बैंकिङ खबर / नेपालमा जारी एनपीएल क्रिकेट खेलको प्रसारण अनुमति आफूमा मात्रै रहेको भन्दै डिसहोम मिडिया नेटवर्कले सम्पूर्ण निकायलाई खबरदारी गरेको छ। एक विज्ञप्ति जारी गरी डिसहोमले आफूमा मात्रै प्रसारण अधिकार भएको एनपीएल क्रिकेट खेलको विभिन्न माध्यमबाट कपी भइरहेको जनाउँदै यसमा आपत्ति प्रकट गरेको छ । डिसहोम डिडियाद्धारा जारी विज्ञप्तिको पूर्ण पाठ जस्ताको तस्तै यहाँ प्रस्तुत गरिएको छ ।
१. नेपाल प्रिमियर लिगको भारत बाहेक अन्य देशहरुमा ओ.टि.टि. प्रसारण सम्बन्धी सम्पूर्ण अधिकार डिश मिडिया नेटवर्क लिमिटेडसंग रहेको छ । डिशहोमको DishHome GO नामक एप डाउनलोड गरि नेपाल प्रिमियर लिगका सम्पूर्ण खेलहरु सोहि एप मार्फत हेर्न सकिने जानकारी गराउन चाहन्छौ ।
२. नेपाल प्रिमियर लिगको डिजिटल अधिकार OTT सेवा प्रदायक संस्था डिश मिडिया नेटवर्क लिमिटेडलाई अधिकार रहेको हुँदा नेपाल प्रिमियर लिग अन्तर्गतका सम्पूर्ण खेलहरुको डिजिटल प्रसारण अधिकार डिशहोमलाई प्रदान गरिएको छ। डिशहोमको ओ.टि.टि. प्लेटफर्म (DishHome GO) बाहेकका अन्य डिजिटल प्लेटफर्म तथा सामाजिक संजाल (YouTube, Facebook, Tiktok, Instagram, Twitter, Telegram वा अन्य वेवसाइट र एप) बाट प्रसारण गर्नु अनुचित तथा अनधिकृत भएको हुँदा उक्त कार्य गर्न/गराउन मनाही छ । अधिकार प्राप्त डिशहोम बाहेक नेपाल प्रिमियर लिग अन्तर्गतका सम्पूर्ण खेलसंग सम्बन्धित सामग्रीहरुको अनधिकृत बिक्रि वितरण, पुनस्प्रसारण, रेकर्डिङ, सम्पादन तथा अन्य कुनै पनि किसिमले प्रयोग गर्नेरगराउने कार्य गैरकानूनी रहेको हुँदा दण्डनीय छ।
३. अत : सम्पूर्ण दर्शक, विज्ञापनदाता तथा मिडिया साझेदार तथा सरोकारवालाहरुलाई तोकिएका आधिकारिक प्लेटफर्म (DishHome GO) लगायत अन्य च्यानलहरुबाट मात्र नेपाल प्रिमियर लिग अन्तर्गतका क्रिकेट खेलहरु हेर्नको लागि अनुरोध गर्दछौ। अनधिकृत लिंक, साइट तथा माध्यमहरुबाट क्रिकेट खेल हेर्न खोज्दा आफ्नो व्यक्तिगत तथा वित्तीय विवरण सार्वजनिक भई साईबर अपराधमा पर्न सक्ने हुँदा त्यस्ता अनधिकृत कार्य गर्न तथा सो को प्रचार-प्रसार नगर्न/नगराउनु हुन सम्पूर्ण व्यक्ति/संस्था तथा सरोकारवालाहरुलाई विनम्र अनुरोध गर्दछौ। साथै नेपाल प्रिमियर लिगका कुनै पनि खेलहरु अनधिकृत रुपमा प्रसारण भएको सूचना प्राप्त भएमा CAN वा डिशहोमलाई यथाशीघ्र जानकारी गराउनुहुन हामी नेपाल क्रिकेट संघ CAN तथा डिश मिडिया नेटवर्क लिमिटेडको तर्फबाट संयुक्त निवेदन गर्दछौ। साथै त्यस्ता अनधिकृत कार्यहरु गैरकानूनी भएकोले प्रचलित कानून बमोजिम कारबाही हुने अवगत गराउँदछौ ।
