२०८२ कार्तिक १० गते

माछापुच्छ्रे बैंकमा सन नेपाल लाइफको प्रवेश

बैंकिङ खबर/ माछापुच्छ्रे बैंकका संस्थापक सेयरधनीबाट गैरआवासीय नेपाली संघ (एनआरएन)का संस्थापक अध्यक्ष उपेन्द्र महतो र लक्ष्मी ग्रुप बाहिरिएका छन् । उनीहरू बाहिरिएसँगै बैंकमा सन नेपाल लाइफ इन्स्योरेन्सको प्रवेश भएको छ । लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर श्रेष्ठको नाममा रहेको ०.९१ प्रतिशत सेयर बिक्री भएको छ । उक्त सेयरमध्ये ०.८६ प्रतिशत सेयर खरिद गर्दै बैंकमा सन नेपाल लाइफ इन्स्योरेन्सको प्रवेश भएको हो ।

नियम अनुसार सञ्चालक समितिका सदस्य र सञ्चालकबाट बाहिरिएको एक वर्षसम्म आफ्नो वा परिवारका सदस्यको नाममा रहेको सेयर बिक्री गर्न नपाइने प्रावधान रहेको छ । पछिल्लो समय महतो परिवारमा आर्थिक संकट उत्पन्न भएको कारण उपेन्द्र महतोले आफ्नो भाइ सुरेन्द्र महतोको नाममा रहेको सेयर आर्थिक वर्ष २०८०/८१ मा बिक्री गरेका थिए ।

पछि उपेन्द्र महतो सञ्चालक पदबाट बाहिरिएको एक वर्षपछि आफ्नो नाममा रहेको सेयर समेत भाइहरू वीरेन्द्र महतो र सुरेन्द्र महतोलाई बिक्री गरी बैंकबाट कागजी रूपमा पनि पूर्ण रूपमा बाहिरिएका हुन्। आर्थिक वर्ष २०८०/८१ मा बैंकमा उपेन्द्र महतोको ९.१४ प्रतिशत सेयर हिस्सा थियो। तर, गत आर्थिक वर्ष २०८१/८२ को अन्त्यमा उनको हिस्सा शून्यमा झरेको छ ।

त्यस्तै, भाइ सुरेन्द्र महतोको हिस्सा १.७१ प्रतिशतबाट ७.७४ प्रतिशत पुगेको छ भने भाइ वीरेन्द्रको नाममा रहेको सेयर पनि ०.६१ प्रतिशतबाट बढेर १.५८ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०८०/८१ मा सुरेन्द्र महतोको नाममा रहेको सेयर कर्मचारी सञ्चय कोषले खरिद गरी बैंकमा प्रवेश गरेको थियो। कोषले सो समयमा एकैपटक ९.२४ प्रतिशत सेयर खरिद गरेको थियो ।

उता, लक्ष्मी ग्रुप बैंकबाट बाहिरिँदा सन नेपाल लाइफ इन्स्योरेन्सको प्रवेश भएको छ । लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर श्रेष्ठको नाममा रहेको ०.९१ प्रतिशत सेयर बिक्री भएको र सो मध्ये ०.८६ प्रतिशत सेयर सन नेपाल लाइफ इन्स्योरेन्सले खरिद गरेको पुष्टि भएको छ । त्यस्तै, एनएमबि सरल बचत फण्ड ईसँग रहेको ०.५४ प्रतिशत सेयर पनि बिक्री भएको छ । यसैगरी, लक्ष्मी ग्रुपकै आजद श्रेष्ठको नाममा रहेको ०.५७ प्रतिशत सेयर पनि बिक्री गरिएको छ ।