
बैंकिङ खबर/ राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भएको आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडले आफ्नो दशौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
सभामा कम्पनीकी अध्यक्ष सरस्वती अधिकारीले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । छलफलपछि सभाले आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट चुक्ता पुँजीको २० प्रतिशत अर्थात् चार करोड रुपैयाँ (कर सहित) नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
सभाले बाह्य लेखापरीक्षक एच.के.एस.डी. एसोसिएट्सका सि.ए. हरि कुमार सिलवालको राजीनामा स्वीकृत गर्दै आर्थिक वर्ष २०८२/८३ का लागि सिन्हा एण्ड कम्पनीका सि.ए. सञ्जय कुमार सिन्हा कायस्थलाई नयाँ लेखापरीक्षकमा नियुक्त गरेको छ ।
साथै, कम्पनीका सञ्चालक तथा स्वतन्त्र सञ्चालकहरूको नियुक्ति पनि अनुमोदन गरिएको छ । सभामा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका उपकार्यकारी अधिकृत विनय रमण पौडेलले १०० प्रतिशत शेयर प्रतिनिधित्वसहित सहभागिता जनाएका थिए ।
प्रमुख अतिथिका रूपमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र विशेष अतिथिका रूपमा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईं उपस्थित थिए ।
कार्यक्रममा महालेखा परीक्षकको कार्यालय, कम्पनी रजिष्ट्रारको कार्यालयका प्रतिनिधि, बाह्य लेखा परीक्षकहरू तथा आरविवि म्युचुअल फण्ड १ र २ का लेखा परीक्षकहरूको पनि उपस्थिति रहेको थियो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलका अनुसार आर्थिक वर्ष २०८१/८२ मा आरविवि म्युचुअल फण्ड १ ले २० प्रतिशत, म्युचुअल फण्ड २ ले १३ प्रतिशत र आरविवि मर्चेन्ट बैंकिङले २० प्रतिशत गरी जम्मा करिब ४० करोड रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्न सफल भएको छ ।
