Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

वाणिज्य बैंक बन्ने र मर्जरको विशेष प्रस्तावसहित मुक्तिनाथले बोलायो साधारणसभा

admin २०८२ आश्विन १२ गते
सेयर:

बैंकिङ खबर/ मुक्तिनाथ विकास बैंकले आफ्नो १९ औं वार्षिक साधारणसभा आह्वान गर्दै वाणिज्य बैंकमा स्तरोन्नतीका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने प्रस्ताव प्रस्तुत गरेको छ। बैंकले साधारणसभा कात्तिक १५ गते पोखरामा बस्ने जानकारी दिएको छ।

बैंकले साधारणसभामा हाल कायम चुक्ता पुँजीको १३.५३ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनका लागि ४.६७ प्रतिशत नगद लाभांश वितरण गरी कुल १८.२० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव प्रस्तुत गर्ने छ। साथै, सञ्चालक समितिले वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, नाफा-नोक्सान विवरण, नगद प्रवाह तथा सहायक कम्पनी मुक्तिनाथ क्यापिटलको वित्तीय विवरण छलफल गरी पारित गर्नेछ।

साधारणसभामा प्रस्तुत विशेष प्रस्ताव अनुसार बैंकको चुक्ता पुँजी ७ अर्ब ४ करोड ६९ लाख ३८ हजार रुपैयाँबाट १३.५३ प्रतिशत बोनस सेयर वितरणपछि ८ अर्ब ३ लाख ८९ हजार रुपैयाँ पुग्नेछ। यससँगै गत वर्ष पारित अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी भएपछि बैंकको जारी तथा चुक्ता पुँजी ९ अर्ब ३ लाख ८९ हजार पुग्ने प्रस्ताव पनि पारित गरिनेछ।

त्यसैगरी, साधारणसभामा बैंकले अन्य उपयुक्त बैंक वा वित्तीय संस्थासँग एकीकृत/मर्जर प्रक्रियाका लागि आवश्यक सबै कदम उठाउने, सम्पत्ति र दायित्वको मूल्यांकन गर्ने, परामर्शदाता तथा लेखापरीक्षक नियुक्त गर्ने र मर्जरसँग सम्बन्धित अन्य कार्य सम्पादन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि लैजानेछ। साधारणसभाको लागि असोज ३१ गते एक दिनका लागि बुक क्लोजको मिति तोकिएको छ। असोज २० गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन र लाभांशको लागि योग्य हुनेछन्।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।