Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
आजको विशेष

बैंकको ‘लिलामी सूची’मा को को परे चर्चित उद्योगी र व्यवसायिक घराना ?

२०८३ श्रावण १० गते

बैंकिङ खबर / नेपालका बैंक तथा वित्तीय संस्थाहरूले पछिल्लो समय कर्जा असुली प्रक्रिया तीव्र बनाएका छन्। खराब कर्जा बढ्दै गएपछि बैंकहरूले ठूला व्यवसायिक समूह र प्रतिष्ठित कम्पनीहरूसँग सम्बन्धित धितो सम्पत्ति लिलामीमा लैजाने सूचना एकपछि अर्को सार्वजनिक गर्न थालेका छन्। यसले बैंकको कर्जा असुली अभियान अब साना ऋणीमा मात्र सीमित नरही ठूला उद्योगी र कर्पोरेट समूहसम्म पुगेको संकेत गरेको छ।

हालै सार्वजनिक भएका सूचनामध्ये सबैभन्दा बढी चर्चामा रहेको नाम पूर्व सहायक अर्थमन्त्री तथा उद्योगी डा. रूप ज्योतिसँग सम्बन्धित ज्योति समूह हो। प्रभु बैंकले ज्योति समूहसँग सम्बन्धित कम्पनीहरूको धितो सम्पत्ति लिलामीका लागि बोलपत्र आह्वान गर्दै सूचना प्रकाशित गरेको छ।

त्यसैगरी उद्योगी राजेन्द्र शाक्य नेतृत्वको गुण एयरलाइन्स पनि बैंकको लिलामी सूचीमा परेको छ। लामो समयदेखि वित्तीय समस्याबाट गुज्रिरहेको एयरलाइन्ससँग सम्बन्धित धितो सम्पत्ति लिलामीका लागि प्रभु बैंकले सूचना जारी गरेको छ।

प्रभु बैंकले क्याप्टेन रामेश्वर थापासँग सम्बन्धित अन्नपूर्ण ब्रडकास्ट मिडिया प्रालि. को धितो सम्पत्ति लिलामीको सूचना पनि सार्वजनिक गरेको छ। त्यस्तै राजधानी न्यूज पब्लिकेशन प्रालि. पनि बैंकको लिलामी प्रक्रियामा परेको कम्पनीमध्ये एक हो।

यसबाहेक ताल होटल प्रालि., विश्व होटल, ग्लोबल वर्ल्ड इन्फ्रास्ट्रक्चर प्रालि., एडीएस इन्जिनियरिङ एण्ड कन्स्ट्रक्सन प्रालि., पद्मश्री प्रालि., सुभ पद्मश्री इन्टरप्राइजेज, सौगात इन्भेष्टमेन्ट प्रालि. लगायतका व्यवसायिक कम्पनीहरूको धितो सम्पत्तिको लिलामी सूचना पनि विभिन्न मितिमा सार्वजनिक गरिएको छ।

धितो लिलामीको सूचना प्रकाशित हुनु भनेको सम्बन्धित व्यक्ति वा कम्पनी अन्तिम रूपमा ऋण असुल हुन नसकेको वा व्यवसाय बन्द भएको भन्ने अर्थ भने होइन। प्रचलित कानुनअनुसार बैंकले धितो बिक्री अघि ऋणीलाई ऋण चुक्ता गर्ने, पुनर्संरचना गर्ने वा अन्य कानुनी विकल्प प्रयोग गर्ने अवसर प्रदान गर्छ। तर तोकिएको समयभित्र समाधान नभए धितो बिक्री प्रक्रिया अघि बढाइन्छ।

पछिल्ला लिलामी सूचनाहरूले नेपालको बैंकिङ क्षेत्रमा बढ्दो खराब कर्जा, बैंकहरूको असुली रणनीतिमा आएको कडाइ तथा निजी क्षेत्रमाथि बढेको वित्तीय दबाबलाई स्पष्ट रूपमा देखाएका छन्। एक समय बैंकबाट सहज रूपमा ठूलो कर्जा पाउने व्यवसायिक घरानाहरू नै अहिले धितो जोगाउन संघर्ष गरिरहेको तस्वीर सार्वजनिक सूचनाहरूले देखाउन थालेका छन्।