२०८२ चैत्र २३ गते

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जनको विवादित भाषणले बस्तुगत अध्यक्षहरु रुष्ट

 

बैंकिङ खबर / अञ्जनको विवादित भाषणले बस्तुगत अध्यक्षहरु रुष्ट, भन्छन्–यसरी महासंघ चल्दैन काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठको भाषणका कारण बस्तुगत संघका अध्यक्षहरु रुष्ट बन्न पुगेका छन् । नेपाल निर्यात व्यवसायी महासंघको वार्षिक साधारणसभा कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले शिव घिमिरे आफ्नो उम्मेदवार रहेको र उक्त समुहलाई जिताउन पोडियमबाटै मत मागेपछि विवादित बन्न पुगेका हुन् ।

महासंघको विधान अनुरुप वरिष्ठ उपाध्यक्ष श्रेष्ठ स्वतः अध्यक्ष बन्दैछन् । स्वतः अध्यक्ष हुने व्यक्तिले कुनै एक पक्षलाई समर्थन गर्दै खुलेआम भोट माग्न थालेपछि महासंघ विभाजित हुने भन्दै वस्तुगत संघका अध्यक्षहरु रुष्ट भएका हुन् । कार्यक्रममा उपस्थित बस्तुगत संघका एक अध्यक्षले भने–स्वतः अध्यक्ष हुने व्यक्ति तटस्थ बस्नुपर्छ जुन प्यानल जितेर आएपनि महासंघलाई एक ढिक्का बनाएर अघि बढ्नुपर्छ । तर वरिष्ठ उपाध्यक्ष श्रेष्ठले निर्यात महासंघको कार्यक्रममा एक पक्षलाई मत मागेर जे गरे त्यो एकदमै गलत र विवादास्पद छ । वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठकै अहम्ताका कारण अब मतदाताले शिव घिमिरे समुहलाई जिताउन न सकिने समेत ती अध्यक्षको भनाई थियो ।

महासंघको आसन्न निर्वाच्नमा बस्तुगततर्फ नरेशलाल श्रेष्ठ र शिव घिमिरेले आआफ्नो समुह बनाएर चुनावी मैदानमा उत्रिएका छन् । दुई उम्मेदवारमध्ये नरेशलाल समुह बलियो देखिएसँगै अञ्जन श्रेष्ठ शिव घिमिरेको पक्षमा एग्रेसिभ देखिएका छन् । तर स्वतः अध्यक्ष हुने व्यक्ति कुनै एक पक्षमा एग्रेशिभ देखिँदा मतदाताहरु भने त्यसको विरोधमा उत्रिएका हुन् । साथै अञ्जन श्रेष्ठको विवादास्पद भाषण र कुनै एक पक्षलाई मात्र मत मागेर हिड्दा त्यसले भोलिका दिनमा महासंघनै विभाजनमा जाने र त्यसरी संस्था नचल्ने सम्बद्ध बस्तुगत संघका अध्यक्षहरु बताउँछन् ।

नरेशलाल समुह बलियो देखिएसँगै वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले शिव घिमिरेलाई जिताउन मतदाताहरुलाई मनोनित देखि विभिन्न समितिका सभापति दिने जाल फाल्न थालेका छन् । महासंघका अध्यक्ष तथा कार्यकारिणी समितिले जम्मा ७ जना मनोनित गर्न पाउने भएपनि वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले बस्तुगत र जिल्ला नगरका ५० भन्दा बढी अध्यक्षहरुलाई मनोनित गर्ने भन्दै प्रतिवद्धता दिईसकेका सम्बद्ध स्रोतले जानकारी दिएको छ । यसअघि महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पनि वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले गलत कार्य गरेको भन्दै विरोध गरेका थिए ।

साथै महासंघको तत्कालि विधान अनुरुप वरिष्ठ उपाध्यक्ष बन्न ५१ प्रतिशत मत आवश्यक रहेकोमा वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठको ३७ प्रतिशत मत मात्रै प्राप्त गरेकाले विधान त उनी अध्यक्ष हुने मा समेत कानुन बाधक हुन सक्ने भन्दै महासंघकै कार्यसमिति बैैठकमा समेत प्रश्न उठ्दै आएको छ । यदि अञ्जन श्रेष्ठले कुनै एक पक्षलाई च्यापेर महासंघलाई विवादित बनाउन खोजेमा आगामी दिनमा उनलाई नै समस्या पर्ने सम्बद्ध कानूनविद्हरु बताउँछन् ।