
बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले नवगठित सरकारसँग हातेमालो गर्दै राष्ट्र निर्माण गर्न बैंक तथा वित्तीय संस्था तयार रहेको जनाएको छ । सिबिफिनले आईतबार एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो । सिबिफिनले आज विज्ञप्ति प्रकाशित गरी गलत मनसायसहित बैंक तथा वित्तीय संस्थामा क्षति पुर्याउने तत्वहरुसँग सजग हुनु पर्ने उल्लेख गरेको छ ।
‘अत्यासलाग्दो मानवीय एवं भौतिक क्षतिका बाबजुद सुशासनयुक्त नवनेपाल निर्माणको नयाँ चरणमा प्रवेशका लागि स्पष्ट सन्देश दिएको र प्रस्थान विन्दु बनेको यस आन्दोलनको जगमा उभिएर युवा पुस्ताको आवाज र आकांक्षाहरुलाई प्रतिनिधित्व गरेर नवगठित सरकारसँग हातेमालो गर्दै शान्त, सुशासित एवं समुन्नत राष्ट्र निर्माणको अभियानमा एकाकार भई अगाडी बढ्न बैंक तथा वित्तीय क्षेत्र र यस क्षेत्रको छाता संस्था सिबिफिन सदैव तत्पर रहने प्रतिबद्धता व्यक्त गर्दछौँ ’, विज्ञप्तीमा भनिएको छ ।
साथै जेनजी आन्दोलनको क्रममा भएको मानवीय र देशैभरी सार्वजनिक, सरकारी एवं निजी सम्पत्तिमा भएको अपुरणीय क्षतिप्रति सिबिफिनले गहिरो दुःख प्रकट गरेको छ । विगतको महाभूकम्प एवं कोरोनाकालको जर्जर अवस्थाबाट तंग्रिदै र अर्थतन्त्रले गति लिँदै गर्दाको समयमा नयाँ नेपालको सपना बोकेका युवाहरुको पवित्र उद्देश्यसहित आह्वान भएको आन्दोलनको क्रममा भएको मानवीय र निहीत स्वार्थप्रेरित आक्रमणबाट देशैभरी सार्वजनिक, सरकारी एवं निजी सम्पत्तिमा भएको अपुरणीय क्षतिप्रति सिबिफिन स्तब्ध छ र गहिरो दुःख प्रकट व्यख्त गरेको छ ।
