२०८२ चैत्र २३ गते

सम्पत्ति सुद्धिकरणमा पर्नेलाई जेल नहाल्ने, जरीवाना तिराएर छाड्ने रणनीति

बैंकिङ खबर / अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निजी क्षेत्रलाई धरपकड गरेर त्रास बढाउने काममा सरकार नलाग्ने प्रष्ट पारेका छन् । सोमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको भेटघाटमा अर्थमन्त्री वाग्लेले ‘अनुसन्धान गर्दै जाँदा धेरैवटा लहरो तानिने उल्लेख गरे । तथापी सबैलाई हतकडी लगाएर अनुसन्धान गर्ने पक्षमा सरकार नरहेको उल्लेख गरे । प्रमाण भेटिएका, पक्राउ गर्नुपर्ने र पहिलेदेखि अनुसन्धान भइरहेका फाइलहरु मात्रै सरकारले अघि सारेको उनको भनाई छ । त्यसका लागि आर्थिक जरिवाना लगाएर कारबाहीको नयाँ मोडेल तयार गर्ने उनले बताए । अर्थमन्त्री वाग्लेले भने, ‘अहिले समातिएका केही निजी क्षेत्रका व्यक्तिहरू सम्पत्ति शुद्धीकरण र वित्तीय अपराधसँग जोडिएका छन्, सरकारले अहिले आएर मात्र उनीहरूमाथि अनुसन्धान सुरु गरेको होइन । वर्षौंदेखि अनुसन्धान भएका र अकाट्य प्रमाण भएका केसहरू पहिले नै बनिसकेकालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्नुपरेको हो ।’ अर्थमन्त्री वाग्लेले कसैलाई प्रतिशोध साध्ने वा व्यक्तिगत टार्गेट गर्ने उद्देश्य नभएको बताए । उनले वित्तीय अपराध गरेकालाई पनि जेल नै हालेर समस्या समाधान नहुने भन्दै जरिवानाबाट अििघ बढाउने बताए । सरकार निजी क्षेत्रलाई हतोत्साहित गर्ने पक्षमा नरहेको उनको भनाई छ ।