बैंकिङ खबर/ नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेडले विश्व बैंकिङ क्षेत्रकै प्रतिष्ठित युरोमनी उत्कृष्टता अवार्ड २०२६ अन्तर्गत एकैपटक तीन महत्वपूर्ण अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्दै नेपालको बैंकिङ क्षेत्रलाई विश्वमञ्चमा थप उचाइमा पुर्याएको छ। बैंकले ‘नेपालकै उत्कृष्ट बैंक’, ‘वातावरणीय, सामाजिक तथा सुशासन (ईएसजी) क्षेत्रमा उत्कृष्ट बैंक’ तथा ‘साना तथा मझौला उद्यम (एसएमई) का लागि उत्कृष्ट बैंक’ उपाधि जित्न सफल भएको हो। यी सम्मानले नबिल बैंकको वित्तीय सुदृढता, प्रविधिमैत्री सेवा, जिम्मेवार बैंकिङ अभ्यास, दिगो विकासप्रतिको प्रतिबद्धता तथा साना–मझौला उद्यमको विकासमा पुर्याएको योगदानलाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिएको बैंकले जनाएको छ। यससँगै नबिल बैंकले नेपालको बैंकिङ क्षेत्रमा नेतृत्वदायी संस्थाका रूपमा आफ्नो पहिचानलाई थप मजबुत बनाएको छ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले प्राप्त सम्मानलाई बैंकप्रति ग्राहक, कर्मचारी, शेयरधनी तथा साझेदारहरूले देखाएको विश्वासको प्रतिफल भएको बताए। उनका अनुसार यी अवार्डहरूले नवप्रवर्तन, दिगोपना, समावेशी आर्थिक विकास तथा जिम्मेवार बैंकिङप्रतिको बैंकको प्रतिबद्धतालाई अन्तर्राष्ट्रिय रूपमा थप स्थापित गरेका छन्। उनले आगामी दिनमा पनि उत्कृष्ट सेवा, नवीन वित्तीय समाधान र गुणस्तरीय बैंकिङ अनुभव प्रदान गर्दै देशको आर्थिक विकासमा सक्रिय योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरे। ‘नेपालकै उत्कृष्ट बैंक’ उपाधिले नबिल बैंकको समग्र वित्तीय क्षमता, ग्राहककेन्द्रित सेवा, प्रविधिमा आधारित बैंकिङ प्रणाली, डिजिटल रूपान्तरण तथा सञ्चालन उत्कृष्टतालाई मान्यता दिएको छ। पछिल्ला वर्षहरूमा बैंकले डिजिटल बैंकिङ, अनलाइन सेवा विस्तार, सुरक्षित भुक्तानी प्रणाली र ग्राहक अनुभव सुधारमा निरन्तर लगानी गर्दै आएको छ। त्यसैगरी, ‘ईएसजी क्षेत्रमा उत्कृष्ट बैंक’ उपाधिले वातावरण संरक्षण, सामाजिक उत्तरदायित्व तथा सुशासनलाई प्राथमिकतामा राख्दै बैंकले सञ्चालन गरेका कार्यक्रमहरूको अन्तर्राष्ट्रिय मूल्यांकन भएको हो। हरित लगानी, जिम्मेवार कर्जा प्रवाह, वित्तीय पहुँच विस्तार तथा दिगो विकासमा केन्द्रित रणनीतिले नबिल बैंकलाई यस क्षेत्रमा अग्रणी बनाएको उल्लेख गरिएको छ। यस्तै, ‘एसएमईका लागि उत्कृष्ट बैंक’ उपाधिले साना तथा मझौला उद्योग–व्यवसायलाई वित्तीय पहुँच विस्तार, सहुलियतपूर्ण कर्जा, परामर्श सेवा तथा उद्यमशीलता प्रवर्द्धनमार्फत दिएको सहयोगलाई सम्मान गरेको हो। नेपालको आर्थिक गतिविधि र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुर्याउने एसएमई क्षेत्रलाई सशक्त बनाउन बैंकले निरन्तर विशेष कार्यक्रम सञ्चालन गर्दै आएको छ।
विश्व बैंकिङ क्षेत्रका उत्कृष्ट संस्थाहरूलाई सम्मान गर्ने युरोमनी उत्कृष्टता अवार्डलाई अन्तर्राष्ट्रिय बैंकिङ उद्योगकै सबैभन्दा प्रतिष्ठित सम्मानमध्ये एक मानिन्छ। यस अवार्डका लागि वित्तीय अवस्था, व्यवस्थापन क्षमता, सेवा गुणस्तर, नवप्रवर्तन, बजार नेतृत्व, ग्राहक सन्तुष्टि तथा दिगोपनालगायतका विभिन्न सूचकहरूको विस्तृत मूल्यांकन गरिन्छ। त्यसैले एकैपटक तीन विधामा सम्मानित हुनु नबिल बैंकका लागि मात्र नभई समग्र नेपाली बैंकिङ क्षेत्रका लागि पनि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। चार दशकभन्दा बढी समयदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको नबिल बैंकले हाल देशभर फैलिएको २६४ शाखा, ३१५ एटीएम तथा २६ लाखभन्दा बढी ग्राहकमार्फत सेवा प्रवाह गरिरहेको छ। बैंकले ‘बैंकिङभन्दा पनि अगाडि’ भन्ने अवधारणालाई आत्मसात गर्दै वित्तीय सेवा मात्र नभई ग्राहक, समुदाय, उद्यमी र समग्र अर्थतन्त्रका लागि दीर्घकालीन मूल्य सिर्जना गर्ने लक्ष्यसहित आफ्नो सेवा विस्तार गरिरहेको जनाएको छ।


