधि र गाम्भीर्यका आधारमा थप छलफल तथा कानुनी राय लिइरहेको जनाएको छ। त्यसपछि प्रचलित कानुनबमोजिम सञ्चालक समिति र उच्च व्यवस्थापन तथा बैंक सञ्चालनका सम्बन्धमा आवश्यक उपाय अवलम्बन गरिने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकको यो स्पष्टीकरणसँगै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नियमित बैंकिङ कारोबारमा तत्काल कुनै असर नपर्ने संकेत देखिएको छ। बैंकका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतविरुद्ध अदालतमा अभियोगपत्र दायर भएको विषय सार्वजनिक भएपछि बैंकको सञ्चालन र वित्तीय अवस्थाबारे चासो बढेको थियो। राष्ट्र बैंकले भने हालसम्म बैंकको तरलता र वित्तीय सबलताका सूचकहरू सन्तोषजनक रहेको भन्दै बैंकिङ कारोबारलाई लिएर तत्काल चिन्ता गर्नुपर्ने अवस्था नरहेको स्पष्ट पारेको हो। राष्ट्र बैंकले आगामी दिनमा अदालतमा विचाराधीन मुद्दाको अवस्था तथा बैंकको सञ्चालन अवस्थालाई समेत ध्यानमा राखेर आवश्यक निर्णय लिने जनाएको छ।