Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
आजको विशेष

विदेशीएका नेपालीको बैंकिङ पहुँच बढ्दै, विदेशी मुद्रामै आइपीओ पनि भर्न पाउने !

२०८३ श्रावण २८ गते

बैंकिङ खबर/ विदेशमा बस्ने नेपालीले अब विदेशी मुद्रामै नेपालको आईपीओमा लगानी गर्न पाउने बाटो खुलेको छ। गैरआवासीय नेपालीहरूको सक्रियतामा स्थापित एनआरएन नेपाल डेभलपमेन्ट फन्डलाई विदेशी मुद्रामै आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएसँगै विदेशमा रहेका नेपालीको नेपालको पुँजी बजारमा प्रत्यक्ष सहभागिताको नयाँ ढोका खुलेको हो। सेबोनको नयाँ व्यवस्थाअनुसार फन्डले जारी पुँजीको ८५ प्रतिशत अर्थात् ८ अर्ब ५० करोड रुपैयाँ बराबरको आईपीओ विदेशी मुद्रामा निष्कासन गर्नेछ। यसको विशेषता लगानी मात्रै विदेशी मुद्रामा गर्न पाउने नभई लगानीबाट प्राप्त प्रतिफलसमेत तोकिएको व्यवस्थाअनुसार विदेशी मुद्रामै फिर्ता लैजान सकिने हुनु हो। यसले विदेशमा रहेका नेपालीलाई डलर, पाउन्ड, युरोलगायतका मुद्रालाई नेपाली रुपैयाँमा परिवर्तन गरेर पुनः लगानी गर्नुपर्ने झन्झट घटाउनेछ।

यो व्यवस्था केवल एउटा फन्डको आईपीओमा लगानी गर्ने अवसर मात्रै होइन, विदेशमा रहेका नेपालीको नेपालको वित्तीय प्रणालीसँगको सम्बन्ध विस्तार गर्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। नेपाल राष्ट्र बैंकका व्यवस्थाअनुसार विदेशमा रहेका नेपालीले निश्चित सर्तमा नेपालमा विदेशी मुद्राको खाता सञ्चालन गर्न सक्छन्। परिवर्त्य विदेशी मुद्राबाट आम्दानी हुने व्यक्ति तथा संस्थाले नेपालमा विदेशी मुद्रा खाता खोल्न सक्ने व्यवस्था छ।

त्यसैगरी, विदेशमा रहँदा आर्जन गरेको विदेशी मुद्रा वा त्यसबाट गरिएको लगानी विदेशमै राख्ने अवस्था पनि निश्चित सर्तसहित स्वीकार गरिएको छ। विदेशबाट नेपाल फर्किएपछि यस्तो खाता वा लगानी कायम राख्ने हो भने सम्बन्धित विवरण नेपाल राष्ट्र बैंकलाई जानकारी गराउनुपर्ने व्यवस्था छ।

विदेशमा रहेका नेपालीका लागि बैंकिङ पहुँच पनि पछिल्लो समय विस्तार हुँदै

विदेशमा रहेका नेपालीका लागि बैंकिङ पहुँच पनि पछिल्लो समय विस्तार हुँदै गएको छ। नेपालमा रहेका बैंक तथा वित्तीय संस्थामार्फत विदेशी मुद्रामा निक्षेप राख्ने, रेमिट्यान्समार्फत रकम पठाउने तथा नियामकीय व्यवस्था पूरा गरी नेपालमा लगानी गर्ने आधार तयार भएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो विवरणले गैरआवासीय नेपाली तथा एनआरएनद्वारा प्रवर्द्धित विदेशस्थित संस्थाले नेपालका बैंकमा विदेशी मुद्रामा निक्षेप राख्न सक्ने व्यवस्था रहेको देखाउँछ।

अब आईपीओमा विदेशी मुद्रामै लगानी गर्न सकिने व्यवस्थाले यसलाई अझ अगाडि बढाउनेछ। अर्थात् विदेशमा कमाएको रकम नेपाल पठाएर नेपाली रुपैयाँमा रूपान्तरण गरी मात्रै सेयर किन्नुपर्ने अवस्थाको विकल्पका रूपमा विदेशी मुद्रामै लगानी गर्ने संरचना विकास हुँदैछ। तर विदेशमा बस्दैमा सबै नेपालीले स्वतः सबै प्रकारका विदेशी लगानी तथा बैंकिङ सुविधा पाउने भन्ने होइन। कुन सुविधा गैरआवासीय नेपाली, गैरआवासीय नेपाली संघका सदस्य वा नेपालमा विदेशी मुद्रा आर्जन गर्ने नेपाली नागरिकलाई लागू हुन्छ भन्ने विषय सम्बन्धित कानुन, राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्था र लगानीको प्रकृतिअनुसार फरक पर्न सक्छ। त्यसैले आईपीओमा विदेशी मुद्राको लगानी र प्रतिफल फिर्ता लैजाने प्रक्रियामा पनि तोकिएका बैंकिङ तथा नियामकीय प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ।

एनआरएन नेपाल डेभलपमेन्ट फन्डले भने आफ्नो पुँजीलाई आगामी पाँच वर्षमा ५० अर्ब रुपैयाँसम्म पुर्‍याउने लक्ष्य राखेको छ। जलविद्युत, सडक, पर्यटन, ऊर्जा, कृषि, उत्पादन, सूचना प्रविधि, स्वास्थ्य, शिक्षा तथा ठूला पूर्वाधारमा लगानी विस्तार गर्ने योजना रहेको फन्डले जनाएको छ। यसले विदेशमा रहेका नेपालीको बचतलाई केवल व्यक्तिगत सम्पत्ति निर्माणमा सीमित नराखी नेपालको पूर्वाधार र उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने सम्भावना बढाएको छ।

यसरी हेर्दा विदेशी मुद्रामै आईपीओ भर्न पाउने व्यवस्था विदेशमा रहेका नेपालीका लागि सेयर बजारमा लगानी गर्ने नयाँ सुविधा मात्रै होइन, उनीहरूको बैंकिङ पहुँच, विदेशी मुद्रा व्यवस्थापन र नेपालको विकासमा प्रत्यक्ष लगानी गर्ने अवसरलाई एउटै संरचनामा जोड्ने प्रयास हो। ठूलो संख्यामा रहेका गैरआवासीय नेपालीको पुँजी नेपाल भित्र्याउन सके यसले विदेशी मुद्रा सञ्चिति, लगानी र पुँजी बजार तीनै क्षेत्रमा सकारात्मक प्रभाव पार्न सक्ने अपेक्षा गरिएको छ।