Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Top Banner

सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाल थुनामा

२०८३ श्रावण २७ गते
Screenshot

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाललाई थुनामा पठाउने आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्य हेमन्त रावलको इजलासले उनीहरूलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो।
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका भट्ट र अग्रवालमाथि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बीमा ऐन, २०७९ तथा धितोपत्रसम्बन्धी कसुरमा समेत अनुसन्धान गरेको थियो। ती मुद्दामा काठमाडौं जिल्ला अदालतले यसअघि उनीहरूलाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले बीमासम्बन्धी कसुरमा अग्रवालसँग २ करोड रुपैयाँ र भट्टसँग १ करोड ५० लाख रुपैयाँ धरौटी माग गरेको थियो। यस्तै, धितोपत्रसम्बन्धी कसुरमा अग्रवालसँग १ करोड ५० लाख रुपैयाँ र भट्टसँग १ करोड रुपैयाँ धरौटी माग गरिएको थियो।
त्यसैगरी, हिमालयन रिइन्स्योरेन्सको शेयर बिक्रीसम्बन्धी मुद्दामा समेत अग्रवालसँग अदालतले २ करोड ३० लाख रुपैयाँ धरौटी माग गरेको थियो।
काठमाडौं जिल्ला अदालतबाट विभिन्न कसुरमा धरौटीमा रिहा हुने आदेश पाए पनि सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा भने विशेष अदालतले उनीहरूलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो।
विशेष अदालतको पछिल्लो आदेशसँगै भट्ट र अग्रवाल सम्पत्ति शुद्धीकरण मुद्दामा थुनामा रहने भएका छन्। उनीहरूमाथि विभिन्न आर्थिक कारोबार तथा त्यससँग सम्बन्धित कसुरबारे अनुसन्धानपछि सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग अघि बढाइएको हो।