बैंकिङ खबर/ २०८२ साल पुस १४ गते सोमबारका दिन यस कोष र औद्योगिक व्यवसाय विकास प्रतिष्ठान तथा राष्ट्रिय वाणिज्य बैंक लि. बीच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, सिंहदरवारमा माननीय मन्त्री अनिलकुमार सिन्हाको उपस्थितिमा स्टार्टअप उद्यम कर्जा सुरक्षणको लागि छुट्टाछुट्टै समझदारी/सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भयो । समझदारी/सम्झौतापत्रमा कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र प्रतिष्ठानको तर्फबाट कार्यकारी निर्देशक उमेश कुमार गुप्ताले तथा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले हस्ताक्षर गर्नु भएको थियो ।
समझदारी/सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रममा मन्त्रालयको सचिव श्रीमान् मधु सुधन बुर्लाकोटी, श्रीमान् डा. राम प्रसाद घिमिरे र सहसचिव जितेन्द्र बस्तेत लगायतका अधिकृतहरुको उपस्थिति थियो भने कोष, प्रतिष्ठान र बैंकको अधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।
यस सम्झौतापत्रमा हस्ताक्षर भएसँगै स्टार्टअप उद्यम कर्जा संचालन कार्यविधि, 2082 को व्यवस्था बमोजिम बैंकले नविन प्रविधि एवं सृजनशील सोचको प्रयोग गरेको स्टार्टअप उद्यममा नेपाल सरकारको आ.व. 2082/83 को स्वीकृत बजेटको सीमाभित्र रही प्रवाह भएको कर्जाको सुरक्षण कोषको स्टार्टअप उद्यम कर्जा सुरक्षण कार्यक्रम योजना बमोजिम हुनेछ । प्रतिष्ठानले स्वीकृत बजेटको सीमाभित्र रही निक्षेप तथा कर्जा सुरक्षण कोषमा खडा गरेको छुट्टै स्टार्टअप उद्यम कर्जा सुरक्षण कोषबाट बैंकले प्रवाह गरेको स्टार्टअप उद्यम कर्जाको सुरक्षण हुने कार्यविधिको व्यवस्था बमोजिम समझदारी/सम्झौता सम्पन्न भएको हो ।
कार्यविधिको व्यवस्था बमोजिम बैंकले चालू आ.व.मा स्टार्टअप उद्यमको लागि प्रति उद्यमी न्यूनतम रु. 5 लाख देखि अधिकतम रु. 20 लाख सम्मको रकम प्रवाह गर्नेछ । यस प्रकारको कर्जा कृषि, वन तथा उत्पादनमूलक, सूचना प्रविधि तथा डिजिटल क्षेत्र, पूर्वाधार तथा यातायात क्षेत्र, समाजिक सेवा र पर्यटन क्षेत्र, परम्परागत तथा स्थानीय स्रोत सहितको पाँच वटा क्षेत्र अन्तरगत विभिन्न 19 उप-क्षेत्रहरुमा प्रवाहित हुनेछ । अधिकतम 5 वर्ष अवधिको स्टार्टअप उद्यम कर्जाको व्याजदर वार्षिक 3 प्रतिशत हुने व्यवस्था कार्यविधिमा उल्लेख रहेको छ ।