२०८२ आश्विन २३ गते

राष्ट्रिय वाणिज्य बैंकको आग्रह : बैंकको नाम दुरुपयोग गरी हुने ठगीबाट सचेत रहनुहोस्

बैंकिङ खबर/ पछिल्ला दिनहरूमा केही अनाधिकृत व्यक्तिहरूले राष्ट्रिय वाणिज्य बैंकको नाम दुरुपयोग गर्दै ग्राहकहरूलाई आर्थिक प्रलोभनमा पार्ने प्रयास गरिरहेको भन्दै बैंकले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ।

बैंकले एक विज्ञप्ति जारी गर्दै केही व्यक्तिहरूले फोन, इमेल र सामाजिक सञ्जालमार्फत ग्राहकको व्यक्तिगत विवरण, एटिएम पिन, ओटीपी, इमेल पासवर्ड लगायत गोप्य जानकारी माग्ने र झूटा अफर वा योजनाको नाममा ठगी गर्न खोजेको पाइएको जनाएको छ।

राष्ट्रिय वाणिज्य बैंकले स्पष्ट रूपमा भनेको छ, ‘बैंकका कुनै पनि कर्मचारी वा अधिकृत प्रतिनिधिद्वारा कहिल्यै पनि कुनै प्रयोजनका लागि फोन, इमेल वा सामाजिक सञ्जालमार्फत ग्राहकसँग गोप्य विवरण मागिँदैन।’

बैंकले ग्राहकहरूलाई यस्ता शंकास्पद फोन, इमेल वा सन्देशमा विश्वास नगर्न आग्रह गर्दै कुनै पनि असामान्य गतिविधि देखिएमा नजिकको शाखा कार्यालय वा बैंकका आधिकारिक सम्पर्क नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ।

साथै बैंकले आफ्नो आधिकारिक सूचना, अफर तथा योजनाहरू केवल आफ्नै वेबसाइट www.rbb.com.np मार्फत मात्र प्रकाशित गर्ने जनाएको छ।

राष्ट्रिय वाणिज्य बैंकले आफ्नो विज्ञप्तिमा थप भनेको छ, ‘हामी हाम्रा ग्राहकहरूको सुरक्षित बैंकिङ कारोबारका लागि प्रतिबद्ध छौँ र यस्ता ठगीजन्य क्रियाकलाप विरुद्ध सचेत एवं सजग रहन सबैलाई आह्वान गर्दछौँ।’

बैंकले हालै यस्ता साइबर ठगीका घटना बढ्दै गएको भन्दै सर्वसाधारणलाई अनलाइन सुरक्षाको महत्व बुझ्न र कुनै पनि संवेदनशील जानकारी तेस्रो पक्षसँग नबाँड्न चेतावनी दिएको हो।