२०८२ भाद्र २० गते

बैंकिङ कसूर मुद्दा: फरार ३ जना प्रतिवादी पक्राउ

बैंकिङ खबर/ बैंकिङ कसूर मुद्दाका ३ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-७ गौरीघाट बस्ने ६१ वर्षीया विमला अधिकारी, काठमाडौं महानगरपालिका-१४ कुलेश्वर बस्ने पर्सा वीरगंज महानगरपालिका-१५ घर भएका ६० वर्षीय महमद जौवाद अंसारी र काठमाडौं महानगरपालिका-८ बानियाँटार बस्ने नुवाकोट पञ्चकन्या गाउँपालिका-३ घर भएका ४४ वर्षीय माधव पण्डित रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला अदालत काठमाडौंबाट २०८२ भदौ १३ गते उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेकी विमलालाई काठमाडौं गौरीघाटबाट बिहीबार पक्राउ गरेको हो। साथै सोही मुद्दामा फरार रहेका महमदलाई काठमाडौं कुलेश्वरबाट आइतबार र माधवलाई काठमाडौं बालाजु चोकबाट बुधबार प्रहरीले पक्राउ गरेको हो।

पक्राउ मध्ये विमलालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त सिंहदरबार र माधवलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने महमदलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ।