काठमाडौँको भृकुटीमण्डपमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६’ सुरु भएको छ। नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा सुरु भएको एक्स्पो साउन ३१ गतेसम्म सञ्चालन हुनेछ। एक्स्पोमा दुईपांग्रे र चारपांग्रेसहित अटोमोबाइल क्षेत्रका ५३ वटा स्टल राखिएका छन्।
दुईपांग्रे सवारीका १८ र चारपांग्रे सवारीका २९ नयाँ ब्रान्ड तथा मोडल प्रदर्शनीमा राखिएका छन्।
चाडपर्वलाई लक्षित गर्दै विभिन्न कम्पनीले नयाँ मोडलमा विशेष छुट, अफर तथा बुकिङ सुविधा उपलब्ध गराएका छन्।
एक्स्पोसँगै सडक सुरक्षा र विद्युतीय सवारीको ब्याट्री व्यवस्थापनलगायत विषयमा छलफल तथा कार्यशाला पनि आयोजना हुँदैछन्।
- ५५ भन्दा बढी ब्रान्डको सहभागिता — चारपाङ्ग्रे, दुईपाङ्ग्रे र व्यावसायिक सवारीका गरी ५५ भन्दा बढी ब्रान्ड एक्स्पोमा सहभागी छन्।
- ४० भन्दा बढी नयाँ मोडल सार्वजनिक — विभिन्न कम्पनीले ४० भन्दा बढी नयाँ गाडी, मोटरसाइकल र स्कुटर पहिलोपटक नेपाली बजारमा सार्वजनिक गरेका छन्।
- ७५ प्रतिशतसम्म ईभीको हिस्सा — एक्स्पोमा विद्युतीय सवारीको प्रतिनिधित्व करिब ७५ प्रतिशत पुगेको छ। हाइब्रिडको हिस्सा १५ प्रतिशत र पेट्रोल–डिजेल सवारीको हिस्सा करिब १० प्रतिशत छ।
- नयाँ चिनियाँ ईभी ब्रान्डको प्रवेश — अर्कफक्स, लिपमोटर र वुलिङसहित नयाँ चिनियाँ ईभी ब्रान्ड नेपाली बजारमा प्रवेश गरेका छन्।
- २० लाखदेखि साढे ३ करोडसम्मका गाडी — एक्स्पोमा करिब २० लाख रुपैयाँका साना सहरी ईभीदेखि साढे ३ करोड रुपैयाँसम्मका प्रिमियम विद्युतीय सवारीसम्म छन्।
- ४०–८० लाखको मूल्य समूहमा चर्को प्रतिस्पर्धा — लिपमोटर, आइकार, फोर्थिङ, महिन्द्रा, एमजी, बीवाईडी, ओमोडा एन्ड जेको तथा टाटालगायत ब्रान्डका मोडल यो मूल्य समूहमा प्रतिस्पर्धामा छन्।
- हाइब्रिड र प्लग–इन हाइब्रिड पनि आकर्षणमा — पूर्ण ईभीमा जान नचाहने तर इन्धन खर्च घटाउन चाहने ग्राहकलाई लक्षित गर्दै हाइब्रिड र प्लग–इन हाइब्रिड मोडल पनि प्रदर्शनमा छन्।
- पेट्रोल–डिजेल अझै बजारबाट बाहिरिएका छैनन् — परम्परागत सवारीको हिस्सा घटे पनि एसयूभी तथा व्यावसायिक सवारीमा पेट्रोल–डिजेल मोडलको उपस्थिति कायम छ।
- दुईपाङ्ग्रेमा पनि ईभीको विस्तार — एथर, याडिया, एनआईयू, अल्ट्राभ्वाइलेट, केरेनलगायत विद्युतीय दुईपाङ्ग्रे ब्रान्डसँगै बजाज, होन्डा, टीभीएस, सुजुकी, रोयल इन्फिल्ड, केटीएम र ट्रायम्फजस्ता स्थापित ब्रान्ड सहभागी छन्।
- २ लाख ३० हजारदेखि १५ लाख रुपैयाँसम्मका दुईपाङ्ग्रे — सामान्य पेट्रोल मोटरसाइकल तथा स्कुटरदेखि प्रिमियम ईभी र स्पोर्ट्स बाइकसम्मका मोडल प्रदर्शनमा छन्।
- व्यावसायिक ईभी पनि प्रदर्शनीमा — कार्गो भ्यान, प्यासेन्जर माइक्रोबस र पिकअप गरी २८ देखि ५५ लाख रुपैयाँसम्मका विद्युतीय व्यावसायिक सवारी छन्।
- ईभीमा नयाँ प्रविधिको प्रतिस्पर्धा — ब्याट्री क्षमता, रेन्ज, एडीएएस, स्मार्ट कनेक्टिभिटी र अन्य सुरक्षा प्रविधिलाई कम्पनीहरूले मुख्य आकर्षण बनाएका छन्।
- ६२ लाखभन्दा बढी सवारीको बजारमा ईभीको विस्तार — नेपालमा दर्ता भएका कुल सवारीसाधन ६२ लाख ४९ हजारभन्दा बढी पुग्दा विद्युतीय सवारीको संख्या ६३ हजार २८० नाघिसकेको छ।
- अटो कर्जामा पनि अफर — एक्स्पोमा विभिन्न कम्पनीले नगद छुट र एक्सचेन्ज बोनससँगै बैंक तथा वित्तीय संस्थाको सहकार्यमा ६.५२ प्रतिशतसम्मको ब्याजदरमा अटो कर्जा उपलब्ध गराइरहेका छन्।

